arrow

कोरोना असरः भारतसंग सीमा जोडिएका पाँच नाकामा हेल्थ डेस्क

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ चैत ५ बुधबार
corona-health-desk.jpg

दार्चुला । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) बारे सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका दार्चुलाका पाँच वटा नाकामा हेल्थडेस्क स्थापना गरिएको छ । 

भारतसँग सीमा जोडिएका पाँच वटै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको हो ।  जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रहपछि स्थानीय तहहरुको सहयोगमा हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । सर्वप्रथम मूख्य नाकाको रुपमा रहेको महाकाली नगरपालिका खलंगास्थित पुल घाटमा गत फागुन २ गते हेल्थ डेस्क स्थापना गरी संचालनमा रहेको छ । 

भारतसँग सिमा जोडिएको महाकाली नगरपालिका वडा नम्बर ९ को दत्तु, मालिकार्जुन गाउँपालिका–७ जौलजीवि, लेकम गाउँपालिका ३ को लाली र व्याँस गाउँपालिका वडा नम्बर ५ स्थित तिगरम घाटमा हेल्थ डेस्क स्थापना गरि सञ्चालनमा ल्याइएको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिए । 

दार्चुलामा ६ ओटा बैधानीक नाका भएपनि व्याँसको सीतापुल नाकाबाट अहिले मानवको आवतजावत छैन । अबैधानिक रुपमा संचालनमा रहेका व्याँसका आधा दर्जन तुइन भएर भने सीमा वारपार हुने गरेको छ । 

अवैध तुइन सञ्चालन गरिएका मलघाट, बर्तीघाट, मालघाट, रिठान लगायतका क्षेत्रबाट अहिले पनि नेपाल भारत आवत जावत हुने गरेको छ । कोरोनाको संत्रास नेपालमा पनि बढेको हुदा भारतसंग सीमा जोडिएका अबैधानिक नाका भने बन्द गरिएका छैनन् । 

भारतले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको छ भने हेल्थ डेस्क र स्वास्थ्यकर्मी सीमा क्षेत्रमा तैनाथ राखेको छ । हेल्थडेस्क स्थापना गरिएका नाकाहरुमा इन्फारेट थर्मोेमिटरको अभाव रहेको उनले बताए । 

भारतसंग सीमा जोडिएका पाँच नाकामध्ये सदरमुकाम खलंगास्थित पुलघाट हेल्थडेस्कमा मात्र एक इन्फारेट थर्मो्मिटर रहेको उनले बताए । अन्य हेल्थडेस्कहरुमा थर्मो्मिटरको अभाव छ, डिजिटल थर्मो्मिटरबाट चेकजाँच गरिरहेको जानकारी उनले दिए । 

त्यस्तै शङ्कास्पद लक्ष्यण भएका बिरामीका लागि जिल्ला अस्पतालमा दुई बेडको आइसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दिपेश मंगल जोशीले जानकारी दिए ।
कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन समेत आग्रह गरेका छन् । 

साथै प्रशासनले  विज्ञप्ती तथा सार्वजनिक सूचना मार्फत कोरोना भाइरसको सम्भावित जोखिमको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारवाही गरिने जनाइएको छ भने भाइरसको सम्भावित सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ