arrow

श्रद्धापूर्वक छठ मनाइँदै

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1833288237.jpeg
जनकपुर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । 
 
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ । ज्योतिषशास्त्रअनुसार, छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायणतिर भएकाले कन्या राशिस्थित हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर, प्रभावकारी र मानवका लागि आहलादकारी हुन्छ । 
 
छठ शब्द षष्ठी शब्दको तद्भव रुप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुँदै अपभ्रंशमा षष्ठी छठ हुन गएको मानिन्छ । 
 
धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी, सूर्यषष्ठी व्रत र छठी पर्व भनी उल्लेख रहेको छ । षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैठौँ अंश र देवसेना पनि भनिन्छ । 
 
षष्ठी र सूर्य गरी सात अंश बनेको हुँदा मानव जीवनमा सात अङ्गको अधिक महत्व रहेको छ । साक्षात् नारायणका रुपमा सूर्यदेवलाई मान्ने गरिएकाले यो पर्व जनव्रतको रुप लिइसकेकाले परम्परागत नरहेका मानिसले पनि उत्साहका साथ मनाउन थालेका छन् । 
 
उता, सप्तरीस्थित सप्तकोसी व्यारेजसहितका पोखरी र जलाशयहरुमा पनि छठको भव्य तयारी भएको छ । सदरमुकाम राजविराजस्थित भगवती, कल्टुदास, तुरन्ती लगायतका पोखरीमा छठको रमझम छाएको छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदैछ ।  काठमाडौंमा रानीपोखरी, कमलपोखरी, गौरीघाट, टेकु दोभानलगायतका स्थानमा छठ मनाईंदैछ । 
 
आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ । यस्तै, महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन समेत छ । 
 
छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले  सार्वजनिक बिदा पनि दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ