arrow

४ बालबालिका बिस्फोटमा मारिएको स्थान नजिकै माओवादी हतियार कारखाना रहेको खुलासा 

घटनास्थलमा अरुपनि हातहतियार हुन सक्छन् – गिरी

logo
कविता उपाध्याय,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
dead2.jpg

रोल्पा। दशवर्षे सशस्त्र युद्धमा होमिएका तत्कालिन माओबादी नेता कुलानन्द गिरीले केहीदिन अघि रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोटमा परी ४ अबोध बालबालिको निधन भएको स्थानमा अरुपनि हातहतियार तथा बम बारुदहरु हुनसक्ने बताएका छ्न् । 

त्रिवेणी गाउँपालिकाको दुम्ला बर्तिबाङ, मैतेगातीना भन्दा माथि छम्पा भन्ने ठाउँमा सशस्त्र युद्धका बेला हतियार निर्माण गर्ने कारखाना नै थियो । सशस्त्र युद्धका बेला माओवादीको केन्द्रीय समितिको बैठक समेत त्यसेै स्थानमा बसेकाले नेताहरुको सुरक्षार्थ समेत त्यहाँ हात हतियार पुर्याइएको गिरीको भनाइ छ । 

गिरीका अनुसार २०५८ साल मंसीर ८ गते माओबादीले दाङ घोराहीको ब्यारेक आक्रमण गरेका बेला कब्जा गरेका सबै हातहतियारहरु दाङछिरी हुँदै नुवागाउँबाट मैतेगातिनाको बाटोभएर जिल्लाका बिभिन्न ठाउँमा पठाइएको थियो । यसबाहेक सशस्त्र युद्धका बेला लुकाइछिपाई राखेका अरुपनि हातहतियार त्यो ठाउँमा हुन सक्ने उनको अनुमान छ  । “ती अबोध बालबालिकालाई त्यो घटनाका बारेमा के थाहाँ ? भेटाएर खेलाए होलान् । जीवनलीला समाप्त भयो," उनले दुःख प्रकट गरे । 

गिरीले विगत संझदै भने," माओबादी र सरकारवीच दाङको हापुरेमा भएको दोश्रो बार्ता भङ्ग भएपछि २०६० साल भदौ १९ गते दाङको घोराही ब्यारेकबाट शाही सेनाहरु रोल्पा आएका थिए । त्यहीबेला  नुवागाउँ भन्दा माथिको कब्जेनी डाँडाबाट शाही सेनाले र मैतेगातीना (घटना स्थल) बाट माओबादी लडाकुको करिव साँढे एक घण्टाजति दोहोरो भिडन्त भएको थियो । घटनामा मानवीय क्षती भएन । तर त्यो बेलामा पनि ठूलो संख्यामा हातहतियार प्रयोग भएका थिए । केही हातहतियार छुटेका पनि हुन सक्छन्। "

“शाहीसेना र माओबादीको दोहोरो भिडन्त हुँदा त्यो दिन म दुम्लामा थिएँ । तालिममा भएको हुँदा त्यो दिन मलाई अहिलेपनि याद छ । त्यही दिन कोर्चाबाङको हान्नीङमा शाही सेना र माओबादी बीचको भिडन्तमा एक क्वीण्टलजति गोलीगट्ठा माओबादीले खोसेका थिए । त्यो एरियामा पनि केही हातहतियार अझै हुन सक्छन् ”उनले भने। 

“जिल्लाका कोर्चाबाङ, घर्तीगाउँ, भाबाङ, राङ्सी, कुरेलीको उपाबाङमा पनि युद्धको अवशेषका रुपमा हातहतियार हुन सक्छन्  । त्यँहा तत्कालिन समयमा माओबादी नेता प्रचण्डको हेडक्वाटर थियो । जसका कारण ती  ठाउँमा धेरै हातहतियार तथा बम बारुद्धहरु राखिएका हुन्थे । यसका साथै लिस्ने, गाम तिरपनि लुकाई छिपाई राखिएको तथा गाडिएको अवस्थामा हातहतियार तथा बिष्फोटक पदार्थहरु हुनसक्छन्” उनले भने । 

उनका अनुसार तत्कालिन माओबादी लडाकुले हातहतियार कब्जा गरेर भाग्नुपर्दा केही लिएर, केही छोडेर तथा केही गाडेर जान्थे । सेनाले त्यो एरिया कब्जा गरेपछि माओबादी लडाकुहरु फर्केर आउन सक्ने अवस्था रहदैनथ्यो । यसरी लुकाइ छिपाई राखेका ती हातहतियारहरु अझैपनि त्यही ठाउँमा छुटेका हुन सक्छन् । 

कतिपय शाही सेना तथा माओबादी लडाकुले युद्धका बेला दोहोरो भिडन्तमा ज्यानको सुरक्षाका लागि हातहतियारहरु छोडेर भाग्थे । यस विषयमा खोज अनुसन्धान हुनुपर्छ । सरकारको पहलमा नेपाली सेना मार्फत बम तथा विष्फोटक पदार्थहरु निष्क्रिय पारिनु पर्छ उनले भने । 

त्रिवेणी घटनाका बारेमा सरकारले पीडित परिवारलाई न्याय दिुनपर्ने उहाँको माग छ । युद्धको अवशेषबाट बचेको वम विष्फोटका कारण घटना भएको हुँदा ती बालबालिकालाई शहिद घोषणा गर्नुपर्ने उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ