arrow

जहाँ अहिंसाका प्रतिक ‘बुद्ध’कै आमालाई पनि बली चढाइन्छ

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ फागुन २० मंगलबार
buddha-mother-kavre.jpg

धुलिखेल। ‘बुद्धकी आमा’ लाई बली चढाउन्छन् भन्दा अचम्म लाग्ला। तर, काभ्रेपलाञ्चोक कै पूरानो नगरपालिका धुलिखेलको–१२ नम्बर वडा शङ्खुमा त्यस्तो अचम्मकै शक्तिपीठ छ, जहाँ ‘बुद्धकी आमा’लाई बली चढाइन्छ।

यो शक्तिपीठ कति पूरानो हो भन्ने खास प्रमाण भेटिएको छैन। कतिपयले पाँच सय वर्ष पहिलेको भन्छन् केहीले सयौँ वर्ष भनेर कुरो टुंग्याउँछन्। तस्वीरमा भएको त्यही शक्तिपीठ हो, जहाँ पशु–पंक्षीको बली चढ्छ। यो शक्तिपीठको नाम हो–शङ्खेश्वरी महालक्ष्मी। अझ विशेषगरी यो शक्तिपीठ नमो बुद्धकी आमाको नामबाट बढी चिनिँदो रहेछ। स्थानीयले पनि शङ्खेश्वरी भन्दा ‘बुद्ध’ नमोबुद्धकी आमाको मन्दिर भनेर बढी चिन्दछन्। यसबारे सोध्दा मान्छेहरुले आ–आफुले सुनेको कथा बताउँछन्।

धुलिखेल नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले यो सयौँ वर्ष पूरानो शक्तिपीठ हो, भने। उनका अनुसार यसको शीलालेख अध्ययन हुन बाँकी नै छ। उनले पाञ्चाली राजाको पछिपछि भोकले सताईएकी बघिनी लागेको र पछि उनले आफ्नो तीघ्राको मासु काटेर खान दिएको किंवदन्ती यो शक्तिपीठसँग जोडिएको छ, भनेका छन्। यस्तै, नमोबुद्ध कै नामबाट आफ्नो नामाकरण गरेको स्थानीय तह नमोबुद्ध नगरपालिकाले आफ्नो संक्षिप्त परिचयको सुरुवाती खण्डमा यस्तो कथन उल्लेख गरेको छ।

‘आज भन्दा करिब ६ हजार वर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे । उनका ३ भाई छोराहरु क्रमसः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेन्पो थिए। जेठा र माईला राजकाज एवं युद्धकलामा निपूर्ण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका रहेका बताइन्छ।

उनै कान्छा छोरा सेमचेन छेन्पोले आफ्ना पाँच ओटा डमरु सहित बघिनी भोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास छ। पछि तिनै राजकुमार  नमोवुद्ध अर्थात् गौतम बुद्ध बनेको र पाँचवटा बघिनीका बच्चाहरु शिष्य भएको किंवदन्ति छ। अहिले ति राजकुमार कै नामबाट यो नगरपालिकाको प्रमुख धार्मिक स्थलको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ।’ यहाँनेर तिनै नमोबुद्धकी आमाको मन्दिरबारे चर्चा गरिएको हो। मन्दिर छेउमा सुनमति नदी बग्छ। यो ठाउँमा नमोबुद्धका आमा र बुबाको विछोड भएको भनिन्छ। 

मन्दिरमै भेटिएका स्थानीय उत्तरकुमारले भने, ‘आमाले म भोग खाएर बस्छु भनेर भगवतीको रुप धारण गरेर बसिन्। बुबा अलि पर गई शिवको रुप लिए।’ बलिबारे जानकारी दिँदै उनले नमोबुद्धकी आमा भगवती भएकै कारण भोग खाने गरेको सुनाए। उनका अनुसार यो कथा सत्य युगको हो। उत्तरकुमारले भने, ‘शङ्खेश्वरीबाट नमोबुद्धसम्म सुनको सिँढी थियो भनेर मैले किताबमा पढेको। तल आमाको मन्दिर पर्छ भने माथि छोरा अर्थात् नमोबुद्धको गुम्बा।’ 

उत्तर कुमारले बाजे बराजुबाट जाने सुनेका कुरा अरुलाई भन्छन्। उनी भन्छन्, ‘अहिले मेरोमा कथा सुन्न पनि मान्छे आउँछन्।’ यो मन्दिरमा अरु दिन एक–दुईटा भोग दिइए पनि। शनिवार बलि चढाउनेको भीड हुन्छ। यो शक्तीपीठमा गुठी पूजा समेत गर्ने चलन छ । नेवार समुदायको पूजारी छन्। पूजारीले संकल्प गर्छन्। पञ्चबली पनि दिनु पर्ने हुन्छ। मान्छेले आफ्नो भाकल अनुसारको बली दिन्छन्।

कात्तिक पूर्णिमामा ठूलो मेला लाग्छ, यहाँ। भजन किर्तन हुन्छ। यो ठाउँको मान्छेले बाहिर गएर विवाह गरे पनि यहीँ आएर बलि पूजा गर्नै पर्ने चलन छ। शङ्खेश्वरीको दर्शन गर्न देशबाहिरबाट पनि भक्तालु आउँछन्। दशैँको नवरात्रमा त बलिको लागि लाइन नै बस्नुपर्छ।

होली मुखैमा आउँदैछ। होलीमा समेत काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लाबाट मान्छेहरु आउँछन्। बलि चढाउँछन्, आफैँ पकाउँछन् र खान्छन्। खाईनसकेको गाउँलेलाई बाँड्छन्। अनि, होली खेलेर फर्किन्छन्। पकाउने भाँडा वर्तन यहीँ पाइन्छ, उत्तरकुमारले भने, ‘र, भाँडाको एक हजार भाडा लाग्छ ।’ मन्दिरमा छानो छैन्।

यो मन्दिरको अचम्मको विशेषता छ–वरिपरि पर्खाल छ तर माथि न छानो छ, न गजुर नै। यसमा छानो राख्नु हुदैन, पहिल्यैदेखि यस्तै थियो, छ। तर,  ढोकामाथिको काठको मूर्ति भने चोरी भयो। अहिले राखिएको मुर्ति अर्को बनाइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ