arrow

भारतमा ‘अम्फान’ आँधीको उच्च सतर्कता, उद्धारकार्य सुरु

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ७ बुधबार
cyclone-chakrawat.jpg

भुवनेश्वर । भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँ उच्च सतर्कता अपनाइएको छ । विशेषगरी यहाँको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ ।  

विशेषगरी आज बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो । भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका छन् । 

भारत सरकारका निकायहरुले नागरिकलाई सुरक्षित रहन र आँधीबाट बच्न सार्वजनिक सञ्चारमाध्यमहरुबाट सूचना प्रकाशन तथा प्रसारण गरेका छन् । 

यस आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका विभिन्न स्थानबाट उद्धार पनि थालिएकोे बताइएको छ । उक्त राज्यका विभिन्न स्थानबाट बुधबार मात्र अधिकारीहरुले करिब डेढ लाख मानिसको उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै खतरा आउनसक्ने पूर्वानुमान गरिएको बताइएको छ । त्यसैले सो क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । 

अम्फान आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको पनि बताइएको छ । यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा रहेको अनुमान यहाँका मौसमविद्हरुले गरेका छन् । 

बुधबार साँझसम्म यो आँधी पश्चिम बंगालमा आइपुग्ने खतरा देखिएको बताइएको छ । यस क्षेत्रमा आज अपरान्हदेखिको ६ देखि ८ घण्टाको समय निकै चुनौतीपूर्ण रहने बताइएको छ । 

भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ