arrow

गाउँपालिका नागरिकको परिक्षण गराउन कुरिरह्यो, बाटो खराब भएको बहानामा आएनन स्वास्थ्यकर्मी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ११ आइतबार
rdt-test-khotang-diprung.gif

खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोरोना भाइरसको आरडीटी परीक्षण गरिदिन आग्रह गर्दा जिल्ला अस्पतालले टोली नपठाइ असहयोग गरेको छ।

गाउँपालिकाले आफ्नै लगानीमा आरडीटी खरिद गरि परीक्षणका लागि पटक–पटक आग्रह गर्दा समेत अस्पतालले वेवास्ता गरि डाक्टरसहितको टोली नपठाई असहयोग गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सवै संयन्त्र चुस्तदुरुस्त भएर लाग्नुपर्ने अवस्थामा जिल्ला अस्पतालले भने वर्षा र हिलाम्य सडकको वहाना देखाएर परिक्षण गर्न आउन आनाकानी गरेको हो। 

जिल्ला अस्पतालका कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले स्वास्थ्यकर्मीको टोली पठाएको तर, आदिबाटोबाट फर्किएको बताए । 

पैदल हिड्दा समेत ४ घण्टामा पुग्न सकिने ठाउँमा अस्पतालको टोली भने बाटो हिलो भयो भनेर फर्किएको हो। वर्षायाममा जिल्लाका अधिंकाश कच्ची सडक अवरुद्ध हुन्छन् । ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल शर्माले डाक्टरसहितको टोली पठाउन अन्तिमसम्म तयारी गरिएको तर, गाडी जाने परिस्थिति नभएका कारण टोलि पठाउन नसकिएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक ववी चाम्लिङले भने, ‘जिल्ला स्वास्थ्य र जनस्वास्थ्यसँग गाडी पनि छैन, तथापि हामीले गाडीको व्यवस्था गरेर डाक्टरसहितको टोली पठाएका हौँ । बीचबाटोमा पुगेर उहाँहरु फर्किनुभयो । वर्षात्को कारणले बाटो हिलाम्य भएकोले डाक्टर पठाउन नसकिएको राईको भनाई छ ।

जिल्ला अस्पतालले डाक्टरसहितको टोली नपठाएपछि गाउँपालिकाले गाउँपालिकाकै अहेवको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरि स्थानीयको आरडीटी परीक्षण गरेको छ ।

काठमाडौं तथा उदयपुरको गाईघाटबाट आएका १३७ जनाको आईतबार आरडीटी परीक्षण गरिएको हो । उनीहरु सवैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिन तथा होम क्वारेन्टिनमा रहेका ओख्रेडाँडागाउँका ६६ जना र स्वास्थ्य चौकी छोरम्बुबाट ७१ जनाको आरडीटी परीक्षण गरिएको हो । आफ्नै स्वास्थ्यकर्मी प्रयोग गरि आरडिटि परीक्षण गर्ने यो पहिलो गाउँपालिका हो ।

अस्पतालले आरडीटी परीक्षणका लागि डाक्टर पठाउने भनेपछि हामीले त्यहि अनुसार मानिसलाई बोलायौं । तर, सडकको दुरावस्थाको वहानामा उहाँहरु आउनु भएन । मैले पटक–पटक आइदिन आग्रह गरेँ । गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले भने।

राईले भने, ‘यो महामारीको वेला अस्पतालले विभिन्न वहानामा डाक्टर नपठाउनु गैरजिम्मेवारपन हो । गाडी र सुविधा खोजेर नागरिकको स्वास्थ्यमाथी राज्यको संयन्त्रले काम नगर्नु चरम लापरवाहीको पराकाष्ट हो ।’

हामीले जिल्ला अस्पतालबाट तपाईँहरुको आरडिटि परीक्षणका लागि डाक्टर आउछन् भनेर सवैलाई बोलायौँ, तर अन्त्यमा डाक्टर नआएपछि गाउँपालिकाकै स्वास्थ्यकर्मीद्धारा आरडिटि परीक्षण गराएका हौँ, राईले भने ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्न जिल्लाका १० वटै स्थानीय तह अहोरात्र खटिएका छन् । तर जिल्ला अस्पतालले उनीहरुलाई सहयोग गर्नुपर्ने अवस्थामा खाना, खाजा, सवारी र सुविधाको बढी माग गर्ने गरेको स्थानिय तहका पदाधिकारीहरुले गुनासो गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ