arrow

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिँदै 

कर्मचारी भन्छन्–उपभोक्ताहरुले विरोध गर्दैमा नेपाल सरकारको वैज्ञानिक वन बनाउने नीति रोकिँदैन

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ फागुन २६ सोमबार
ban-fadani.jpg

कैलाली । वैज्ञानिक वन व्यवस्थापनको नाममा कैलालीका विभिन्न सामुदायिक बनमा रुख फडानी सुरु भएको छ । 

“खाए खा नखाए घिच” भन्ने उखानझैं सामुदायिक वनका उपभोक्ताहरुका असन्तुष्टि र असहमतिका बाबजुद् जिल्लाका बिभिन्न सामुदायिक वनमा सव डिभिजन वन र डिभिजन वन कार्यालयहरुले आफुखुशी कार्यान्वयन गर्दै रुख कटानी शुरु गरेको खुलासा भएको छ । 

जिल्लाको लम्की सव डिभिजन बनकार्यालय अन्तरगत मात्र करीब ७ वटा सामुदायिक वनमा रुख कटानी आदेश जारी भई प्रक्रिया समेत अगाडि बढेको जनाइएको छ । 

लम्कीमा रहेको महिला जागरण, मातृभुमि, मुक्तकमैया बल्चौर, चेतना, जानकी गाउँपालिकामा रहेका ऐश्वर्य, अमरावति, कर्णाली करीडोर, सामुदायिक वनमा वैज्ञानिक वन ब्यवस्थापन लागु भई रुख कटान आदेश जारी गरी रुख कटानी समेत भईरहेको छ भने कोपिला सामुदायिक वनमा समेत प्रक्रियामा रहेको जनाइएको छ । 

ती सामुदायिक वनका अधिकांश उपभोक्ताले भने वैज्ञानिक वनले वन संरक्षण नभई विनाश निम्त्याउने, ठेकेदार मोटाउने काम मात्र हुने बताउँदै विरोध गर्दै आएका छन् । 

महिला जागरण वनमा अधिकांश उपभोक्ताको विरोधका बाबजुद ठेकेदारको मिलेमतो र लगानीमा सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख सोमलाल घलान, डिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत कृष्णदत्त भट्टको ठाडो निर्देशनमा धमाधम रुख कटान भईरहेको उपभोक्ता ममता रावलले गुनासो गरेका छन् । 

वैज्ञानिक वनको नाममा रुख कटान गर्दा सहजै रुपमा उपभोक्ता समूह बाट रकम असुली गर्न सकिने भएकाले उपभोक्ताहरुको असहमति रहेपनी समूहको थोरै उपभोक्तालाई आफ्नो पक्षमा पारी जबरजस्ती रुखकटानीका लागि कर्मचारी नै लालाहित हुने गरेको उपभोक्ताको आरोप छ । 

सरकारले वैज्ञानिक वन व्यवस्थापनको नीति ल्याए पनि त्यसको उपयोग सही तरीकाले नगरिँदा ठेकेदार र वन कर्मचारी मोटाउने धन्दा मात्र हुने भन्दै चौतर्फी विरोध हुँदै आएको छ । 

उता डिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत कृष्णदत्त भट्टले भने केही उपभोक्ताहरुले विरोध गर्दैमा नेपाल सरकारको वैज्ञानिक वन बनाउने नीति नरोकिने प्रतिक्रिया दिएका छन् ।

उनले भने “सबै उपभोक्ताहरु सहमत हुनुपर्छ भन्ने छैन हामी बहुमतको कदर गछौं” ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ