arrow

कोरोना, लकडाउन र मजदुर

logo
शकुन्तला शर्मा,
प्रकाशित २०७६ चैत २७ बिहिबार
Sakuntala-Sharma.gif

आज विश्व मानव जगत नै त्रासमा छ। टेलिभिजन, एफएम, अनलाइन र सामाजिक संजालमा राखिएका समाचारहरुलाई नियाल्दा सिङ्गो मानवजाति आक्रान्त पाइन्छ । आखाले देख्न नसकिने सानो जीवाणुले धनी, गरिब, कालो, गोरो, पहाड, समथर भुभाग केहि नभनी सबैलाई खेदिरहेको छ। अति बिकसितदेखि अल्पबिकसित र बिकासोन्मुख बिश्वका सबै राष्ट्रहरु त्यो सानो भाइरससँग लडिरहेका छन्।

चीनको हुबेई प्रान्तको हुवान शहरमा डिसेम्बर ३०, २०१९ मा देखा परेको कोरोनाले आजसम्म विभिन्न देशमा गरी करिब ८० हजार भन्दा  बढी मानिसको ज्यान लिइसकेको छ। १२ लाख भन्दा बढी मानिसहरु यसबाट संक्रमित भइसकेका छन्। बिश्व स्वास्थ संगठनका अनुसार २ लाख भन्दा बढी मानिसहरु कोरोनालाई जितेर सामान्य जीवनमा फर्कि पनि सकेका छन्। इटली, स्पेन, बेलायत लगायतका शक्तिशाली यूरोपियन देशहरूमा ठुलो मानवीय क्षति भैसकेको छ भने हाल आएर अमेरिकामा ठुलो महामारीको रूपमा फैलिएको छ। मानिसबाट मानिसलाई सर्ने यो जीवाणुको संक्रमणबाट बच्नका लागि सबै राष्ट्रहरुले आफ्नो क्षमता अनुसारको तयारी गरिरहेका छन्। सुरुसुरुमा ज्वोरो आउने, टाउको दुख्ने, घाटी दुख्ने, स्वास फेर्न गार्‍हो हुने, रुघा खोकी लाग्ने जस्ता लक्षण देखाएर मानव शरीरमा प्रवेश गरेको त्यो सानो भाइरसले मान्छेको लासको थुप्रो लाग्ने गरी ज्यान लिइरहेको छ।

नेपालमा पनि पहिलो पटक जनवरी २४ मा छिमेकी राष्ट्र चीनबाट फर्किएका ३२ बर्षिय एक युवामा कोरोना भाइरस देखिएपछि देशमा सतर्कता अपनाइएको थियो। मार्च २३ मा फ्रान्सबाट फर्किएकी १९ बर्षिया किशोरी दोस्रो संक्रमित भइन भने मार्च २५ मा दुबईबाट आएका ब्यक्ती तेस्रो संक्रमितको रूपमा देखिए। खाडि मुलुकबाट फर्किएका ३४ बर्षका युवा चौथो तथा पाँचौ र छैटौं संक्रमित बेल्जियमबाट फर्किएका बाग्लुङ जिल्लाका १९ बर्षकि किशोरी र ६५ बर्षकि वृद्ध महिला रहेका छन्। अप्रिल ४ मा फेरि थप २ जना भारतबाट फर्किएका ब्यक्तिहरु समेत  संक्रमित देखिए भने नबौ संक्रमितको रूपमा बाहिरबाट फर्किएको ब्यक्तिबाट संक्रमित एक महिला छिन्। यो सँगै अब नेपाल पनि महामारीको दोस्रो चरणमा गुज्रिरहेको छ। पाँचौ र छैटौं संक्रमित धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा छन्। तमाम युवाहरुको जस्तो जोश, जागर र उत्साह भएकि १९ बर्षिया किशोरीसँगै बाँकी अन्यले पनि कोरोनालाई जितेर फर्कनेछन भन्ने विश्वास छ। आफुलाई जोखिममा राखेर उपचारमा खटिइरहेका स्वास्थकर्मीहरु प्रसंशाको पात्र बनेका छन्। बाग्लुङबासीका लागि खुशीको कुरा त दुबैजना कोरोना संक्रमितका परिवारको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। 

यो शुभेच्छा पनि एकान्तबासबाट राख्नु परेको छ। हामी अहिले लकडाउनमा छौं। मानिसबाट मानिसमा सर्ने यो महामारीलाई रोक्नका लागि चैत्र ११ गते देखि सरकारले लकडाउन गरेको छ। स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकार र अति आवश्यक काम परेका ब्यक्तीहरु बाहेक सबै आआफ्नो घरभित्र बसिरहेका छौँ। संक्रमणलाई कम गर्नका लागि लकडाउन राम्रो विकल्प पनि हो। स्वास्थकर्मी कोरोनासंगको युद्धका सिपाही भएका छन् भने पीपीई र स्वास्थ सामग्री उनीहरुको हतियार हो। त्यहि हतियारको राम्रो ब्यबस्थापन समयभित्रै गर्न नसकिएका अवस्था पनि छन्। ब्यबस्थापन गरिएका सामग्रीहरु पनि बिश्व स्वास्थ संगठनको मापदण्ड भित्र परे नपरेका थुप्रै सवालहरु उठेका छन्। सामग्।री खरिदमा भ्रष्टाचारका प्रसङगहरु पनि आएका छन्। तथापि यो समय भनेको बिपत्तिको समय हो। यस्तो बेलामा जिम्मेवारीमा रहेका र पदिय जिम्मेवारीमा तलमाथी गरेका ब्यक्तिलाई नेपाली जनताले ऐन मौकामा चिन्नेछन् र बुझ्नेछन्।

लकडाउनले मानिसको जीवन पद्धतिलाई नै बदलिदिएको छ। सधैंभरी अफिसमा ब्यस्त हुनुपर्ने केहि ब्यक्तिहरु खासगरि महिलाहरु भने दिनभरी घरमा बसेर छुटेका काम गर्न मिलाउन पाइएकोमा  खुशी पनि छन्। गाउँ घरतिर आफ्नो धेरथोर खेतबारी हुने मानिसहरु छोराछोरी लिएर खेतबारीमा पुगेका छन्। नयाँ पुस्तालाई खेतबारीको काम सिकाइरहेका छन्। खाद्यान्नका पसल भएका ब्यापारीहरुले साझ बिहान लुकिछिपी आफ्ना ग्राहकका समस्या समाधान गर्न सामान दिएका छन्। पैसा डराई डराई लिएपनि । किनभने पैसा धेरै थरी मानिसको हातमा पुगेको हुन्छ र भाइरस बोकेको छ कि भन्ने डर फैलिएको छ जुन सत्य पनि हो। दुध, फलफूल तरकारी, पानी, औषधि ब्यवसायिको अवस्था पनि त्यस्तै छ पैसा लिन डराउनुपर्ने।

लकडाउनको समयमा दिनभरी काम गरेर खाने मजदुर बर्ग भने ठूलो मारमा परेका छन्। दैनिक ज्यालादारीको रूपमा काम गर्ने मजदुरहरु काम खोज्ने सिलसिलामा आफ्ना बासस्थान छोडेर सहरका छेउछाउ पुगि श्रम गर्द्छन। अहिले स्थानीय सरकारले राहतका कार्यक्रम ल्याइरहदा पनि स्थानीय श्रमिकको तुलनामा बाहिरबाट आएर ज्याला मजदुरी गरेका श्रमिकहरु दोस्रो प्राथमिकतामा परेका छन्। राहत ब्यबस्थापन तथा बितरणको प्रक्रिया पनि प्रत्येक वडा वडामा नै फरक फरक खालको देखिएको छ। राहतको पहिलो प्राथमिकतामा आफ्नो घरबास नभएका र दिनभरी काम गरेर साँझ चुलो बाल्ने श्रमिकहरु पर्नुपर्छ। त्यसपछी वास मात्रै भएका र अरु उपाय केही नभएका ब्यक्तिहरु गरि सम्बन्धित  निकायले स्तरिकरण गर्नुपर्ने हो तर बिडम्बना जुन बर्गलाई राहत चाहिने हो, त्यहि श्रमिक बर्ग असंगठित श्रम बजारमा काम गर्दछन। उनिहरुको कुनै तथ्यांक राज्यसंग पनि छैन। उनिहरु आफै संगठित पनि छैनन्। तसर्थ अहिले राहत वितरणमा पहिचानकै समस्या देखिएको छ।

अन्तर्राष्ट्रिय श्रम बजारमा पनि नेपाल आमाका थुप्रै सन्ततिहरु आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा काम गरिरहेका छन्। कोरोनाले बिश्व नै आक्रन्त पारेको छ। यूरोप, अमेरिका, खाडी मुलुकका साथै बिश्वभरी छरिएर रहेका नेपालीहरु पनि अहिले जोखिममा रहेका छन। उच्च शिक्षा हासिलको सिलसिलामा होस् वा  कामको सिलसिलामा होस् बिदेशी भुमिमा रहेका आफ्ना छोराछोरीप्रति सबै बाबुआमा चिन्तित छन्। झस्किरहेका छन्। खाना खादा, उठदा, सुत्दा, घर खेतबारी, बस्तुभाउको काम गर्दा हरेक पलपलमा आफ्ना सन्तानका लागि भगवानसँग याचना गरिरहेका छ्न।

यस्तो बिषम परिस्थितिको सामना गर्न सम्पुर्ण मानवजाति नै एक हुनु परेको छ। भनिन्छ, जहाँ सहयोग, समन्वय, सहकार्य र सद्भाव हुन्छ, त्यहाँ बढी नै शक्ति हुन्छ। कोरोनासँग लड्न पनि यस्तै शक्ति चाहिएको छ। यस्तो खालको शक्तिको संचय गर्ने पहिलो जिम्मेवारी राज्यको रहन्छ। किनभने राज्य भनेको सबै नागरिकको अभिभावक हो। राज्यले नीति बनाउछ, त्यहि नितीको पालना नागरिकहरुले गर्दछन। राज्यले बनाएको नीति समय सापेक्ष हुनुपर्यो, नागरिकको हितमा हुनुपर्यो, सबैको लागी बराबर हुनुपर्यो। राज्यले कोहि काखा कोहि पाखा गर्नुभएन। राज्यले लकडाउन घोषणा गर्‍यो। सबै नागरिकले पालना गरेकाछन्। लकडाउनको पालना गरिरहदा दिनभरि काम गरेर हातमुख जोड्ने मजदुर भोकै मर्नु भएन। यो राज्यको दायित्व हो। त्यस्तै गरी सिमानामा अलपत्र परेका मजदुरहरुलाई खान बस्नको ब्यबस्था गरी एकान्तबासमा राख्ने र परिक्षण गर्ने जिम्मेवारी पनि राज्यको हो।

हाम्रो छिमेकी राष्ट्र भारतमा रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरुको यस बर्षको पारिश्रमिकबाट ३० प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउने निणय भइसकेको छ। त्यस्तै गरी त्यहाँका लोकसभा र राज्य सभाका सांसदहरुको २ बर्षको संसद बिकास कोष पनि कोरोना नियन्त्रणकै लागि खर्च गर्ने निर्णय भइसकेको छ। आशा गरौं हाम्रो देशमा पनि रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरु सहित वेतन भोगिहरु सबैको पारिश्रमिकको केही प्रतिशत रकम, झिना-मसिना बिकास खर्चको बजेट, झारपात उखेल्ने तथा बाँदर धपाउने जस्ता कार्यक्रमको बजेट, देश बिदेशबाट सहयोग गरेका रकम पारदर्शी ढंगले कोरोना नियन्त्रण तथा रोकथामका लागी खर्च गरिनेछन्।  कसैले प्रश्न उठाउन नपर्ने गरी बिश्व स्वास्थ संगठनको मापदण्ड अनुसारका स्वास्थ सामग्री र एकान्तबासका बेडहरु ब्यबस्था हुनेछन्। समय आजभन्दा भोलि र भोलि भन्दा पर्सि अझ जटिल बन्दै जान पनि सक्नेछ। कोरोनासंग भिड्नका लागि हामी नागरिकले पनि आफ्नो आनिबानी, सरसफाइ, खानपानलाई बदलौ। आत्मबल बढाउ। रोग भन्दा ठुलो चिन्ता नपालौ। कोरोना भगाउ। अस्तु।
(शर्मा नेपाल ट्रेड युनियन काङ्ग्रेस रार्ष्ट्रिय महिला समितिकी उपाध्यक्ष हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ