arrow

मिर्गौला पीडित बिन्दुलार्ई पाँच लाख सहयोग

logo
रासस,
प्रकाशित २०७६ फागुन २४ शनिबार
kidney-failure.jpeg

गलकोट। दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गरेका बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा स्वदेश विदेशमा सङ्कलित रु पाँच लाख पाँच हजार ८०५  रकम उपचारमा सहयोग पुर्‍याउन मिर्गौला पीडित थापाका बुबा मनबहादुरलाई शुक्रबार हस्तान्तरण गरिएको हो।

दुवै मिर्गौला काम नलाग्ने भएपछि २२ वर्षीया बिन्दुको हाल भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ। फेसबुकमा सुनौलो बागलुङ नामक संस्थामार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका ती युवाले थापाको उपचारमा आर्थिक अभाव भएपछि बिन्दु बचाउ अभियान चलाएका थिए।

फागुन १ गतेदेखि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका जैमिनीवासी र शुभेच्छुक झण्डै १०० ले सहयोग गरेको अभियन्ता पुरन श्रीसले जानकारी दिए । “पीडितलाई उपचारमा आर्थिक अभाव भएका कारण स्वतःस्फूर्तरुपमा सहयोग अभियान सञ्चालन गरेका थियौँ ।” श्रीसले भने, “सबैको सहयोगले गर्दा थापाको उपचारमा सहयोग पुग्नेछ।”

श्रीसका अनुसार हङकङमा कार्यरत जैमिनीवासी र अन्य विभिन्न क्षेत्रका प्रवासीले यसअघि नगद रु एक लाख ११ हजार सहयोग गरेका थिए। पीडित बिन्दुका बुबा मनबहादुरका अनुसार हालसम्म उपचारमा रु छदेखि सात लाख खर्च भइसकेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोगको अपिल गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ