arrow

सिंहदरबारको होस खुलोस् : तिम्रो एक दिनको विदाले यिनको उत्थान हुन्छ ? (भिडियो सहित)

‘मालिक बनाउनेहरुको कार्यक्रममा जाँदा कयौं पटक भोक–भोकै सुतेँ’

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७३ वैशाख १९ आइतबार
majdur-diwas-.jpg.jpeg
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा निर्माणाधीन रहेको एउटा निजी भवनको निर्माणमा मजदुरी गरिरहेकी अर्घाखाँची जिल्लाकी शान्ता लिम्बुलाई मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको विषयमा राम्रो जानकारी भएको भएपनि उनी आजकाल कुनैपनि त्यस्ता कार्यक्रममा जान छाडेकी छन् । 
 
केही वर्षसम्म श्रमिकसँग सम्बन्धित हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएकी लिम्बूले मजदुर दिवसको दिन समेत काम गरिरहेको ठाउँ मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारबाट बढीमा पाँच सय मिटरको दूरीमा छ । बालुवाबाट कंक्रिट निकाल्दै गरेकी शान्ताले पत्रकारको परिचय दिएर मजदुर दिवसको बारेमा कुरा गर्नखोजे पछि एका एक भावुक बन्दै मजदुर दिवसको औचित्यहीन कहानीको बेलिविस्तार लगाइन् । 
 
केही वर्ष अघिसम्म मजदुर दिवसका हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएकी उनलाई अनेक मुक्तिका कहानी सुनाइयो, जीवनमा अर्काको दास बनेर सधैं श्रमिक बन्न नहुने भन्दै आफैं मालिक बन्न सकिने सपना पनि बाँडियो । जीवनमा आफैं मालिक बनेर जीउने उपाय रहेको भन्दै अनेक बहानामा कार्यक्रममा सहभागी हुन लगाईयो । तर, कार्यक्रम सकिएपछि भने ती जीवन मुक्तिको कहानी सुनाउने कसैले पनि उनलाई चिनेनन् । त्यति मात्र नभई बोल्नसम्म पनि लायक नठानेपछि उनले त्यस्ता कार्यक्रममा जानै छोडीदिइन् । 
 
‘कति पटक त कार्यक्रममा गएको बेलुकीको छाक भोकै बस्नु परेको थियो’ उनी भन्छिन् ‘विहान अनेक सपना देखेको मैले बेलुकी भोकै बस्नुपरेपछि मात्रै मुक्तिका सपना देखेर ¥यालीमा जान छाडिदिएँ ।’ 
 
त्यस्तै गरी, काठमाडौंको भृकुटी मण्डपमा एमाले समर्थित मजदुर संगठन जीफन्टले आयोजना गरेको कार्यक्रममा भेटिएका काभ्रेका कृष्णप्रसाद सुवेदीलाई मे दिवस अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसको बारेमा केही पनि जानकारी थिएन । तर, उनले आज मजदुरहरूको दिन हो र यसमा मजदुरहरूको हक अधिकारको विषयमा कुरा हुन्छ भनेर सुनेपछि आफ्नो घर बनाउने काम छाडेर आफ्नै खर्चले थानकोटबाट आएको सुनाए । 
 
सुवेदीले त्यहाँ आएबापत न त एक रूपैयाँ खर्च पाए, न त उनले कार्यक्रममा उपस्थित प्रमुख अतिथी ईश्वर पोखरेललाई नै चिने । बाहिरिँदै गरेका प्रमुख अतिथी पोखरेललाई देखाउँदै सोध्दा उनले भने ‘अघि भाषण त मीठै गरेका थिए, तर को चाहिँ चिन्दिन ।’ 
 
उता, काठमाडौंको विजुलीबजारमा सडक निर्माणको काम गरिरहेका चितवनका मिठाराम पन्तको हालत पनि अरूको भन्दा कम छैन । दैनिक १५ घण्टा बढी काम गर्ने गरेको बताउने उनले मजदूर दिवस भनेर काम नगरी बस्न नसकेको बताए । दिनभरी काम नगरे बेलुका खानै धौ–धौ पर्छ । सोमबार चितवन जाने तयारीमा रहेकोले पनि मजदुर दिवस भनेर त्यसै बस्न नसकिएको उनले सुनाए । 
 
यो अवस्था काठमाडौैंको भृकुटीमण्डप देखि तीनकुनेसम्मको मूल सडकको आसपासमा भेटिएका मजदूरहरूको मात्रै हो । काठमाडौंको चक्रपथभित्रै यस्ता कयौं पीडाहरु सुन्न गल्ली भित्र छिनु पर्दै बाहिरै यत्रतत्र छन् । जुन मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको नाकैमुनि विभिन्न पीडाहरुछन् । सिंहदरबार छिनु अघि जो कोहीले ती मजदुरलाई हरेक दिन बाटोमा भेट्दछन्, देख्दछन् । 
 
नेपालमा सामन्तवादको अन्त्य गरी सबै श्रमिकलाई मुुक्तिदिन भन्दै विभिन्न आन्दोलन गर्ने स्वघोषित सर्वहारा नेताहरू बस्ने ठाउँले समेत सधैं यी दृष्य राम्ररी हेरिरहेको छ । तर, उनीहरूले त्यस्ता आन्दोलनले सीमित मजदूरहरूलाई श्रमिक दिवसको दिन काठमाडौंको कुनै मञ्चमा बोल्दा तालि बजाउन बाहेक कहिलै पनि सम्झिने गरेका छैनन् । विविभन्न राजनीतिक परिवर्तनमा यीनै मजदुरको रगत बगेको सजिलै भुल्ने दलका नेताहरु त वास्ता गर्दैनन् नै, देशको स्थायी सरकार मानिने कर्मचारीतन्त्र समेत बहिरो भएको छ । आफ्नै ट्रेड युनियनको चुनाव गर्न नसकेको कर्मचारीतन्त्र समेत भ्रष्ट र लोभी भएको छ । 
 
मजदुरको पसिनामाथि रजाँइ गर्ने चिन्तन हटेको छैन । आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनको नारा बोकेको श्रमिक दिवस नारामा मात्रै सीमति छ । नेपालको हकमा १२ घण्टा बढी काम गर्ने मजदुरले पारिश्रक नै नपाएका थुप्रै उदाहरण छन् । पाइहाले पनि किस्ता वन्दीमा थोरै पाउने गर्दछन् । बेरोजगारी दर झन चुलिँदै गएपछि मजदुरहरु कम पारिश्रमिकमा आफ्नो श्रम गर्न बाध्य छन् । 
 
ट्रेड युनियनका नाउमा राजनीति गर्ने दलहरुको रवैया उस्तै छ । भएको रोजगारी समेत खोसिने डर मजदुरहरुमा अझै कायम छ । दिवसकै लागि विभिन्न कार्यक्रम हुने गरेपनि त्यो कार्यक्रमको खर्च कहाँबाट जुट्छ भन्ने समेत मजदुरहरुले थाहा पाउँदैनन् । देशमा विभिन्न दिवसहरु मनाइन्छ । मजदुर दिवस मात्र नभई बालश्रम विरुद्धको दिवसलगायत कयौं दिवस मनाइन्छ । जसमा वर्षेनी थुप्रै खर्च समेत हुने गरेको छ । वास्तविक मजदुरको आर्थिक र सामाजिक विकासमा यी विभिन्न कार्यक्रमले खासै प्रभाव पारेको देखिँदैन । 
 
काठमाडौंको तीनकुनेमा पर्ने वाग्मती करिडोरमा सडक निर्माण गरिरहेका एक मजदूरले भने, ‘दैनिक पाँच सय रूपैयाँमा १० घण्टा काम गरिरहेका छौं । सरकारी काम भन्छन् तर सरकारले दिएको तलब पनि यति थोरै हुन्छ ।’ उनले भने, ‘व्यक्तिगत पैसा दिएको थियो भने कति हुन्थो होला ? यसबाट बुझिन्थ्यो कि यसरी काममा लगाउने ठेकेदारले सरकारी काम भनेर कामदारलाई झुक्काइरहेका छन् ।’ राज्यले नै ठग्ने गरेपछि काम लगाउने ठेकेदार र मालिकहरुले श्रम शोषण गर्दैनन् भन्नेमा विश्वस्त हुन सकिंदैन । 
 
श्रम गर्नेले हप्ताको सातै दिन कडा मेहनत गर्दा समेत १५ हजार कमाउन एक महिना कुर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा परिवारको जिविकोपार्जन गर्नै धौ–धौ पर्छ । तर, उनीहरुसंग छोरा छोरीलाई राम्रो विद्यालय सम्म लैजाने कुनै सामथ्र्य छैन । उनीहरुका लागि त्यो सपना जस्तै भएको छ । सरकारको एक दिने सार्वजनिक विदाले मजदुरहरुको हित होला त ? उनीहरूले सिंहदरबारमा बस्नेलाई कान खोलेर बस्न आग्रह गर्दै यसो भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ