arrow

विकिलिक्ससँग जोडिएकी अमेरिकी पूर्व गुप्तचर चेल्सी म्यानिङ जेलमुक्त

logo
एपी,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
wikileaks.jpg

भर्जिनिया। अमेरिकी एक सङ्घीय न्यायाधीशले बिहीबार सेनाका पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा गर्ने आदेश दिएका छन्। म्यानिङ झण्डै एक वर्षदेखि जेलमा थिइन्। उनलाई ग्रान्ड जुरीसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि जेलमा राखिएको थियो। सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी जिल्ला न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिएका थिए। अलेक्जान्ड्रिया प्रहरी कार्यालयले बिहीबार राति नै म्यानिङलाई जेलमुक्त गरिएको जनाएको छ।

विकिलिक्सको समेत अनुसन्धान गरिरहेको ग्रान्ड जुरी समक्ष उपस्थित हुन अस्वीकार गरेको अभियोगमा म्यानिङमाथि २ लाख ५६ हजार अमेरिकी डलर जरिबाना गर्न न्यायाधीशले यसअघि आदेश दिएका थिए। उक्त जरिबाना प्रतिदिन एक हजार डलरका दरले हुनेगरी तोकिएको थियो। यसै मुद्दामा आगामी शुक्रबारका लागि तोकिएको सुनुवाई पनि रद्द गरिएको छ। म्यानिङले अलेक्जान्ड्रिया जेलमा आफूलाई राखिए पनि जबर्जस्ती बयान गराउन बाध्य बनाउन नसकिने दाबी गरिरहेकी दिइन्। 

म्यानिङले गत बुधबार जेलमा छँदा आत्महत्या गर्ने प्रयास गरेको उनका वकीलहरुले दाबी गरेका छन्। विकिलिक्सको अनुसन्धान गरिरहेको ग्रान्ड जुरीसमक्ष बयान दिन इन्कार गरेको भन्दै अदालतको आदेशमा म्यानिङलाई गतवर्ष मे महिनादेखि जेलमा राखिएको थियो। सन् २०१९ मा पनि अर्को एक ग्रान्ड जुरी समक्ष बयान दिन अस्वीकार गरेको अभियोगमा उनलाई दुई महिना थुनामा राखिएको थियो।

पछिल्लो ग्रान्ड जुरीको कार्यावधि अरु बढाइएको भए उनीको जेल अवधि अरु छ महिना लम्बिने सम्भावना थियो। म्यानिङले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गोप्य वर्गीकृत सूचना दिएको आरोपमा सात वर्ष सैनिक कारागारमा बिताइसकेकी छिन्। असान्जमाथि अलेक्जान्ड्रिया अदालतमा एक अभियोग विचाराधीन अवस्थामा छ र बेलायतबाट अमेरिकामा प्रत्यर्पणका लागि प्रयास जारी छ। म्यानिङमाथि सुनाइएको ३५ वर्षको जेल सजाय तत्कालीन राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको शक्तिको प्रयोग गरी कटौती गरेका थिए।

यो सम्भव छ कि अभियोजन पक्षले अर्को ग्रान्ड जुरी गठन गर्न सक्नेछन् र फेरि म्यानिङलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्न सक्नेछन्। उनले बयान दिन अस्वीकार गरेको खण्डमा पुनः जेल सजाय हुन सक्छ। तर अभियोजकहरूले तत्काल ग्रान्ड जुरी गठन हुने वा नहुने बारे केही बताएका छैनन्। अभियोजकहरूले म्यानिङको रिहाईका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ