arrow

उदयपुरमा ८० प्रतिशत माछा भारतबाट आयात

logo
गोपाल पोखरेल।
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
fish.jpg.jpeg
उदयपुर। प्रमुख व्यापारिक बजारमा माछाको अत्याधिक माग भएपनि जिल्लामा उत्पादन कम हुँदा बिदेशी माछा आयात बढेको छ। स्थानीय कृषक माछापालन व्यावसायमा आकर्षित हुन नसक्दा ८० प्रतिशत भन्दा बढी माछा भारतीय बजारबाट आयात गर्नुपरेको हो।
 
सदरमुकाम गाईघाट, तथा बेल्टार, कटारी, मुर्कुची, जलजले, रामपुरलगायतका बजारमा  माछाको अत्याधिक माग हुँदै आएपनि जिल्लामा बजार माग धान्ने माछा उत्पादन हुन सकेको छैन। स्थानीय माछाको माग बढी रहेपनि उत्पादन न्यून भएकाले भारतीय बजारबाट आयात गर्नु परेको व्यावसायीको भनाई छ।
 
“उदयपुरमा बिक्री हुने ८० प्रतिशत भन्दा बढी माछा भारतीय बजारबाट आयात हुन्छन् ” व्यावसायी मिश्रीलाल मलाहाले भने,“ ग्राहकले लोकल माछा चाहन्छन्, तर नपाएपछि भारतीय माछा खरिद गर्छन्।” जिल्लामा सरदर दैनिक १ मेट्रिक टन माछा खपत हुने उनले बताए।
 
“जिल्लामा दैनिक २ क्विन्टल माछा पनि उत्पादन छैन” अर्का व्यावसायी जसवीर मलाहाले भने,“हामी सिरहा र सप्तरी जिल्लाका विभिन्न बजारमा पुगेर त्यहाँ आएका भारतीय माछा खरिद गरेर ल्याई बिक्री गरिरहेका छौं।” भारतीय माछा नेपाली माछाको तुलनामा कम स्वादिलो हुने, बासी हुने र बरफमा राखेर आयात हुने भएकाले कतिपय सडिसकेको हुने उनले बताए।
 
गाईघाटस्थित होटल परिचयका संचालक कुमार बस्नेत होटलमा आउने अधिकांस ग्राहकको पहिलो रोजाई स्थानीय माछा हुने बताउँछन्। “तर लोकल माछा बजारमा आउँदैन्” बस्नेत भन्छन्, “भारतबाट बरफमा हालेर आयात गरिएका माछा किनेर लैजानुपर्ने अबस्था छ।”
 
बिगत १२ बर्ष देखि माछापालन व्यावसाय गर्दै आएका त्रियुगा नगरपालिका १३ का विष्णुदेव चौधरी स्थानीय माछा ग्राहकको रोजाइमा पर्ने भएपनि समयमा भूरा नपाइने, सरकारले कुनै सुविधा नदिने र प्राविधिक ज्ञानको समेत अभावका कारण माछापालन व्यावसायमा लागेका कृषकले भनेजति फाइदा लिन नसकेको बताउँछन्। “नयाँ लाग्नेको त कुरै छाडौं, व्यावसायमा लागेका पनि यसबाट अघाइसके” उनी भन्छन्,“ माछा आयातबाट मात्रै बार्षिक करोडौं रुपैयाँ बाहिर गइरहेको छ तर सरकारले यस विषयमा खासै चासो लिएको छैन।”
 
तर, जिल्लाको सुन्दरपुर, बेल्टार, हडिया, जोगीदह, पंचावती, कटारी, त्रिबेणी, रौता र त्रियुगा नगरपालिकाका केही स्थानमा व्यावसायिकरुपमा माछापालन भइरहेको कृषि प्राविधिकहरु बताउँछन्। ग्राहकले स्थानीय बजारमा जिउँदो स्थानीय माछा पाउने बाताबरण तयार गर्ने योजना अनुसार काम भइरहेको कृषि कार्यालयले जनाएको छ। 
सुगर र मुटु रोगीका लागिसमेत उपयुक्त हुने भएकाले सर्वसाधारणले खसी, राँगा र सुँगुरको मासु छाडेर माछा खान थालेको त्रियुगा नगरपालिका २ गाईघाटका सिर्जन राईको भनाई छ। “रातो मासुको प्रयोग नगर्ने उपभोक्ताको संख्या दैनिक बढिरहेको छ ” उनी भन्छन्,“त्यसैले बजारमा माछाको माग बढेको हो।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ