जमाना : पहिले श्रमदान, अहिले मन्दिर बनाउँदा समेत भ्रष्टाचार

प्रकाशित मिति : २०७७ जेठ ४ आइतबार

मलाई सानो छदाका केही स–साना तर गहिरिएर हेर्दा महत्वपूर्ण कुराहरुको याद आयो । हाम्रो छिमेकमा उमेर मिल्दा  १२–१४ जनाहरुको समूह थियो । सवै प्राय विद्यालय जाने गर्दथ्यौं । छिमेकमा पनि बडो सहयोगी भएर एक अर्कामा माथि संकट आइपर्दा सवै मिलेर समाधान गर्ने गर्दथ्यौं । 

२०–२५ बर्ष अघिको कुरा हो । हाम्रा आगनहरु बढि जसो फोहोर हुन्थे । हाम्रो छिमेकमा शौचालय थिएन । शौचालय हुन्छ भन्ने पनि थाहा थिएन । खुल्ला दिशा नै गर्दथे । ठूलो टोलछिमेक भएका कारण लुकीछिपी दिशापिशाव गर्नुपर्ने स्थिति थियो । हाम्रो टोलबाटै तलमाथि जाने मुल बाटो थियो । सवै मानिसहरु त्यही बाटो प्रयोग गर्दथे । प्रायः बाटो छेउमा कतै खुल्ला दिशा हुन्थ्यो भने कतै दिशालाई माटोले छोपिएको हुन्थ्यो । 

हामी टोलछिमेकीका दाजुभाई र दिदीबहिनीहरु स–साना थियौं । विद्यालयमा सरहरुले गाली गर्थे । प्राय  गाँउमा खुल्ला दिशा नै हुन्थ्यो ।  मुलबाटो  त्यही हुँदा  खुल्ला दिशा बढि भेटिन्थ्यो । नाक, मुख हातले छोपेर जानु पर्दथ्यो ।  जव हामी कक्षा ६–७ मा पुग्यौ हामीलाइ केही चेतना आइसकेको थियो । त्यसपछि हामीहरु मिलेर आगन सरसफाई, बाटो सरसफाई, बाटोमा भएको सिस्नो र झाडीहरु सफा गर्न समय तालिका नै मिलाएर सरसफाई अभियानमा जुटी रहन्थ्यौं  । ठुलै टोल थियो हामी बाटोका खाल्डाखुल्डीहरु पुरेर बाटोलाई सम्याउने काम समेत गरेर चिटिक्क पार्ने गर्दथ्यौं । 

गाईबस्तुलाई पानी पिउनका लागि  धारा नजिकै राम्रो अनि ठुलो खाल्डा बनाएर पानी पिलाउने गर्दथ्यांै । हाम्रा टोलमा स–साना पाटी पौवाहरु थिए । समय तालिका बनाएर हामीहरु सरसफाई गर्दथ्यौं । यस्तै क्रियाकलापले हामीलाई थप हौसल्ला मिल्दै गर्दा ठाउँ–ठाउमा गाइबस्तुका लागि पानी पिउन खाल्डाहरु खन्ने गर्दथ्यौं । हाम्रो गाँउमा पानीको समस्या नै थियो । टाढाबाट पानीको पाइप ल्याइएको थियो । त्यो धेरै विग्रीरहन्थ्यो, टुटफुट भैरहन्थ्यो । समुहमा नै मिलेर हप्तौसम्म पानी पुर्‍याउन परिश्रम गर्नुपर्ने हुन्थ्यो । 

सबै अग्रजहरु सहयोगी हुँदा हामी पनि त्यही लयमा थियौं । त्यो समय हाम्रो गाँउ विकास समितिमा ३  प्राथमिक र १  निम्न माध्यमिक विद्यालय थिए । सवै विद्यालयहरुमा भौतिक संरचना, खेल्ने र प्राथना गर्ने चौर, बस्ने बेन्चडेक्सको समेत अभाव हुन्थ्यो । हामी विद्यार्थीहरु पनि कहिले बेन्च बनाउनका लागि काठ ओसाथ्र्यौ भने कहिले टाढाबाट बाुलुवा सिमेन्ट बोक्ने गर्दथ्र्यौ । हाम्रा अग्रजहरु पनि प्राय विद्यालय, मठ मन्दिर, धारा पधेराहरुमा सधैं श्रमदान नै गरिरहन्थे । त्यहाँ श्रमदान गर्न पनि प्रतिष्पर्धा नै हुन्थ्यो ।  विद्यालयका लागि निजी श्रोतका शिक्षकहरुको तलबका लागि गाँउ घुमेर आर्थिक सहयोग जुटाइने गर्दथ्यो ।  यति मात्र होइन विद्यालय, स्वास्थ्य चौकी,  मठ मन्दिर लगायतका सार्वजनिक संस्थाहरुमा जग्गादान गर्नेहरुको समेत प्रतिष्पर्दा नै हुन्थ्यो । हाम्रो गाँउको फेदमा सुर्नया नदि छ । त्यस नदिबाट सिंचाइ गर्न  सिचाइ कुलोहरु निर्माण गरिएका छन् । सिंचाई कुलो प्राय भत्कने भएकाले करिब ३ घण्टाको ओहोरदोहोर बाटो गरेर  श्रमदान गर्ने गर्दथे । एकआपसमा मेलमिलाप र अत्यन्तै भातृत्व भेटिन्थ्यो  ।  

हामी केटाकेटी हुँदासम्म गाउँमा धेरै सामाजिक काम हुन्थे । त्यसमा कतैबाट पैसा आएको हुन्न थियो । गाउँलेहरु आफै मिलेर श्रमदान गर्दथे । कुनै सामान किन्न पर्यो भने घरैपिच्छे पैसा उठाएर किन्थे र सामाजिक काम गर्दथे । हुनेले पैसा दिन्थे, नहुनेले अन्न दिन्थे । त्यो पनि नसक्नेले श्रमदान गरेर योगदान गर्दथे । गाउँमा चौर तथा बाटो छेउमा बर, पिपल, स्वामीका विरुवाहरु रोपेर हुर्काउने । ती रुखहरुमा चौतारो बनाउने काम हुन्थे । बोटामा भारी बिसाउने ठाउँहरुमा देउराली र बिसौनाहरु बनाइन्थे । ती कुनै पनि काममा न सरकारलाई गुहारिन्थ्यो न कुनै दातृ संस्थाको नै खोजि गरिन्थ्यो । अपनत्वको भावनाले आफ्ना काम आफै गर्दथे ।
 अहिले परिस्थिति फेरिएको छ । स–साना पाटी पौवा, घरका आगन, विद्यालयका चौर, प्रतिक्षालय, बरपिपलको  चौतारो, बाटो खाल्डाखुल्डी निर्माण, बिसौनाहरुमा सरकारको लगानी तथा अनुदानमा हुने गर्दछन् । घर आगन समेत बनाउन सरकारको मुख ताक्ने प्रवृतिको विकास भएको देखिन्छ ।  हामी यति परनिर्भर र द्रव्य पिपासु भयौकी आफ्नै घरको काममा पनि भ्रष्टाचार गर्न लाग्यौँ । सरकारले बलियो घर बनाउन दिएको अनुदान रकममा पनि हामी भ्रष्टाचार गर्न पछि हटेनौँ ।  

त्यतीमात्र हैन, मन्दिर बनाउन सरकारसँग पैसा मागेर मन्दिर बनाउँदा समेत भ्रष्टाचार गर्न पछि हट्दैनौँ । खानेपानीका मुहान मर्मत गर्न आएको पैसाबाट नाफा निकालेर पेट भर्दा पनि पापको भय राख्दैनौँ ।  घरमाथिबाट भल पसेर घर पुर्न लाग्दा पनि हामी त्यो भल आफू काट्न तयार छैनौँ । त्यसको लागि सहयोग गर्ने निकाय वडा कार्यालय हो कि पालिका हो खोज्दै हिँड्छौँ । निवेदन लेखाइ माग्न मान्छे खोज्दै हिड्छौं । जताजता मिल्छ, त्यतै निवेदन तेर्स्याउँछौँ । सडकमा देखिएको ढुंगो छेउमा राख्न दाता चाहिएको छ । आफ्नै बारीमा बिरुवा रोप्न दाता चाहिएको छ । आफ्नो खेतमा पानी ल्याउने कुलो बनाउन दाता चाहिएको छ । चौतारो बनाउन दाता, मन्दिर बनाउन दाता, धाराको मुहान सफा गर्न दाता, आफ्नै गाईगोठ बनाउन दाता, बाख्राको खोर बनाउन दाता,  भकारो बनाउन दाता, खेतका गरा बनाउन दाता । यो भिकारी प्रबृतिले  घर आगन बनाउन पनि पैंसा कुम्ल्याउने परम्पराको विकास भएको छ । त्यो घर आगन बनाउने योजनाहरु पनि मन्त्रालयबाट र स्थानीय तहबाट कमिशनमा खरिद विक्रि हुने गर्दछन् ।

 अहिले गाउँगाउँमा बन्ने उपभोक्ता समितिमा बस्न तँछाड मछाड हुन्छ । समिति बनाउन रडाको चल्छ । उपभोक्ता समितिमा बस्न ठूला राजनीतिक दलकै आशिर्वाद पाउनु पर्छ । राज्यले दिएको योजनाहरुको उपभोक्ता समितिमा बस्नु भनेको कामलाई राम्रोसँग सम्पन्न गराई समाज सेवा गर्नु हो । स्वयमसेवी रुपमा खटेर काम राम्रो गराउनु हो । तर त्यहाँ बसेपछि योजनामा आएको पैसा खेलाउन पाइन्छ ।  केही न केही पैसा त पक्कै लप्काउन पाइन्छ भनेर उपभोक्ता समितिमा बस्न तँछाड–मछाड र कतिपय ठाउँमा त कुटाकुट नै हुन्छ । विद्यालय व्यवस्थापन समिति बनाउन पार्टीगत र गुटगत उम्मेदवारी हुन्छ । धेरैमा मतदान नै हुन्छ । अन्तिममा यो पार्टी त्यो पार्टीको विजय भनेर अनुहार पुस्तिका भरिन्छन् ।  हामी यति धेरै परनिर्भर बन्दै गयौ कि हामीलाई हरेक कुरामा अनुदान र सहयोग चाहिने भयो । संकटको बेलामा समेत घरभरि अन्न थुपारेर खान पाइनँ भनेर रोईकराई गरेर हिँड्न सक्ने निर्लज्ज भयौँ । घरभरी खानेकुरा हुँदाहुँदै कसले कहाँ राहात बाड्छ भनेर दिनभरि घरको काम बिताएर राहत खोज्न भौतारिने बन्यौँ । बारीमा पाकेको बाली सडाएर राहतमा आएका सडेका चामल, दाल थाप्दै हिँड्ने भिकारी भयौँ । आफू सम्पन्न हुँदाहुँदै भिक  मगुवा आचारणहीन बन्यौँ । २५ बर्षको पुरानो कहानी र अहिलेका कहानीमा यस्तै प्रवृत्तिको तुलना देख्न पाइयो । पहिले आफ्नो समाजका सवै कार्यहरु अपनत्वको भावनाले बलिया र दिर्घकालिन हुन्थे  र आपसमा भातृत्व भेटिन्थ्यो । अहिले भने  टोल छिमेकका साना कामहरुमा योजना खरिद बिक्रि गर्नुपर्ने, उपभोक्ता समितिको अध्यक्ष हुनु राजनीतिक आर्शिवाद लिनु पर्ने, चौतरा तथा मुहान सफाई समेतमा भ्रष्टाचार गर्नुपर्ने खराब प्रविृतको विकास भएको छ । यसले न त भातृत्व रहन्छ न त योजना नै राम्रो बन्छ । यस्तो परम्पराले हाम्रा सवै सामाजिक संरचनाहरु कमजोर बन्दै गए । अर्थ खर्च मात्र भयो उत्पादन हुन सकेन । हामीले देश बलियो खोज्यौ तर,  हाम्रा काम परनिर्भर भए, हाम्रा अभिभावक भनाउदा नेताहरु आर्शीवादी भए,  देश पनि परनिर्भर भयो । तसर्थ समाज संग लिन मात्र हैन समाजलाई दिन पनि सिकौं । यसमा सवैको भलो छ । यसैमा मातृभुमिको रक्षा हुनेछ  । सवै उठौं, सवै जागौं । 

(लेखक नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता हुन)

नयाँ