arrow

कोरोनाले राष्ट्रिय फोटोपत्रकारिता दिवस प्रभावित 

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
94674033_170666317490138_20.jpg

पोखरा । राष्ट्रिय फोटो पत्रकारिता दिवस–२०७७ यसपालि कोरोना भाइरसको जोखिमबीच  परेको छ । दिवसका अवसरमा शनिबार देशभर विगतमा जस्तो विविध कार्यक्रम हुन नसके पनि फोटोपत्रकारले आ–आफ्नो ढंगले दिवस मनाएका छन् । 

यसैक्रममा नेपाल फोटोपत्रकार संघ कास्कीले दिवस अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै यस्तो परिस्थितिमा पनि सर्वसाधारणलाई सुसूचित पार्ने आफ्नो जिम्मेवारीबाट विचलित नभई ज्यानको पर्वाह नगरी अहोरात्र खटिरहेका फोटोपत्रकारहरुप्रति आभार ब्यक्त गरेको छ । 

संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि तस्विर खिच्न कार्यक्षेत्रमै जानुपर्ने बाध्यता रहेको र यसबीचमा फोटोपत्रकारको कार्यको उच्च प्रशंसा गर्दै स्वास्थ्यप्रति संवेदनशील बन्न सुझाव दिएका छन् ।

लकडाउन एक महिना कटिसकेको अवस्थामा राज्य तथा संचारगृहबाट फोटोपत्रकारको लागि आवश्यक सुरक्षा सामग्री समेत समयमै उपलब्ध गराउन नसकेकोप्रति ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक प्रबन्ध मिलाइदिन संघ कास्की सम्बन्धित निकायलाई आह्वान गरेको छ । 

यसैबीच, नेपालफोटोपत्रकार महासंघ गण्डकीका तर्फबाट अध्यक्ष राम गुरुङले पनि दिवस अवसरमा विज्ञप्ति जारी गरी सम्पूर्णमा शुभकामना दिँदै यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यप्रति ख्याल गरी कार्यक्षेत्रमा खटिन आग्रह गरेका छन् ।

नेपाल फोटोपत्रकार संघ कास्कीले राष्ट्रिय फोटोपत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशका विभिन्न पर्यटकीयस्थलको फोटो प्रदर्शनी गर्ने तयारी गरेकोमा लकडाउनका कारण स्थगित गरेको जनाएको छ ।

प्रदर्शनीमा प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक तथा कला संस्कृति झल्किने खालका ७० वटा फोटो प्रदर्शनी गर्ने तयारी थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ