arrow

लम्पसारवादको नाम नै राष्ट्रवाद हो प्रधानमन्त्रीज्यू?

logo
रिता खनाल,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
rita-khanal.jpg

नेपाली संचारमाध्यममा नेपाली भूमी लिपुलेकको बाटो हुदै भारतले चीनको मानसरोवर जाने सडकको उद्घाटन गर्यो भन्ने खबर छापिएको छ। यो समाचार सुन्ने बित्तिकै कुन चाहि नेपालीको शरिरका रौं ठाडा हुँदैन मेरो पनि त्यस्तै भयो। चीनियाँ नागरिकले सार्वभौम देशका प्रहरीमाथि सिंहदरवार अगाडी अस्मिता लुटिरहेको तस्विर भिडियो हेर्न नसकिरहेको बेला भारतले बाटो बनाएको समाचार सार्वजनिक भएको थियो।यो समाचारसँगै प्रधानमन्त्रीको विगतदेखि वर्तमानसम्मलाई एकएक गरि केलाउन थाले। मेरो अन्तस्करणले बोली हाल्यो यो बर्तमान केपी ओली सरकारसँगको सहमतिमै भएको छ। मात्र नेपाली नागरिकहरुलाई बेवकुफ बनाउने काम भएको छ र बनाउने काम भइरहन्छ। जस्को पुष्टी केही समय अगाडी भारतले कालापानी लिपुलेक र लिम्पियाधुरा भारतको नक्सामा राखी सार्बजनिक गर्दा राष्ट्रवादको जामा लगाएर सरकारमा पुगेको केपी सरकारको मौनताले गरिसकेको थियो।  

प्रधानमन्त्री नागरिकहरुलाई हरक्षेत्रमा झुक्याइ रहेका छन्। देशको सीमा र राष्ट्रियतामा यो विधीको कम्प्रोमाइज केका लागि जवाफ दिन सकिरहेका छैनन। संसारमा लोकतान्त्रिक पद्धतिबाट स्थापित सरकारको केन्द्रबिन्दुमा जनता हुने गर्दछ। जनताको जनमत सर्बश्रेष्ठ हुने गर्दछ। तर प्रधानमन्त्रीले सार्वभौमसत्ता सम्पन्न नागरिकलाई अचाक्ली हेपिरहेका छन्। नई जनमतको सम्मान गर्छन न लोकतन्त्रले निर्देशित गर्ने संबैधानिक र कानुनी मार्गको अबलम्बन। न प्रतिपक्षीको सुझाव र साथ लिन खोज्छन। नत आफ्नै पार्टी भित्रको पूर्ण बिस्वास र साथ कायम राख्न सकेका छन्। 

हिजो जुन शक्तिसँग मध्यरातमा दुनियाँलाई अपत्यारिलो लागेको पार्टी एकता गरेका थिए आज त्यही पार्टीलाई बाहिरिने मार्गप्रशस्त गर्न लागिपरे। खोलो तर्यो लौरो बिर्सियो भने झै। फेरि नेपाली राजनितिक अध्यायलाई पछाडी धकेल्ने प्रयास पनि यहि बेलामा गरिरहेछन्। यो महामारिमा सत्ता लुछाचुडिमा लागेर अर्काको पार्टी फोडने प्रपञ्च पनि लाजै नमानी गरे। चुपचाप कि मलाइ समर्थन गर होइन भने तेरो बाटो खुला छ भन्ने शैलीमा पूर्व माओबादीलाई भित्रभित्रै धम्काएको पनि यहि बेला देखियो। जति कुकृत्य गरिरहेपनी प्रचण्ड बहुमतको शक्तिमा अरुलाई तर्साई रहे। रातारात अध्यादेश ल्याउने र फिर्ता गर्ने काममा लागे। सांसद खरिद बिक्री र अपहरणको कालो कलंक लागि सक्दा पनि सत्ता बहिर्गमन त कता हो कता कम्तिमा लोकको लाज अलिकति पनि ढाकछोप नगरी खुल्लमखुल्ला उत्तरको छिमेकी चीनलाई आफ्ना पक्षमा चलखेल गरिदिन मैदान खालि गरिदिए। 

नेपालीले विगतमा देखेको ओलीको त्यो राष्ट्रबादको मुखुण्डो स्खलित हुँदै लम्पसारबादमा परिणत भइसक्दा पनि ओली अझै खोक्रो आत्मरतीमा सत्ता लिप्सामा निर्लज्ज भइरहेका छन्। तमाम नागरिकहरु लकडाउनको नाममा घरभित्र  ४७ दिनदेखी थुनिएका छन। बिपन्न र निमुखाको घरमा चुल्हो बल्न छोडीसक्यो।  भोक र अभावले नागरिकहरु आत्महत्या गर्न थालिसके। अब कोरोनाका त्रास मात्र होइन ब्याधीले च्याप्दै छ। तर प्रधानमन्त्री न जनताको लागि चामल र औषधीको जोहो गर्न सक्छन नत बाटोनै छोड्छन। नागरिकको जीवन रक्षा भन्दा भ्रष्ट र बदनाम मतियारहरुको बचाउ नै प्रधानमन्त्री केपी ओलीको लागि सर्बोपरी भएको छ। 

हिजो चरम सत्ता प्राप्तिको मोहमा सबै खाले हुने नहुने फोहोरी खेल खेले। जोडघटाउको दाउपेचमा सधै देख्न नसकेर उछितो काटेको माओबादी शक्ति पनि साख्खै एउटा परिवार भयो। दोस्रो र तेस्रो पार्टी मिलेर एकपटक नेपाली जनतालाई नराम्रोसँग दिग्भ्रमित गरियो। स्थिरताको सरकार। सुखी नेपाली सम्बृद्द नेपाल। सपना मिठो थियो। झुक्किए सर्बहाराको दुहाई दिइएको लोकप्रिय नाराहरुले। झूटले केहिछिन कसैलाई दिग्भ्रमित गर्ला तर सधै कोहि झुक्किदैन। अजेय शक्ति जनता जनार्दनलाई जिल्याएर जहाँ पुगेपनि तिनै नागरिक र राष्ट्रमाथी गरेको अकल्पनीय बेइमानी, चरम भ्रष्ट चरित्र,  आफू केन्द्रित रबैया, हैकमवाद, निरंकुशता र अधिनायकवादी गतिविधिको चौगुना हिसाबकिताब ओलीसँग आजको सचेत पुस्ताले गर्ने नै छ। नत्र उत्तरतिरको छिमेकीलाई राजनीतिक हस्तक्षेपको निम्तो दिने, दक्षिणतिरको छिमेकीले सीमामा जोरजवर्जस्ती गर्दा चुपचाप हुने कुरा कति पनि सुहाउँदैन। उत्तर र दक्षिण दुवैतिर हामीले अतिक्रमण सहिरहनुपर्ने अनि राष्ट्रवादको नाममा मत साँटेर आएको प्रधानमन्त्री आफ्नो सत्ता बचाउन चुपचाप बस्ने ? बोलेपनि औपचारिकताको लागि मात्र बोल्ने। प्रधानमन्त्रीले बुझ्नु पर्छ राष्ट्रवाद यसरी लम्सारबादमा परिणत हुन सक्दैन। होशियार।।



नयाँ