arrow

भारतमा उच्च गतिमा कोरोना संक्रमित थपिँदै, पुगे एक लाख ४५ हजार

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
corona-india5.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या उच्च गतिमा बढिरहेको छ । करीब एक हप्तादेखि दैनिक ६ हजारको औसतमा संक्रमित हुनेको संख्या थपिँदै गएको छ । 

मंगलबार बिहानसम्म संक्रमितको संख्या १ लाख ४४ हजार ९५० रहेको छ । सोमबार यो संख्या १ लाख ३८ हजार  ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको थियो ।  

आइतबार मात्रै सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका थिए । 

अहिलेसम्म ४ हजार १७२ जनाको ज्यान गएको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६० हजार ७०६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

हाल भारतमा ८० हजार ६१ जना कोरोना संक्रमित उपचाररत रहेको समाचारमा जनाइएको छ । 

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र ५२ हजार ६६७ जना संक्रमित रहेका छन् । मृतकको संख्या १ हजार ६९५ रहेको छ । 

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । मृतक ११९ रहेका छन् । 

तेस्रो स्थानको गुजरातमा १४ हजार ४६८ संक्रमति रहेका छन्  । मृतक ८८८ पुगेका छन् । 

चौथो स्थानको दिल्लीमा १४ हजार ५३ जना कोरोना संक्रमित रहेका छन् । मृतक २७६ पुगेका छन् । 

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।  

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  

भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ