arrow

कोरोनाको कहर भन्दा कडा नेकपाको कुर्सी-काण्ड 

logo
केदार सुवेदी,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
olidahal.jpg

दुईमहिना पुग्न चारवटा दिनमात्र बाँकी रहनेगरी पाँचौंपटक लकडाउनको समय ११ दिन थपिँदाको दिन बैशाख २४ मा नेकपाको १५ दिनसम्म चलेर मत्थर भएको कुर्सी–काण्ड फेरी दोहोरिएको छ । सरकारमाथि लकडाउनका समयमा गर्नुपर्ने काम नगरेको आरोप लागेको अवस्थामा देशका लागि कोरोना भन्दा नेकपाको यो कुर्सी-काण्ड कडा हुने जस्तो देखियो । लकडाउन थपिएको र कुर्सीकाण्ड दोहोरिएको संकेत देखिएको त्यो २४ गते देशमा के के भयो ? 

कोरोना तर्फ –

एक:  एकै परिवारका १७ जनामा संक्रमण प्रकट । संक्रमितको सख्या १०१ । अस्पताल भर्ना । यो घटनाले आमनागरिक झन् त्रसित ।

दुर्इ: संक्रमणको विस्तार १५ जिल्लामा फैलिसकेको सरकारी तथ्यांक । तराइको नयाँ जिल्ला कपिलवस्तुपनि थपिएको जानकारी । 

तीन:  यो दिन प्रकाशित भएको विवरण अनुसार देशभरी ४४ वटा पीसीआर मेसिन रहेकोमा १८ वटा मात्रै सञ्चालन । ती पनि पुरा क्षमतामा चल्न नसकेका । पुरा क्षमतामा चल्दा १२ घण्टामा ७२ वटा परीक्षण हुने । अहिले यस्ता मेसिन बाट दिनमा १०–१२ वटाको मात्र परीक्षण । यिनलाई पुरा क्षमता र वन्दनै रहेका बाँकी सञ्चालन हुन किट आदिको अभाव । 

चार: देशभरीनै पीसीआर मेसिनबाट हुने परीक्षणको दर दिनप्रतिदिन घट्दो । कुनैबेला हजारको संख्या रहेको यस्तो परीक्षण  लकडाउनको दिन बढदै जाँदा परीक्षण घटेर डेढ सयको दर कायम । यो डेढसय लकडाउन पाँचौंपटक थपिएको दिनको हो । 

पाँच: केन्द्रिय प्रयोगशाला रहेको केन्द्रिय राजधानी, बाग्मती प्रदेशमा नयाँ परीक्षण शून्यमा रहेको अबस्था कायमै । 

छ: किट अभावले केन्द्रिय राजधानीमै रोकियो परीक्षण । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोरोना परीक्षण गर्ने आरडीटी किट अभाव हुँदा शंकालागेर आफैँ जँचाउन आउने गरेका सरदर ४०–५० जना दैनिक परीक्षण बिनै फर्किने गरेका अस्पातलले जनाएको छ । २४ गतेको एक दिन त यसरी नजचाई फर्किन परेको संख्या सयको हाराहारीमा रहेको पाइयो । यसमा उपत्यका बाहिरबाट काठमाडौं छिरेकाहरुलाई टेस्टबिना घरबेटीले कोठा छिर्न नदिएपछि कोठामा छिर्नकैलागि पनि परीक्षण गराउन टेकु पुगेकाहरु पनि पर्ने गरेका छन् । तिनको समेत परीक्षण रोकिंदाको दर्दनाक अवस्थाको कल्पना मात्रै गरौं ।

सात: सेनाले एकहप्ताभित्र ल्याउने भनिएका परीक्षण लगायतका सामग्रीहरु उसलाई काम सुम्पिएको ३८औं दिन । यो बेलासम्म सामान आपूर्ती नभएको अवस्था यथावत नै । सेनाले १६ गते एकलौटी रुपमा आपूर्तीको काम पाएको थियो । 

आठ: सामानको अभाव देखाएर विवादमा परेको ठेकेदार आम्नी समूहले ल्याएको गुणस्तरहीन किट प्रयोग गर्न वाध्य पार्ने क्रम जारी । तर यसैदिन स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नै यो पनि सकिन लागेको घोषणा । यसै दिन प्रधानमन्त्रीले गरेको सम्वोधनमा पनि अबको स्थिति भयावह हुने र त्यसका लागि तयारी बस्न सन्देश प्रवाह । तर यस्तो किटपनि सकिएको अवस्था ।  

नौ: नेपालभित्र कोरोना भाइरसको पहिलो संक्रमणको घटना भेटिएको तीन महिना १४ औं दिन पुरा । विज्ञहरुले उपचारक्रममा चाहिने आवश्यक औषधी उपकरणको सूची दिएको पनि यतिनै दिन । यो दिनसम्म त्यो सूची र आवश्यकता अनुसारको दश प्रतिशत पनि सामान नआएको तिनै विज्ञको आरोप । नमूनाका रुपमा प्रस्तुत भएको  यो दिनको २४ घण्टामा केवल २२६ वटा नमुनाको पीसीआर परीक्षण गरिएको विवरण प्रस्तुत । उनका सुझावमा कोरोना प्रति सचेत हुने हो भने न्यूनतम दैनिक ३ हजार जनामा ‘पीसीआर’ परीक्षण गर्न आवश्यक  । 

दश: सरकारको नियतमाथि विज्ञहरुको शंकाप्रकट । उनका सार्वजनिक भनाइमा  –‘लकडाउनलाई प्रकोपविरुद्ध प्रतिकार्य गर्ने अवधिका रूपमा नलिई सरकारले सम्पूर्ण अस्त्रका रूपमा अपनाएको देखियो । डेढ महिना मुलुकलाई बन्धक बनाइए पनि न अस्पतालमा पूर्वाधार थपिएको छ न चिकित्सा सामग्रीकै जोहो गरिएको छ, अब पनि परीक्षणको मात्रा नबढाइए हामीले गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ । यसमा अरू उपाय पर्खनु वा केही नगरी बस्नु भनेको सरकारले नागरिकको जीवनसित सरासर खेलबाड गर्नु हो ।’

कुर्सीकाण्ड तर्फ –

एक: सत्तारुढदलको सचिवालय बैठक चलिरहेकै बेला स्वयं अध्यक्ष र बैठकको अध्यक्षता गरिरहेको अवस्था बाटै बहिष्कार । यो भनेको बैठकको अध्यक्षबाटै बैठक गर्न नचाहेको स्थिति प्रकट।  

दुई: अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरूबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेका भन्ने आरोप । ‘उहाँ (प्रधानमन्त्री ओली) बैठकको सामना गर्न पर्छ भनेर डराएकै त होला नि । अरू त के हुन्छ र ? बैठकबाट भागेर कति दिन भाग्ने हो, कहाँ जाने हो, बैठकबाट भाग्ने भनेको त पार्टीबाट भाग्ने हो। उहाँले मात्रै हो बैठक सारेको, किनकि उहाँ आफैं सचिवालय बैठक छाडेर हिँड्नुभएको हो’ – स्थाइसमिति सदस्य बेदुराम भुषाल । 

तीन: प्रथम अध्यक्षबाट चलिरहेको बैठक एक्कासी छाडेर हिडेपछि उनकै अध्यक्षतामा सम्पन्न भएको चारदिन अघि २० बैशाखको बैठकले तोकेको  स्थायी समितिको बैठक जो २५ गते बस्ने तय भएको थियो त्यो पनि अनिश्चितकालका लागि स्थगित । 

चार: स्थायी समितिका २५ प्रतिशत सदस्यले लिखित माग गरेमा १५ दिनभित्र स्थाइ समितिको बैठक बस्ने भन्ने विधानमा लेखिएको व्यवस्था पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बाटै उल्लंघन । प्रधानमन्त्रीपक्षबाट बजेट पछि बस्ने व्यवस्था गर्न प्रस्ताव ।  

पाँच: प्रधानमन्त्री तथा अध्यक्षले आफनै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय आफैबाट उल्लंघन भएको घटना रेकर्डमा कायम । यो मिति प्रधानमन्त्री तथा अध्यक्ष ओलीबाटै २५ गतेका लागि मिति तोकिएको भन्ने अन्यबाट जानकारी । 

छ: वितेको १२–१३ दिनसम्म गरिएका राम्रा नराम्रा धेरैखाले अभ्यास पछि र कतिपय गोप्य कतिपय खुलारुपमा गरिएका ठूला लेनदेनबाट २० गतेको बैठकले आत्मालोचनाका नाममा निकालेको भनिएको समाधान निरर्थक । आफैले गरेका आत्मलोचनाको आफैबाट खण्डन । 

सात: यसै दिनबाट दुबै पक्षले शक्ति देखाउन फेरी हस्ताक्षर संकलन प्रारम्भ । २० गतेको बैठकमा प्रधनमन्त्रीलाई साथ दिएको भनिएकाहरुबाट फेरि समिकरण फेरवदलको घोषणा । अध्यक्ष तथा प्रधानमन्त्री हप्तादिन भन्दाकम समयमै दोस्रो पटक पनि अल्पमतमा रहेको भन्ने गणना सुरु । 

आठ: यो दिनदेखि सत्तारुढदलको यो कुर्सी काण्ड बैशाख ८ गतेको अवस्थामा नै पुगेको पर्यवेक्षकको ठहर । अर्थात जहाँबाट यो काण्डको सुरुआत भएको थियो देशका अमूल्य करिव तीनहप्ता समय वर्वाद गरेर फेरी त्यही ठाउँबाट त्यही कुर्सी काण्ड सुरु । सत्तापक्षका प्रधानमन्त्रीदेखि मन्त्री र अरु नेताहरु यी (८–२४) दिन देशको शासकीय काममा र खास गरी कोरोना महामारीको सन्दर्भमा बोल्न समेत फूर्सद नहुनेगरी यही काण्डमा व्यस्त थिए । 

नौ: बैशाख ८ मा २० जना स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन लिखित निवेदन दिएका थिए । २४ गते निर्धारित समिति बैठक अनिश्चतकालका लागि स्थगित भएपछि फेरी यी २० जना त्यही निवेदन बोकेर दुवै अध्यक्षकहाँ बैठक बसाउन दवाव दिनेभन्दै धाउनथाले । 

दश: स्थायी समितिको बैठक माग्नेहरुको एजेण्डामा यही दिन विषय थपिए । यसबाट प्रधानमन्त्री झनै यो बैठकको विपक्षमा जाने जस्तो अनुमान भयो । स्थायी समितिको बैठक माग्ने यी सदस्यका थपिएका एजेण्डमा प्रधानमन्त्रीलाई मननर्पे धेरै कुरा समावेस । जस्तो यती समूहलाई गोकर्ण फरेस्ट रिसोर्ट लिजमा दिने प्रकरण, वाइडबडी विमान खरिद, सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्रीबाट कमिसन माग गरिएको टेप प्रकरण, कोरोना महामारी विरुद्ध स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ओम्नी समूहसँगको भएको साँठगाँठ, यी प्रकरणमा मुछिएका व्यक्तिहरू निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयंले गरेका, संघीय समाजवादी फोरम नेपाल फुटाउने उद्देश्यमा नेकपाका दुईजना सांसद र पूर्वप्रहरीप्रमुखको संलग्नता, आदि। अपहरण सम्बन्धी मुद्दा दर्ता, प्रहरीद्वारा मुद्दा दर्ता गर्न अस्वीकार गरिएको आदि । यसकाबारे  प्रधानमन्त्रीसंग जवाफ मागिने प्रस्ताव ।  

त्यहाँदेखि यहाँसम्म 

बैशाख ८ देखि यो २४ गतेसम्म आईपुग्न राजकीय तहका नै धेरै समय र श्रम खर्च भएका थिए यस अघिनै । त्यसकारण यो राज्यकै नोक्सान मानिएको हो । जस्तो 

बैशाख ८:  १. बालुवाटारमा मन्त्रिपरिषद् बैठक । बैठकमा प्रधानमन्त्रीबाट पार्टी फुटाउने दल गठन सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी संशोधन गर्ने निर्णय । २. मन्त्रिपरिषदको निर्णय लगत्तै दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण । ३. छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै प्रचण्डको पहलमा नेकपा सचिवालयको बैठक आह्वान । बैठकमा अध्यादेशको नेताहरुबाट विरोध । ४. सचिवालय बैठक चल्दै गर्दा राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएको समाचार आएपछि सचिवालय बैठक समापन नै नगरी स्थगित । ५. नेकपामा मात्रै होइन अन्य पार्टीमा पनि अध्यादेशको तरङ्ग । समाजवादी, राजपा र काँग्रेस लगायतका विपक्षी दलको विरोध ।

बैशाख ९: १. पार्टी स्थापना दिवसका अवसरमा नेकपाका तीन नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल र केपी शर्मा ओलीबाट छुट्टाछुट्टै वक्तव्य । २. नेकपाका शीर्ष नेताहरूबीच आन्तरिक छलफल । स्थायी समिति बैठक बोलाउनुपर्ने बहुमत सचिवालय सदस्यको निष्कर्ष ।

 बैशाख १०: १. अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालबीच भेटवार्ता । २. प्रधानमन्त्री केपी ओलीको बालुवाटारमा सङ्घीय सांसदहरुसँग छलफल । छलफलमा अध्यादेशको प्रधानमन्त्रीबाट बचाउ । ३. रामबहादुर थापा बादल र प्रचण्डबीच भेटवार्ता । ४. २० स्थायी समिति सदस्यहरूद्वारा बैठक माग गर्दै अध्यक्षलाई पत्राचार । ५. राजपा र समाजवादी एकताका लागि तीव्र छलफल । ६. मध्यराति राजपा र समाजवादी एकता घोषणा गर्दै जनता समाजवादी पार्टीको नामकरण ।

बैशाख ११: १. समाजवादीका असन्तुष्ट सांसदको पार्टी विभाजन प्रयास असफल २. पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदहरू महेश बस्नेत र किसन श्रेष्ठले जनकपुरबाट उठाएर काठमाडौँ ल्याई नक्सालस्थित होटल मेरियाटमा राखेको खुलासा । ३. मेरियट होटलबाट फुत्केर डा. बाबुराम भट्टराईको सम्पर्कमा । ४. प्रचण्ड– माधव नेपाल कोटेश्वरमा नेपाल निवासमा भेटवार्ता । ५. प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेट ।  ६. अध्यादेश फिर्ता लिन र स्थायी समिति बैठक बोलाउन ओलीसँग नेपालको माग । ७. प्रधानमन्त्री ओलीद्वारा सांसदहरूसँगको छलफल स्थगित गर्दै कानुन व्यवसायी र आफूनिकट नेताहरूसँग छलफल । ८. भैँसेपाटीस्थित वामदेव गौतमको निवासमा सचिवालयका ६ नेताको छलफल । अध्यादेश फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष । ९. राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता ।

बैशाख १२: १ मन्त्रिपरिषद् बैठक, दुवै अध्यादेश फिर्ता लिने निर्णय । २. राष्ट्रपतिबाट अध्यादेश खारेजको घोषणा । ३. अध्यादेश फिर्ता लिने सरकारको निर्णयको नेताहरुबाट स्वागत । 

बैशाख १३: १. अध्यादेश फिर्ता लिए पनि स्थायी समिति बैठक नबोलाउने ओलीको सङ्केत बुझेपछि इतरका नेताहरु आन्तरिक छलफलमा । २. प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता । ३. प्रचण्ड, माधव नेपाल र वामदेव गौतमबीच पुनः अर्को भेटवार्ता । ४. प्रधानमन्त्री ओलीसँग पालैपालो प्रचण्ड, नेपाल, गौतम र महासचिव विष्णु पौडेलको भेटवार्ता, बैठक बोलाउन माग । ५. बैठक बोलाउन ओली सकारात्मक नभएपछि उपाध्यक्ष वामदेव गौतमद्वारा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न सुझाव । ६. प्रधानमन्त्रीबाट कुनै हालतमा राजीनामा नदिने अडान ।

बैशाख १४: १ बालुवाटारमा सांसदहरुको हस्ताक्ष सुरु । २ अरुपक्षका सांसहरुलाई पनि हस्ताक्षर गर्न आह्वान । ३ संसदीय दलमा पनि दुइतिहाइको सखयले आफनोपक्षमा मत दिने दावी प्रम निवासबाट निरत्रत समाचार प्रवाह । 

बैशाख १५: १. हस्ताक्षर क्रम जरी । २.  प्रधानमन्त्री पक्षका मुख्य मन्त्रीहरु प्रदेश छाडेर बलुवाटारमा रातदिन । 

बैशाख १६: १. सांसदहरुको हस्ताक्षर जारी  । २. ९२ भन्दा बढीको हस्ताक्षर भएको दावी  । ३. बालुवाटार निवासमा गएर हस्ताक्षर नगरे जे पनि हुने धम्की । ४. १७ गतेका लागि सचिवालय बैठक अनिश्चित भएको हल्ला । 

बैशाख १७: १. सचिवालय बैठक । २. बैठकमा प्रधानमन्त्रीबाट अर्का कुनैव्यक्ति जो संसदमानै छैनन, लाई प्रधानमन्त्री बनिदिन आकश्मिक प्रस्ताव, कोरोनाहटेपछि आफुले पद घाडने घोषणा ।  ३. यो बेलासम्मको तनाव मत्थर भएर २०गते सम्मका लागि  बैठक स्थगित । प्रधानमन्त्रीले नै प्रधानमन्त्रीको पदलाई सौदावाजीमा राखेको पर्यवेक्षकको आरोप । 

नोट: २० गते नआउदै सांसद धम्क्याउने क्रम छाडिएन । त्यसको उदाहरण बनिन् नेकापकै राष्ट्रिय सभा सदस्य भट्ट । यतिबेला यो सरकार कसरी चलिरहेकोछ र त्यसभित्रको कुर्सीकाण्ड कस्तो हो भन्ने अध्ययन कर्ताहरुका लागि यो विवरण (सेतोपाटीको कुराकानी) ले पनि सहयोग गर्ला । 

‘म घरमै बसिरहेकी छु । लकडाउनमा घर बसिरहेको बेलामा केपी ग्रुपका (प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली)धेरैको फोन आयो । तर उनीहरु धेरैले केही भनेका थिएनन्, खाली हस्ताक्षर गर्न मात्रै बालुवाटार जानु पर्यो भनेका थिए । आज (१९बैशाख) ४ बजेर ४ मिनेटमा नेकपा केन्द्रीय सदस्य गौरी ओलीको फोन आयो । उनी प्रधानमन्त्री केपी ओली निकटको मान्छे हो । मलाई फोन गरेर पहिला त राम्रै कुरा गरिन् । उनले दस्तखत गर्न जानुभएन बालुवाटार ?’ भनिन् ।

पहिला त मैले मलाई सञ्चो छैन भनेकी थिएँ। मैले त्यसो भनेपछि उनले ’गाडीमा गएर दस्ताखत गरेर आउनुपर्यो नि, प्रधानमन्त्रीलाई ढाल्दै छन तपाईंको एउटा दस्तखतले कत्रो ठूलो काम गर्छ’ भनेर भनिन् । त्यसपछि मैले हेर्नुस् म राष्ट्रिय सभाको सदस्य हो, मेरो त्यहाँ प्रधानमन्त्रीलाई ढाल्ने र जोगाउनेमा कुनै भूमिका हुँदैन भनेर समेत भनेकी थिएँ । ...उनले फेरि मलाई ‘तपाईं जानुहुन्न?’ भनेर भनिन् । अनि मैले ‘म कतै जान्नँ, यता पनि जान्नँ उता पनि जान्नँ’ भनेर जवाफ दिएँ ।

त्यसो भए तपाईंलाई धेरै अप्ठेरो पर्ला है भोलिको दिनमा गाह्रो पर्ला भनिन् । अनि मैले के अब मेरो पद खोस्नुहुन्छ र तपाईं भनेर समेत भनेँ । त्यसपछि उनले जे पनि हुनसक्छ भनेर भनिन् । ‘जे पनि हुनसक्छ विचार गर्नुहोस, है विचार गर्नुहोस’ भनेर भनिन् । उनले अझै रिसाउँदै ‘राम्ररी बस्नुहोला, तपाईंलाई धेरै अप्ठेरो होला भोलिको दिनमा, मैले भन्दिएको कुरा हो, धेरै सतर्क भएर बस्नुस’ भनिन् । अन्तिममा मैले ‘ए त्यसो हो र ?’ भनेँ । अनि उनले ‘किन नहुने जे पनि हुनसक्छ नेपालमा’ भनिन् । मैले’ ल त्यसो भए गर्नुस् जे जे हुन्छ मलाई गर्नोस ’ भनेर भन्दा उनले ‘ए त्यसो हो ?’ भनेर ठ्याक्कै फोन राखिन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ