arrow

कोरोना : भरतपुर अस्पतालमा १९ श्ययाको छुट्टै कक्ष

logo
रासस,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
bharatpur-aspatal-news.jpeg

चितवन । जिल्लामा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेशन वार्ड (छुट्टै कक्ष) विस्तार गरी १९ पुर्‍याइएको छ । अस्पतालमा बिहिबार कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच श्यया रहेको आइसोलेशन वार्डलाई १९ श्ययाको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो ।
 
अस्पतालमा आएका शङ्कास्पद बिरामीलाई सेवा दिन श्यया थप गरिएको बताइएको छ । अस्पतालमा रहेको कोरोना आउट ब्रेक म्यानेजमेन्ट टिमलाई विस्तार गरी १३ सदस्यीय बनाइएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार लक्षण देखिएका बिरामीलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको हो । पछिल्लो १० दिनदेखि रुघाखोकी तथा ज्वरो आएको दुई हप्ताभित्र कोरोना जोखिमयुक्त देशमा भ्रमण गरेको वा भ्रमण गरेका व्यक्तिसँग भेटघाट भएका व्यक्तिले अस्पतालको २०१ नं कोठाबाट सेवा लिनसक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
 
यस्तै अस्पतालले बिहिबार एक शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाएको छ । उपचारका लागि आएका बिरामीको लक्षणका कारण बिहिबारै केन्द्रीय प्रयोगशाला पठाइएको तिवारीले जानकारी दिए । यसअघि आएका दुई शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा त्यसको नतिजा नेगेटिभ देखिएको थियो ।

कारागार प्रवेशमा कडाइ
कारागारमा कोरोन भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै भेटघाटमा आउने आफन्तलाई कडाइ गरिएको छ । कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कारागारमा रहेका कैदीबन्दीका आफन्तलाई भेटघाट र प्रवेशमा कडाइ गरिएको हो ।
 
भेटघाटका लागि दैनिक १०० देखि २०० जनासम्म आउने गरेका छन् । उनीहरुलाई अनिवार्य माक्स लगाउनुपर्ने तथा भेटघाट र कुराकानी गर्दा केही दूरीमा रहेर गर्न आग्रह गरिएको उनले जानकारी दिए । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण सङ्क्रमण चाँडो फैलन सक्ने भएकाले कडाइ गरिएको हो ।

पच्चीस महिलाको क्षमता भएको कारागारमा ५६ र चार आश्रित बालबालिका रहेका छन् । यस्तै २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६८२ जना छन् । धेरै जना सानो स्थानमा बस्नुपर्ने बाध्यता भएका कारण सङ्क्रमण भएमा चाँडो फैलने भएकाले कडाइ गर्नुपरेको उनले जानकारी दिए । मौसममा आएको परिवर्तनसँगै अन्य रोगको सङ्क्रमणसमेत बढ्ने खतरा भएको भन्दै उनले कारागारका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै भेटघाटका लागि आउनेलाई कडाइ गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ