arrow

हरियालीको जिल्ला इलाममा नै खानेपानीको हाहाकार

तीन वटै नगरपालिकाहरु लगायत अधिकाशं गाबिसमा चरम अभाव

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
water-scarciti.jpg.jpeg

 

इलाम । लामो समयदेखि पानी नपरी मुहान सुकेको तथा बजारी क्षेत्रमा जनसंख्या बढेको कारण इलामको तीन वटै ( इलाम, सूर्योदय, देउमाई) नगरपालिका लगायत अधिकाशं गाबिसमा खानेपानीको हाहाकार मच्चिएको छ ।

 विभिन्न स्थानमा खानेपानीको हाहाकार हुन थाले पछि कर्मचारी, बिद्यार्थी ब्यापारी र सर्वसाधारणले पानीको लागि घन्टौ लाइनमा बस्नु परेका कारण दैनिकी कष्टकर बन्न थालेको उनीहरुले दुखेसो पोखेका छन । पानीको अभाव भएपछि मानव वस्ती, पशु चौपाया र खेतीपातीमा प्रत्यक्ष असर पर्न थालेको बताउछन । पानीको अभाव भए पछि पानी कै निहुँमा झगडा र नकारात्मक क्रियाकलाप पनि हुने गरेको स्थानीयहरु बताए ।

इलाम सदरमुकाममा यो सिजनमा मात्र हैन १२ महिना नै पानीको अभाव भइरहेको छ । यहाँ माग भन्दा कम पानी आएका कारण समस्या भएको हो । इलाम नगरपालिकामा जिल्लाको उत्तरी गाविस माइमझुवाबाट पानी इलाम सदरमुकाममा ल्याइएको छ । तर माग बमोजिम पानी आउन सकेको छैन । 

जिल्लाको देउमाई नगरपालिका,  सुर्योदय नगरपालिका , लगायत बिभिन्न गाउँ र वस्तीमा पानीको चरम अभाव भएको छ । पानी नहुँदा विशेष गरी कोठा बस्ने बिद्यार्थीलाई अझ बढी समस्या हुने गरेको उनीहरुको भनाई छ ।

पानी अभावले समस्या भएको इलाम सोयाङका ओमकार चापागाइँ वताउँछन् । उनले भने ‘परिक्षा आइसक्यो पानी बोक्नु कि पढ्नु,  समस्या भयो । ’ उनी इलाम सदरमुकाममा बसेर कक्षा ११ को परिक्षा दिने तयारी गरिरहेका छन् ।

 उता देउमाई नगरपालिकाको मंगलबारे वजारमा समेत पानीको अभावले स्थानीयले सास्ती बेहोर्नु परेको स्थानीय धिरेन श्रेष्ठ वताउँछन् । उनी यस्तो समस्याबारे सम्वन्धित निकाय बेखवर रहेको वताउँछन् । बिशेष गरी गाउँमा भन्दा वजार क्षेत्रमा पानीको हाहाकार वढेको छ ।

देउमाई नगरपालिकामा खानेपानी आर्पुति दुई वटा मुहानबाट हुँदै आएको छ । नगरपालिका २ मा रहेको लुतीमाई र देउमाई खोपको मुहानबाट बजारमा पानीको व्यवस्था हुदै आए पनि लुतीमाईको पानी सुकेको तथा देउमाई खोपको पानी अन्य क्षेत्रमा समेत बाडेका कारण लक्ष्य अनुसार  आउन नसकेकोले चरम अभाव भएको स्थानीयहरु बताउदछन् । यसै गरी प्रति दिन डेढ लाख लिटर पानी आउनु पर्नेमा अहिले प्रति दिन मुस्किलले ५० हजार लिटर मात्र पानी टेङ्कीमा खस्ने गरेको छ । आवश्यकता भन्दा यो परिमाण अत्यन्तै न्यून रहेको स्थानीयले बताउने गरेका छन् ।

गाउँमा पनि पानी पर्याप्त नहुँदा सिंचाइमा समस्या भएको छ । किसानले लगाएको अन्न तथा तरकारी वाली सुक्न थालेको छ । पानी अभावका कारण आम्दानी भन्दा पनि विउको दाम नै उठाउन हम्ये हुने अवस्था भएको उनीहरु बताउँछन् ।

बैकल्पिक श्रोतको खोजी गरेर भएपनि तत्काल पानी ल्याइनुपर्ने स्थानीयको माग छ ।

उता जिर्मलेको १ देखि ३ नम्बर बाहेक ६ नम्बर वडासम्म पानीको अभाव छ । त्यहाँका बासिन्दाले मुहानको रुपमा प्रयोग गर्दै आएको सुर्योदय नगरपालिका १३ तारगाउँको पानीको मुहान स्थानीय सिंहदेबी सामुदायिक वनले रोक्ने आशयको पत्र पठाए पछि यतिबेला जिर्मलेमा पानीको अभाव सिर्जना भएको छ ।

जिर्मले गाबिसको १, २, ४, ५ र ६ नम्बर वडाका उपभोक्ताले उपभोग गर्दै आएको खानेपानीको मुहान सुर्योदय नगरपालिका अन्तरगत पर्ने सिंहदेबी सामुदायिक वन समुहको क्षेत्रमा पर्दछ । सामुदायिक वनले जिर्मले खानेपानी उपभोक्ता समितिलाई प्रत्येक उपभोक्ताबाट १ हजारका दरले रकम उठाइ सामुदायिक बनलाई तिर्नुपर्ने अन्यथा मुहान रोक्ने जनाई पत्र पठाए पछि जिर्मलेबासी आतंकित भएका हुन् । २०४१ सालबाट जिर्मलेबासीले उपभोग गर्दै आएको सो पानीको अहिले आएर रकम माग गरेपछि समस्या भएको जिर्मले खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यालय सचिव याम अधिकारीले बताए ।

उपभोक्ता समितिसँग सामान्य मर्मत गर्ने बाहेको कुनै कोष नभएको र ज्याला मजदुरी गरेर छाक टार्ने कति उपभोक्ताहरुले रकम तिर्न नसक्ने कार्यालय सचिब अधिकारी बताउछन् । प्रहरी चौकी, बिद्यालयका बिद्यार्थीले समेत त्यही पानी उपभोग गर्ने गर्दछन् । एक सय ४५ घरका करिव ९ सय उपभोक्ता र जिर्मले प्रहरी चौकी र बिद्यालयका बिद्यार्थीले समेत त्यही पानी उपभोग गर्दै आएका छन् । जिर्मलेका उपभोक्ताहरुले पानीको समस्या समाधान गरि दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला विकास समिति इलामसँग अनुरोध गरेका छन् ।

उता सिंहदेबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ठाकुर गड्तौला पानीको मुहान संरक्षण नभए पानी सुक्ने भएकाले संरक्षणका लागि रकम माग गरेको बताउछन् । वन क्षेत्रमा आम्दानीको श्रोत केही नभएकोले समुहको आम्दानीको रुपमा रकम माग गरिएको अध्यक्ष गड्तौलाको भनाइ रहेको छ । सुरुमा प्रत्येक उपभोक्ताबाट १ हजारका दरले रकम माग गरिएको र सो रकम बाट बनको कार्ययोजना बनाई मुहान संरक्षणका कार्यहरु सुरु हुने उनले बताए । करिव २ सय घर उपभोक्ता रहेको सामुदायिक बन १ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बन क्षेत्रमा सिंगै जिर्मले गाबिसलाई पुग्नेगरीको पानीको मुहान भएकाले त्यसको संरक्षण गर्न समितिको निर्णय बमोजिम रकम माग गरिएको उनले दाबी गरेका छन् । बन संरक्षणका लागि कपासे क्यामुना मौवा मलाता बेपारी आदि जातका बिरुवा रोप्ने कार्यक्रम रहेको अध्यक्ष गड्तौलाले बताए ।

उता जिर्मले खानेपानी तथा सरसफाई समितिका कार्यालय सचिब याम अधिकारी भने आफुहरुले केही रकम तिर्न तयार भए पनि उपभोक्ताले निकान्न नसक्ने गरी बनले रकम माग गरेको बताउछन् । सामुदायिक बन र खानेपानीको समस्या समाधान गर्न जिल्ला बन कार्यालय इलामले बन उपभोक्ता समितिलाई पत्र पठाएको छ । बनको पत्रमा कुन उद्देश्यले के प्रयोजनको लागि रकम माग गरिएको २ दिन भित्रमा जानकारी गराउन भनी उल्लेख भएको छ । तर बन समूहका अध्यक्ष गड्तौलाले पत्र प्राप्त नभएको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ