- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि घोषणा गरिएको लकडाउनले विश्वमा आर्थिक संकट निम्त्याउदै छ । सामान्यतया आर्थिक संकट भन्नाले अर्थ व्यवस्थाको क्रियाकलापहरु घट्दै जानु भन्ने बुझिन्छ । विश्वका ठूला अर्थतन्त्र धानेका देशहरु अमेरिका, बेलायत, जापान चीन तथा युरोपियन देशहरु संकटमा पर्दैछन् ।
विश्व बजारमा यातायातको गतिविधिमा निक्कै कमि आएको हुनाले तेलको माग न्यून भएको छ । यसले गर्दा कच्चा तेलको मूल्यमा कयौं वर्षयता फेरि गिरावट आएको छ । त्यसैगरी अमेरिकी डलर र सुनको मूल्य भने आकासिदै गएको छ । मानविय उपभोग खर्च घटेको हुनाले सबै भन्दा ठूलो आर्थिक मन्दी छाएको छ ।
कोरोना संक्रमणले संसारभर उद्योग, कलकारखाना बन्द भएका कारण रोजगारीका अवसरहरु घटेका छन् । रोजगारी पाएकाहरुको पनि पाउने तलवमा कटौती भएको छ । यस परिस्थितिले नेपाल जस्तो देशलाई ठूलो आर्थिक चुनौती सृजना गर्दैछ । यहाँका अधिकांश युवाहरु वैदेशीक रोजगारमा संलग्न थिए । विदेशमा रोजगारी गुमेको कारण सबै युवाहरु आफ्नो देश फर्कन बाध्य छन् । रोजगारी गुमाएकालाई हाम्रो देश नेपालमा व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण विषय बन्दै छ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्स र पर्यटनको बढी भूमिका छ । तर यी क्षेत्रमा कोरोनाको प्रभावले हाम्रो अर्थतन्त्र शिथिल भएको छ। नेपालमा लगभग पचास प्रतिशत रेमिट्यान्स खाडी मुलुकबाट भित्रने गरेको थियो। यि बाहेक अमेरिका, जापान, अष्ट्रेलिया, साउथ कोरीया आदि नेपालमा रेमिट्यान्स प्रदान गर्ने देशहरु हुन्। सबै देशहरु कोरोनाले गर्दा आक्रान्त भएका छन् र नेपालीहरुको रोजगारी गुमेको छ। यसले नेपालको रेमिट्यान्समा ठूलो धक्का लागेको छ।
पर्यटन उद्योग नेपालको सबैभन्दा बढी लगानी भएको उद्योग हो । यसले नेपालको अर्थतन्त्रमा मेरुदण्डको रुपमा काम गरेको थियो । कोरोनाको कहरले गर्दा नेपाल भ्रमण वर्ष २०२० रद्द भएको छ । लकडाउन र सामाजिक दुरी कायम राख्नु पर्ने समयमा मानिस घुमफिरमा निस्कन सक्ने अवस्था नै छैन । हवाई उडानहरु बन्द भएका कारण पर्यटक भित्रिएका छैनन् । अर्कोतिर जो पर्यटक भएर नेपाल आउथे ति मानिसहरु नै बेरोजगार हुने अवस्था छ । पर्यटकहरु भित्रन नपाउदा हवाई उडान, होटल तथा रेष्टुरेण्ट, यातायात, कृषि तथा अन्य व्यवसायी, बैंङ्क तथा वित्तिय संस्था सबैको आयमा असर परिरहेको छ।
नेपाल कृषिप्रधान देश भएकाले यहाँका अधिकांश मानिस कृषिमा निर्भर छन् । अनाज तथा नगदेवाली, पशुपालन, तरकारी खेती, फलफुल खेती, माछा पालन तथा मौरिपालन जस्ता व्यवसायहरुमा संलग्न नेपालीहरुमा यस वर्ष कोरोनाले ठूलो क्षती पुर्याएको छ। एकातिर विऊको अभाव, मलको संकट र महामारीको त्रासले समयमा बालि लगाउन नपाउने अवस्था छ। अर्कोतर्फ यसले गर्दा उत्पादनमा कमि आउदैछ । साथै उत्पादित वस्तुले बजार नपाउदाको अर्को पीडा किसानहरुले भोगिरहेका छन् । दुग्ध उत्पादकले सडकमा दुध फाल्नु परेको छ र नोक्सानी बेहोर्नु परेको छ । पोल्ट्री व्यवसायिहरु थलिएका छन् । अण्डाहरुको उत्पादन धेरै र माग थोरै भएका कारण सस्तोमा बेच्न बाध्य भएका छन् । यसले गर्दा आमकिसान व्यवसायीहरुमा नैराश्यता पैदा भएको छ।
अहिलेको यो कोरोना महामारी र लकडाउनको अवस्थामा खाने कुरा र औषधी बाहेक सबै पसल बन्द छन् । व्यापार व्यवसाय, बैङ्क तथा वित्तिय क्षेत्र, यातायात सबै ठप्प छन्। देशमा संचालन भइरहेका विकास निर्माणका काम अबरुद्ध छन् । यसले निर्माणका क्षेत्रमा निर्भर दैनिक ज्यालादारी गर्ने मजदुर अत्याधिक जोखिममा परेका छन् । कोरोनाका संक्रमण रोक्नका लागि प्रयोग गरिएका व्यक्तिगत सुरक्षण सामग्रीहरु, दैनिक उपभोग्य सामग्रीहरु र अन्य सेवाको कारोवारमा मन्दीको अवस्था छ।
नेपालका शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द छन् । २०७६ चैत्र ६ गतेदेखि हुने भनिएको एसईईको परिक्षा र २०७७ बैशाख महिनामा हुने भनिएको कक्षा १२ र ११को परिक्षा अर्को सूचना नआएसम्मको लागि स्थगीत गरिएको छ। विद्यार्थीहरु आफ्नो शैक्षिक भविष्य के हुने हो भन्ने कुराले अन्यौलमा परेका छन्। अरुतहका विद्यार्थीहरु अनलाईन मार्फत पढिरहेका छन् । इन्टरनेटको सहज पहुँच नभएको ठाउँमा कतिपय विद्यार्थीहरुले पढ्न पाएका छैनन् । शिक्षा क्षेत्रमा परेको नकारात्मक असर वा प्रभावले विद्यार्थीहरुको भविष्य मात्र नभई सिङ्गो समाज र राष्ट्रको अर्थतन्त्रलाई नै दीर्घकालिन रुपमा बाधा पुर्याउदै छ।
गत डिसेम्बरमा चाइनाको उहान शहरबाट सुरुभई विश्वमा फैलिएको कोरोना भाइरसले सबैतिर भयावह अवस्था सृजना गरेको छ । यसको फैलिने क्रम जारी छ । यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनु पर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार, विधि कहिले पत्ता लाग्ने जस्ता कुराहरु भन्न सक्ने अवस्था छैन । हाल यो रोग केही हदसम्म नियन्त्रण गर्नका लागि अर्थात् एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनका लागि अस्थायी समाधान भनेको विश्वव्यापी रुपमा लकडाउन नै देखिएको छ । विश्वका धेरैजसो मुलुकहरुले लकडाउनको सामना गरिरहेका छन् । विकसित मुलुकहरुले यो रोगको उपचार गर्नका लागि भ्याक्सीन तयार गरी परिक्षण गर्न लागि परेका छन् भने कतिपय मुलुकले परिक्षण समेत गरिसकेका छन् । तर यसको प्रभावकारी असरको पुष्टि भइसकेको छैन । भ्याक्सीन पत्ता लागेपछि पनि सबै सामु पुग्न धेरै समय लाग्छ । जुन देशबाट यो भाइरसलाई समाप्त गर्न सक्ने भ्याक्सिनको आविस्कार र हुन्छ त्यो राष्ट्रले विश्व अर्थतन्त्रको अगुवाई गर्ने निश्चितता देखिन्छ ।
प्राकृतिक रुपले हेर्दा विश्वको कूल जनसंख्याको ८० प्रतिशत संक्रमित भएपछि मात्र यो भाइरस नियन्त्रणमा आउने विभिन्न स्रोतहरुले आफ्नो अनुसन्धान मार्फत अनुमान गरेका छन् । विश्वमा अहिलेको अवस्था नियाल्दा यो कुरा तर्फ अग्रसर हुदै गरेको देखिन्छ । विश्वको तथ्याङ्क अनुसार अहिले यो भाइरसले तिव्रगतिमा संख्या वृद्धि गरेको छ । धेरैले ज्यान गुमाउन विवस भइरहेका छन् । कतिपयले यो रोगलाई जितेर सन्चो भएका पनि छन् । वर्तमान स्थिति हेर्दा भयावह नै देखिन्छ । त्यसैले मानविय क्षतीलाई मध्यनजर गर्दै आर्थिक क्षती उकास्न सक्नु पनि चुनौती पूर्ण विषय बनेको छ ।
विश्व अर्थतन्त्र अनुमान नै लगाउन नसक्नेगरी भयानक क्षतीको संघारमा पुगिसकेको अवस्था छ । कोरोनाले हाम्रो आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेर हामीलाई विकासका दृष्टिले धेरै पछाडि धकेल्ने संकेत देखाएको छ । अहिलेको महामारीलाई नियन्त्रणगरी मानिसको जीवन बचाउने मात्र नभइ हाम्रो देशलाई आर्थिक संकटबाट बचाउन राज्यले नीतिगत उपायहरु अबलम्बन गर्नु आवश्यक भएको छ । साथै राजनीतिक दल, विज्ञ, विशेषज्ञ, अर्थविद् लगायत समस्त सरोकारवालाहरु मिलेर उपायबारे चिन्तन मनन गरेर नीति बनाउनु अहिलेको मूख्य आवश्यकता बनेको छ ।
देशको अर्थतन्त्रमा देखिएका समस्याहरु जस्तै माग र आपूर्तिमा गिरावट भइ अर्थतन्त्र खस्किदै जाने, बेरोजगारी बढ्ने, गरिविको समस्या बढ्ने, राहतको नाममा भ्रष्टाचार बढ्ने इत्यादि छन् । यो अवस्थामा सरकार र जनता मिलेर देशको अर्थतन्त्र उकास्न लाग्नु पर्ने हुन्छ । सरकारले ज्याला मजदुरी गर्न नपाएका सबै कामदार जनतालाई राहतको प्याकेज घोषणा गर्नाले वर्तमान स्थितिमा सहयोग पुग्दछ । त्यसैगरी वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा गएका युवाहरु अहिले कोरोनाको कहरले स्वदेश फर्किएका छन् । उनीहरुले धेरै सिप सिकेर आएका छन् । त्यो सिप हाम्रै मातृभूमिमा विभिन्न क्षेत्रमा परिचालन गरी स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्नुपर्ने देखिन्छ । हाम्रो जस्तो कृषिमा निर्भर देशमा अहिले सक्रिय जनशक्तिको अभावमा खेतियोग्य जमिन बाझिन पुगेको अवस्था छ । यो समयमा सरकारले कृषिक्षेत्रसँग सम्बन्धीत दीर्घकालीन नीतिगत उपायहरु अबलम्बन गर्नु पर्दछ । हामीले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नु पर्दछ।
अतः यि उपायहरु अपनाउनाले देशको अर्थतन्त्रमा देखिएका समस्याहरु केही हदसम्म निर्मूल भई देशको अर्थतन्त्र उकास्नमा मद्दत पुर्याउँछ।