ओली खुला भ्रष्टाचारको बचाउ गर्ने पहिलो प्रधानमन्त्री 

(लकडाउन डायरी –पृष्ठ १०)

केदार सुवेदी, प्रकाशित मिति : २०७७ बैशाख १५ सोमबार

‘प्रत्येक निर्णयमा भ्रष्टाचारको गन्ध थपिने गरेको र त्यसको प्रतिरक्षामा आफैं उत्रिनाले उन (प्रधानमन्त्री केपी शर्मा ओली) को व्यक्तिगत छविसमेत धमिलिन पुगेको छ । कोरोना महामारीमा समेत सरकारको भूमिकामा औंलो उठाउने ठाउँ मिलेको छ । भ्रष्टाचारका सबै मुद्दा स्वतन्त्र रूपमा जाँच गराउनुको साटो टाल्ने काम भएकाले भ्रष्टाचारबिना सरकार नचल्ने हो कि भन्ने तर्कलाई अस्वाभाविक मान्नुपर्दैन । आजको राजनीतिक वातावरणमा भ्रष्टाचारमुक्त शासन प्रणाली भ्रष्टाचाररूपी बीउमा अमृत फलाउन खोज्नुजस्तै हो (प्रा.डा.लोकराज बराल, कान्तिपुर, बैशाख ११)  ।’  

प्रधानमन्त्री केपी शर्मा ओलीको आफनै प्रत्यक्ष संलग्नतामा यो हप्ताको सुरुदेखि आजका मितिसम्म जेजेभयो त्यो सबैभन्दा पछिल्ला दिनको भ्रष्टाचारको खुला प्रदर्शनी थियो । राजनीतिक शास्त्रका प्राध्यापक तथा शासनको राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बरालका माथि उल्लेख भएका शब्दले पनि त्यसै भन्यो । यो ठाउँमा उल्लेख भएका उनको भ्रष्टाचार सम्बन्धी यो विश्लेषणको पछिल्लो कडी त्यही अध्यादेश हो जो फुत्त आयो, केही तमासा देखायो र यो शासनको डरलाग्दो नै हुनेगरी विकृत अनुहार देखाएर फेरी विलायो । घटना राजनीतिक जस्तो लागेपनि यसको मनसाय शासनमा अनियमितता नै थियो जसलाई भ्रष्टाचार भनिँदा झन प्रष्ट होला ।  

यसले यो हप्ताको मात्रै चित्र देखाउँदैन । वितेको दुईवर्ष र दुईमहिनाको ओली शासनको परिचय आम तहमा कसरी स्थापित भएछ भन्ने पनि बुझाउछ जो ‘भ्रष्टाचारबिना सरकार चल्दै नचल्ने’ अवस्थामा पुगेछ । ओलीले ‘दल फुटाउन सजिलो बनाउने’ अध्यादेश ल्याएपछि देशका प्रवुद्धवर्गले जस्तो प्रतिकृया व्यक्त गरे त्यसमा यो काम शासनले गरेको भ्रष्टाचारको एउटा अंगका रुपमा जोडिन गएको पाइयो । त्यसो नहुँदो हो त प्रधानमन्त्रीले नियतवस कुनैपनि राजनीतिक दल पैसा र पदको प्रलोभनबाट फुटाउन खोजेका कुरा राजनीतिक काम हुनुपर्ने हो, भ्रष्टाचारमा नजोडिनुपर्ने हो । तर यी प्राध्यापकको यो ‘अध्यादेशको तरंग र यथार्थ’ शीर्षकको आलेखको निश्कर्षनै रह्यो – भ्रष्टाचारबिना सरकार नचल्ने अवस्थामा पुग्यो । पद र पैसा देखाएर पार्टी फुटाउन खोज्ने, त्यसका लागि प्रयोग गरिएका हतियार पनि पदकै प्रलोभनबाट प्रेरित हुने आदि देखिएपछि योकाम भ्रष्टाचारमा जोडिएको होला ।

भ्रष्टाचार गर्न हुने गरे भन्न नहुने 

ओली सरकरको यो दुइवर्ष दुईमहिनाको कार्यकालको सबैभन्दा चर्चिात विषय जसरी भ्रष्टाचार बन्यो त्यसरी नै प्रधानमन्त्री आफै उभिएर त्यसको प्रतिरक्षा गर्ने काम पनि सरकारको एउटा परिचय जस्तै बन्यो । यसले देशमा यो शासनले के स्थापित गर्न खोज्यो भने भ्रष्टाचार उसका लागि यस्तो विषय बन्न गयो जो यता नगरि नहुने र उता गर्‍यो है भन्न चाहिँ हुँदै नहुने भयो । 

भ्रष्टाचार भयो है भनिँदा प्रधानमन्त्रीनै बोल्न हुने-नहुने कुरा बोल्दै गालीगलौजमा उत्रने गरे । पछिल्ला दिन, कोरोनाविरुद्ध वन्दोवस्तीका सामान खरिद गर्दाका सन्दर्भहरु यसका साक्षीनै भए । विगतदेखिनै अवस्था यस्तै थिए । पत्रकारले त यस्ता कुराको नोट गर्नेनै भए । हुँदैजादाँ अवत प्राध्यापकहरुले समेत त्यसलाई आफनो डायरीमा टिप्न थालको रहेछन । डा.बरालको डायरीका शव्द ‘प्रत्येक निर्णयमा भ्रष्टाचारको गन्ध थपिने गरेको र त्यसको प्रतिरक्षामा आफैं उत्रिनाले’ भन्ने लेखिन गएको कुराको अर्थ त्यहीलाग्ला – ओलीको शासनमा भ्रष्टाचार र प्रधानमन्त्री आफैबाट प्रतिरक्षा संगसंगै भैरहेकोछ । भ्रष्टाचारमा यो हदसम्मको अवस्था यस अघिका आधुनिक जमानाको मानिएको शासनका कुनै प्रधानमन्त्रीले पनि देखाएका थिएनन । भ्रष्टाचार हुन्थ्योहोला तर प्रधानमन्त्रीले यो रुपमा त्यसको प्रतिरक्षा गरेका भन्ने रेकर्ड नपाइएला ।  

‘कोरोना महामारीमा समेत सरकारको भूमिकामा औंलो उठाउने ठाउँ मिलेको छ । भ्रष्टाचारका सबै मुद्दा स्वतन्त्र रूपमा जाँच गराउनुको साटो टाल्ने काम भए ।’ यो प्राध्यापकले लेखेका विवरण हो । कोरोना महामारीका विरुद्ध वन्दोवस्तीका सामान खरिदमा जस्तो भ्रष्टाचार भयो त्यसका बारे पत्रकारले त विवरण दिएनै ।  वास्तवमानै कोरोना महामारीका विरुद्धका सामान ल्याउदा भ्रष्टाचार एक प्रकारले खुला नै भएको थियो । त्यसका सवैपक्षहरु वा कागजपत्रहरु एकठाउँमा राखेर विवरण दिन तयार थिए रिपोर्टरहरु तर अव यो पत्रकारको घेराबाट आमतहमा पुगिसेकोछ भन्ने सन्देश पनि हुनसक्तछ । तर यता प्रधानमन्त्री भने आफनो शारिरिक अस्वस्थतालाई समेत दाउमा राखेर ठाडैरुपमा यसको प्रतिरक्षामा उत्रिए । 

प्रतिरक्षाले प्रोत्साहन 

प्रश्न उठछ भष्टाचारमा भएको यो निरन्तरको प्रतिरक्षाले के गर्‍यो ? पहिले यो भ्रष्टाचार मन्त्री, सचिव र महाप्रवन्धकसम्ममा मात्र सीमित थियो । जव प्रधानमन्त्री यो रुपमा प्रतिरक्षामा उत्रिए त्यसपछि यसको सम्पूर्ण भार उनीमाथि थुप्रियो र व्यक्तिले भन्दा उनको शासनले गरेका भ्रष्टाचार भन्नेमा परिणत भयो । प्रधानमन्त्री यसरी प्रतिरक्षामा आएका थिएनन् भने हदभए एउटा महानिर्देशक भ्रष्टाचारी ठहरिने थिए होलान । तर यति बेला भयो के भने कोरोनाबाट प्रधानमन्त्रीलेनै कसैलाइ जानाजान कमाउन अवसर दिइरहेका छन भन्ने आरोप लाग्यो । 

आरोपमात्रै लागेन राष्ट्रलाई थप नोक्सान के भयो भने  यस्ता वस्तु खरिदमा  भ्रष्टाचार वारम्वार हुनथाल्यो र त्यस्तो काम देशैभरी फैलियो । केन्द्रदेखि प्रदेशसम्मनै जहाँजहाँ कोरोनाविरुद्धका वान्दोवस्ती समग्री खरिद भए ती ठाउँमा भ्रष्टाचार भैरहेका छन् निरन्तर नै । जस्तो पछिल्लोसमय विभागले ४० करोडको सामान खरिदिगर्न गरेको ठेक्का सन्दर्भमा जे भयो त्यस्तै प्रदेश (उदाहरणका लागि कर्णाली) मा पनि भयो । केन्द्रमा विभागका महानिर्देशकले मनपरी गरे भने प्रदेशमा निर्देशकले  । भ्रष्टाचारको यस्तो कामलाई निर्भय गराइदिने काम प्रधानमन्त्रीको प्रतिरक्षाले नै गरेको हो । शंका लागे अध्ययन गराउँ । 

बोली एउटा काम अर्को

प्रधानमन्त्रीले गर्ने गरेको भ्रष्टाचारको प्रतिरक्षाको स्वरुप पनि अनौठो कै हुनेगरेको छ । कहिले उनी आफुलाई जोगी भन्छन् र सम्पत्ति नचाहिन बताउँछन । कोरोना सन्दर्भमा भएको खरिदमा उठेको भ्रष्टाचारको कुरामा उनले प्रतिरक्षा यसरी गर्न खोजे –

‘मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु। मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो। मलाई पैसा कमाउनु छैन। म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिबद्ध छु ।’

बैशाख ६ गते प्रधानमन्त्रीले सरकारी सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ताको अंश हो यो । यो ठाउँमा आफुलाई कुनै सम्पत्ति नचाहिएको भन्न खोजिएकोछ र त्यसका लागि पत्नीको पेन्सन देखाइएकोछ । साथै बोली र व्यवहारमा प्रतिबद्ध छु पनि भनिएकोछ तर यता व्यवहारमा चाहिँ उल्टो देखियो । 

उनले यस्तो प्रतिवद्धता जनाएको तेस्रोे दिन नै उल्टोकाम भयो । सबैसम्पत्ति दानदिएको भन्नेकुरा शनिवार आयो र सोमबार दलफुटाउन सजिलो बनाउने अध्यादेश । यो अध्यादेश आएको भोलिपल्ट पद र पैसा झोलामा बोकेर दल फुटाउन उनका दूतहरु लकडाउनका बेलापनि साइरन बजाउँदै सम्वन्धित क्षेत्रमा फैलिए सांसद खरिदविक्री गर्न भन्दै । यो काम प्रधानमन्त्रीको आदेश अनुसार थियो भन्ने त पुष्टी भैनै सकेको छ । अपहरण गएिका वा गर्न खोजिएका भनिएका व्यक्तिको भनाइ भिडाउन सकिन्छ । यो सेरोफेरोका सबैव्यक्ति यतिबेलासम्म यहिसंसारमा छन ।  यो सानो उदाहरणले पनि केवताउ भने कम्तीमा भ्रष्टाचारका सन्दर्भमा प्रधानमन्त्री ओली  बोली र व्यवहारमा प्रतिबद्ध छैनन । भ्रष्टाचारको परिभाषामा झुटबोल्नुपनि भ्रष्टाचारनै मानिन्छ । 

प्रतिरक्षाको संगालो 

प्रधानमन्त्री ओलीले भष्टाचारका सन्दर्भमा खासगरी उनले नियुक्ती गरेका र उनका वरीपरी रहेकाहरुले गरेका भष्टाचारको प्रतिवाद पहिलो देखनै कति गरे भन्ने धेरै उदाहरणहरु छन् । पछिल्लो समय लकडाउन घोषणा भएपछि मात्रै भएका भ्रष्टाचारमा उनले गरेका प्रतिरक्षालाई एकठाउँमा राखियो  भने त्यसको मात्रै पनि एउटा संगालो नै बन्ने रहेछ । ठाउँ जस्तोसुकै होस् यो लकडाउनका बेला र खासगरी कोरोनासंग सम्वन्धित वस्तु खरिद गर्दा उनले  सुन्न पनि लाजैमर्दो हुनेगरी प्रतिरक्षा गरेका पाइयो । 

११ चैत्रमा लकडाउन घोषणा भएपछि उनले पहिलो पटक चैत्र २५ गते सम्वोधन गरेका हुन् । यो भनेको लकडाउनको १५ औं दिन हो । त्यसपछि उनले बैशाख ६ अर्थात लकडाउनको २८ औं दिनसमम्मा यस्तो सम्वोधन र अन्तर्वार्ता गरी आफनो धारणा चारपटक व्यक्त गरे । ती सबैमा भष्टाचारको निकै नै कडाइकासाथ प्रतिरक्षा भएको पाइयो । कतिपय अवस्थामा  त त्यस्तो पतिरक्षा गर्नकै लागि उनले राष्ट्रका नाममा सम्वोधन वा आफना माध्यमहरुमा अन्तर्वार्ता दिने व्यवस्था गरेको भन्नेसम्म बुझनुपर्ने भयो ।  

उनको पहिलो सम्वोधन आउदा कोरोना महामारीको विरुद्ध वन्दोवस्ती खरिमा धेरै नै ठूलो र करिवकरिव खुलाजस्तै मानिएको भ्रष्टाचार काण्ड प्रकट भैसेको थियो । यो काण्डमा प्रधानमन्त्रीका वरीपरीका व्यक्तिपनि संलग्न रहेका भन्ने त आएको थियो तर प्रधानमन्त्री चाहिँ यसमा कतै जोडिएका थिएनन् । उनको अस्वस्थ्यता सबैको सहानुभूतिको विषय बनेको थियो । 

त्यसबाट कसैले फाइदाउठाएका थिए भने त्यो प्रधानमन्त्रीसम्म जोडिने थिएन । हो, मन्त्री र सल्लाहकारसम्मचाहिँ कुरा पुगेको पक्कै हो । स्वतन्त्र अनुसन्धान भए पछिसम्म नै त्यसको तारतम्य जोडिएको नै भेटिने छ । यो भ्रष्टाचारमा आपतकालीन भनिएको सवा-अर्व रकमको यस्तो काम पहिले कहिल्यै नगरेकोलाई दिएको, भनेजति परिणमको सामान नल्याएको, ल्याएकोसामान १० गुना महँगो र गुणस्तर नभएको आदिआदि कैफियत देखिएका थिए ।  त्यसैकारण पनि ठेकेदारलाई जोगाउन र घटनालाई लुकाउन सक्तैनसक्ने भएपछि सम्झौता रद्ध भयो, धरौटी जफत भयो, तत्काल सामान स्थलमा नपठाइने भइयो आदिआदिले यो भ्रष्टाचारलाई पुष्टी गरे । 

महामारीको यस्तो बेला यस्तो कैफियत गर्नेहरुमाथि कार्वाहीको माग तिव्र बन्न थाल्यो ।  यही क्रममा प्रधानमन्त्री राष्ट्रका नाममा सम्वोधन लिएर आए र सार्वजनिक भएका भ्रष्टाचारका ती विवरणलाई कुप्रचार भनिदिए । त्यसपछि त यो  भ्रष्टाचारको जोडदार प्रतिरक्षाको लहरनै चलिरह्यो जो त्यसपछिका १०–१२ दिनमा छ सात पटक नै दोहोरिए विभिन्न प्रकारबाट । यो ठाउमा प्रधानमन्त्रीले बोलेका शव्दको  अर्थ कस्तो रहन्छ भन्नेसमेत हेक्का राखिएन । ती प्रतिरक्षाका केही नमूना: 

एक – निराधार कूप्रचार 

सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारवाहीहरु विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तर कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ। मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । (चैत २५ सम्वोधन)

दुई –सचिवालयमाथि हमला 

विशेष परिस्थितिमा सामान्य अवस्थाका कानूनहरूभन्दा विशेष परिस्थितिकै कानून लागू हुन्छ । विशेष परिस्थितिसम्बन्धी कानून २०२० ले खरिद प्रक्रियालाई नेपाल सरकारको मन्त्रालयको महानिर्देशक वा पछिल्लो समयमा संशोधित व्यवस्थाअनुसार प्रदेश सरकारको मन्त्रालयको महानिर्देशक लगायतले तत्ककाल खरिद गर्नसक्ने व्यवस्था गरेको छ ।

आवश्यक सामग्री खरिद गर्न मन्त्रिपरिषदले यस ऐन बमोजिम विशेष परिस्थितिमा आ–आफ्नो अधिकार यसरी प्रयोग गर्नू भनेर त्यसतर्फ ध्यानाकर्षण गर्दै नीतिगत रूपमा निर्णय गरिदिएको हो । त्यहीअनुसार महानिर्देशकले खरिद प्रक्रिया अगाडि बढाए । प्रक्रिया अगाडि बढाउनेवित्तिकै त्यसमा राजनीति हुनथाल्यो । कुन्नि के ग्रुप, बालुवाटारबाट संरक्षित यस्तो उस्तो भन्ने बकवासहरू त्यसमा मिसाइए । र, अत्यन्त गलत उद्देश्य र गलत नियतका साथ त्यसलाई प्रचारबाजी गरियो । 

तर, हामीकहाँ हल्ला चलाएर प्रतिभाको हत्या गर्नेहरू पनि छन् । कुनै प्रतिभा नेपालमा जन्मिन नपाओस, कोही पनि शुद्ध छ भनेर जनताले बुझ्न पाउने अवस्था नहोस् भन्ने त्यो समूहको चाहना छ । सबैलाई मुछिदिने, सबैलाई भ्रष्ट भन्ने गर्छ । जो भ्रष्ट छैन उसलाई भ्रष्ट छ भन्ने हल्ला गर्छ, जो बढी भ्रष्ट छ उसकै स्वर चर्को हुन्छ । हामी त्यो परिपाटीसँग बग्दैनौँ ।

मेरो सचिवालयको विरुद्ध त शुरूदेखि नै हमला छँदैछ । किनभने सचिवालयमा भएपछि मलाई सहयोग गर्नु स्वाभाविकै हो । मन्त्रिपरिषद्मा भएपछि मन्त्रीहरूले मलाई सहयोग गर्नु स्वाभाविकै हो । मेरा सहयोगीहरूमाथि हमला शुरूदेखि नै भइरहेकै हो । मेरो सचिवालयका सदस्यहरूको डिफेन्ड गर्‍यो भन्लान  तर म के ठान्छु भने मेरो सचिवालयका सदस्यहरू त्यति कमजोर छैनन् कि मैले ढाल बनिदिनुपरोस मैले डिफेन्ड गर्नु परोस् । तर, म कतिमात्रै भन्छु भने यो त मलाई सहयोगी हात बढाउने, मलाई सहयोग गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा समर्थन वा सहयोग गर्नेहरूमाथि केही तत्वहरूको निरन्तरको र निराधार हमला सदावहार रूपमा चलेकै छ । मैले त्यतिमात्रै भन्न खोजेको हो । सचिवालयमा बसेर मेरो आलोचना गरेर, मलाई गुमराहमा राखेर असफल बनाउने भूमिका खेलिदिनुपर्थ्यो भन्ने उहाँहरूको आग्रह होला । विभिन्न पत्रिका र सञ्चारमाध्यमका वा गलत राजनीतिक उद्देश्य बोकेकाहरूको सुलसुलेको रूपमा काम गरिदिनपर्थ्यो, कुनै पनि निर्णयहरू वा कुनै पनि छलफल, सल्लाह, आदी कुराहरू संवाददाताको रूपमा सम्प्रेषण गरेर उनीहरूलाई मद्दत पुर्‍याइदिनुपर्थ्यो र देशविरुद्धको एउटा चक्रव्यूहका गोटी बनिदिनुपर्थ्यो भन्ने आग्रह हुनसक्छ । त्यो भएन, अनि रिसाए  ( बैशाख २ अन्तवार्ता देखापढी अनलाइन) । 

तीन –सरकार असफलपार्ने मनसाय

नेपालमा एकथरि कर्कस धुन मात्र निकालिरहने समूह छन् । मैले पटकपटक भनेको छु – मेरो र यो सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टार गर्दिनँ र हुन दिन्नँ भनेर । मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु । मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो । मलाई पैसा कमाउनु छैन । म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिबद्ध छु ।

पहिले–पहिले भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारबाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गर्ने गरिएको छ । जस्तो– बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो । हामीले चाँजबुझ अघि बढायौँ । वाइडबडी प्रकरणको कुरा पहिल्यै सुरु भएको हो । 

प्रधानमन्त्री अहिले पहिलेको जस्तो खरिद बिक्रीको कारोबार गर्दैन । पहिला–पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन् । स्वास्थ्य सामग्रीसम्बन्धी सम्झौता र रद्द गर्ने काम स्वास्थ्य मन्त्रालयको सम्बन्धित विभाग हो । सम्झौता रद्द भएको मैले प्रेस ब्रिफिङबाटै थाहा पाएको हुँ । त्यसमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जोडेर प्रचार गरिनु कर्कश धुन बजाउनुजस्तै हो । यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन् । स्वास्थ्य सामग्रीसम्बन्धी त्यो सम्झौता रद्द भयो, जमानत जफत भयो र कालोसूचीमा राखियो, अनियमितता गर्नेलाई कारवाही हुन्छ । आशङ्का गर्नु अन्यथा होइन, छानबिन हुँदा गलत पाइए कारबाही हुन्छ तर जेमा पनि शङ्का गरेर यस्तो स्थितिमा काम गर्ने मान्छेलाई हतोत्साहित गर्नु हुँदैन ( बैशाख ६ अन्तर्वार्ता सरकारी सञ्चार माध्यम) ।

नयाँ