महामारी, अपवाद र समाजवाद

तारा न्यौपाने, प्रकाशित मिति : २०७७ जेठ १७ शनिबार
तारा न्यौपाने

काठमाडौंमा कालो चियाको पन्ध्र रुपैया पर्छ अचेल । यो महामारी पछि चियाको भाउ कति हुने हो थाहा छैन । तर मलाइ एउटा यस्तो चिया पसल थाहा थियो जहाँ कालो चिया दश रुपैँयामा नै पाइन्थ्यो । म चिया पिउन धेरै जसो त्यहि जान्थे । चिया पसलमा खुबै देशको चर्चा चल्थ्यो । मलाई पनि दैनिक भेटिने पात्र ठानेका थिए साहुजीले । चकोर साझमा जीवनका गफगाफ, खुबै रमाइलो क्षण बन्दथे । अब फेरि त्यस्तो दिनहरु आउदैनन । म आज खुबै द्रविभुत भईरहेछु ।

त्यो चिया पसलमा नियमित कैयन पात्रहरु आउथे । मेरो मनुस्मृतिमा सबैका मुहार याद त छैनन। तर म केहि भुल्न नसक्ने पात्रहरुलाइ परिचय जरुर गराउँछु ।

कता छ्न होला आजभोलि त्यो भाइ, जसको कपाल खैरो र ओठ छेडेका, आफूलाई कुनै नेपाली फिल्मको हिरो ठानेर हिड्ने गर्दथे । काम भने उनि बालुवा झार्थे तर आफुले गरेको कामबाट धेरै खुशी । म उसलाई हेरेर मनमनै भन्ने गर्थे कि, सायद यि छुटे्छन कुनै बाल संगठनको अनुसूचिमा । एनजिओको आँखाले देख्न नभ्याएका पात्र । ति भाइका उमेर पन्ध्र थियो । गाउँबाट सहरमा भागेर आएको, गाउँका ठूल्ठूला दाइहरुको लहैलहैमा । उनि दिउँसोभरि ब्यस्त रहन्थे । गाडी जता जान्छ त्यतै, सहचालकको काम पनि धेरै नै पर्छ नि त । तर साँझ जरुर चिया पसलमा देखा पर्दथे । न उनलाइ घरको पिर न त भरको पिर । कैले काहि भन्दथे “ यसै गरी जीवनभरि बिताइदिन्छु यो जिन्दगी।“ ति भाइ आजभोलि कता छन् होला ? के गर्दै छन्  होला ? यो पृथ्वीको भार बोक्ने शिलशिलामा उनको एक भारी कतै बिसाएका त छैनन होला ? महामारीले उनको जीवनप्रतिको उर्जा सेलाएको त छैन होला ?

भाइ, म तिमीलाइ आज धेरै सम्झिरहेछु । तिमीलाइ जीवनको शुभकामना । जहाँ छौ,  जे गर्दैछौ, सबै उत्तम गर्दै छौ होला ? महामारीको बाधले तिम्रा सपनाहरु नबाधुन,  तिमी ठूलो भएपछि चालक जरुर बन्नु । यो समृद्धि आउदै गरेको देशमा तिम्रो गाडि स सररर रेलिमाइ छ्नछन गर्ने खोला भन्दै कुद्ने छ होला कुनै दिन । अनि म त्यो गीत गाउने काकालाइ कसोरी बिर्सन सक्छु कि जो नारायण गोपालका गीत नगुन्गुनाइ बस्न सक्दैनथे । उनि निकै अचम्मका थिए । अन्जानमा देख्नेहरु उनलाइ पागल प्रेमी भन्थे । हुन पनि उनि चिया पिउने पसलमा रक्सीको ग्लास अठ्याउदै नारायण गोपालको गीत गुनगुनाइ बसेका हुन्थे । तर उनि सबैसंग कम बोल्थे । जहिले आफ्नै धुनमा मस्त, रक्सीसंग व्यस्त । कहिले काहिँ म उनिलाइ हेर्दै सोच्ने गर्दथे कि म पनि बुढेशकालमा यस्तै हुन्छु होला ? वहाँ आज भोलि के गर्दै हुनुहुन्छ होला ? नारायण गोपालका गीत सुनेर कहिल्यै नअघाउने काकाको धित यो महामारीको ठप्पले मारिदियो कि कुन्नि ? कुनै उपन्यासका पात्र जस्ता देखिने काका । को आजभोलि रक्सी खाने बानि छुट्यो होला । छोरा छोरी सबै काममा व्यस्त, म बुढो कति घरमा एक्लै बस्नु भन्दै चिया पसलमा जम्काभेट गर्न आउने काकालाइ आज भोलि छोराछोरीले खुबै स्नेह दिएका होलान । रक्सी खाने बानि पनि छुटाए होलान ? काका, नारायण गोपालको गीत जस्तै रहेछ हौ जिन्दगी स माया गर्नेको चोखो माया पनि देखियो, बाचा गर्नेको बाचा बन्धन पनि देखियो । जिन्दगीको दोबाटोमा हामी फेरि भेट्नेछौँ । आशा गर्दछु कि छोराछोरीले हजुरलाइ धेरै समय दिउन,  र नारायण गोपालका गीतहरु सुन्दै गर्नुहोला । हामी जस्ता कच्चाहरुलाई माया पिरतिको सल्लाह दिने हजुर न त हो ।

के गर्दै हुदो हुन आजभोलि ति ठाकुर जो धेरै नै व्यस्त रहन्थे हरेक दिन जसो । तर साँझ पख भने चिया पसलमा जरुर देखा पर्दथे । कपाल काट्ने ठाकुरलाइ पनि गफ गर्न त कस्ले सक्थ्यो र ? गफको तालमा उनलाई श्रीमती खोज्दै आउनु पर्थ्यो र केहिबेर बुढाबुढीको झगडा देख्न पाइन्थ्यो । त्यो पनि भोजपुरी स्टाईलमा चर्काचर्की । तर सबैभन्दा गज्जबको जोडि मेरो यो आँखाले देखेको थिएन । समाजका लागि एक उदाहरणीय जोडि हो यि दुइको । ठाकुरले दाइजो नलिइकन विवाह गरेका । आजभोलि कता छन् होला ? कपाल काट्ने काम त ठप्प छ ? सायद उनि आफ्नो सानासाना छोराछोरीसंग समय बिताएर रमाइलो गर्दै हुन् । तर उनको पसल त बन्द छ । पैसा कसरी कमाउदो हुन्,  हरेक दिन काम गरेर पैसा बटुले पछि मात्रै रासन किन्न जाने उनको श्रीमतीले अचेल कसरी चुलोचौको गर्दिहुन् ? जति ठूलो समस्या आइ परेपनि समाधान गर्ने जुक्ति भएका हाम्रा ठाकुरको परिवारमा महामारीले यदि समस्या ल्याएको छ भने ठाकुरले समाधान गर्ने सामर्थ्य जरुर राख्छ्न । भगवानलाइ पुकार्नु पर्ने जरुरत छैन । अचेलका समाजसेवीको त झन के कुरा गर्नु । धेरै पढेर होला, पिध बिर्सिने बानि परेका प्राणीहरु । हजारौंका कपाल काट्ने ठाकुरका हातले मेरो जीवनमा ठूलो साथ दिएको छ । म उसको व्यक्तित्वबाट खुबै प्रभावित हुन्थे । हामी जस्ता युवकहरुलाइ प्रेरणाका पात्र हुन् ठाकुर जो आफ्नो छोराछोरीलाइ सहरमा पढाएर पछि आफ्ना ति छोराछोरीले आफ्नो गाउँ बदल्न प्रयत्न गर्छ्न भनेर सपना देखिरहन्छन् । केहि मूर्खहरु उनलाइ गिज्याउछ्न, केहि पापिहरु उनको ज्याला दिदैनन, केहि अधर्मिहरु उनलाइ अर्कै दृष्टिकोणबाट हेर्छ्न । म उनलाइ कुनै चस्मा नलगाइ हेर्ने गर्छु । म कहिले काहिँ सोच्छु कि कुनैकुनै मानिसहरुलाई देख्दा मात्रै वा हेर्दा मात्रै एक भिन्न प्रकारको उर्जा मिल्छ । हो,  ठाकुर त्यस्तै खालको व्यक्तित्व थिए । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन कथाका मदन जस्तै मेहनति ठाकुरलाई आज खुबै सम्झिरहेछु ।

नेपाल यातायात नचढेको पनि उनन्साठी दिन जति हुन लागेछ । नियमित चल्ने नेपाल यातायातमा दोस्ति भएको थियो उहाँसंग । शारीरिकरुपमा अपांगता भएका व्यक्ति उनका एउटा खुट्टा चल्दैन । जनयुद्धका घाइते योद्धा । यिनमा कोही कसैप्रति गुनासो छैन । सधैं सकारात्मक सोँच राख्ने स्वभावले मलाई तान्यो । अनौठो कुरा त के भने, नेपालमा छ्याप्छ्याप्ती अपांगता भएका व्यक्तिहरुका निम्ति काम गर्ने संघसंस्थाहरू खुलिरहेको अवस्थामा ओखलढुङ्गामा अहिलेसम्म यो क्षेत्रमा काम गर्न संघसंस्था खुलेका रहेनछन् । कुनै पनि एनजीओ, आइएनजीओको आँखा उनको क्षेत्रमा परेको रहेनछ । कसैले सहयोग गरिदिए आफ्नो क्षेत्रमा गएर संस्था स्थापना गरी आफूजस्तै अपांगता भएका व्यक्तिहरूका निम्ति सेवा गर्ने हुट्हुटी देख्दा मैले ओखलढुङ्गा जाने निधो गरेँ । तर सोचे जस्तो भएन । महामारीले त्यो सपना अहिलेलाइ साकार हुन दिएन । धनबहादुर दाइ, लकडाउनले तपाईका सोँचहरू लक नहून । लकडाउन खुले पछि ओखलढुङ्गा हामी जरुर जानेछौँ । अहिले तपाई जस्ता कैयन अपांगता भएका व्यक्तिहरुलाई कति समस्या पर्यो होला ? यस्तो कठिन परिस्थितिमा सरकारले मासिक दिदै आएको सामाजिक सुरक्षा भत्ता कटौती हुने नियमावली आउनाले आउदा दिनमा कस्तो असर पर्ने हो रु हामीले चाहेर पनि सडकमा विरोध गर्ने अवस्था छैन । तर सामाजिक सन्जाल र आफ्नो पहुँचमा रहेका ठाउँहरूमा निरन्तर दवाब दिएर प्राप्त उपलब्धिहरुको रक्षा गर्न मेरो तर्फबाट भने पहल गरिरहने छु ।

अब एकपटक अपांगता भएका व्यक्तिहरू जुर्मुराउने बेला आएको छ । महामारी पछि युगले युगान्तकारी परिवर्तन गर्छ भनिरहँदा धनबहादूर दाइ जस्ता ब्यक्तिहरूलाई नजरअन्दाज गर्न मिल्दैन ।

नेपाल यातायातको गन्तव्यको सिमा छ । तर, त्यस नेपाल यातायातमा चढ्ने हामीहरुको गन्तव्यको सिमा छैन । हो, कहिलेकाहीँ परिस्थिति जरुर आउछ । तर, निराकारको पछि दुरदर्शी भएर भाग्न छोड्नु हुदैन ।यस्तै कुरा गरी रहदा म सम्झन्छु नेपाल ल क्याम्पसमा पढ्ने साथी जो समाज सेवामा अनवरत लागिरहेकी थिईन् । सडकमा छटपटाई रहेका बालबालिका हुन् वा वृद्ध बा आमा उनीहरूको सेवा गर्न तत्पर हुने । सडकमा कोही बिरामी, घाईते उपचार नपाएर छटपटाइ रहेको देख्यो कि तुरून्त आफै अग्रसर भइ अस्पतालसम्म पुर्याउन अग्रसर भएको देख्दा म पनि हात र साथ दिन अग्रसर हुन्थे ।

साथी, महामारीले ति टुहूराहरूको हालत कस्तो भयो होला ? सडक पेटीमा रहेका भोकाहरू जो तिमीले खाना ल्याईदिने आसमा बिहानी कुरेर बस्थे अहिले तिनीहरूले पेट भरीने गरी खान पाए होलान् कि नाई ? बालगृहको अवस्था यो महामारीले कस्तो भयो कुन्नी ? मलाई लाग्छ तिम्रो मानसपटलमा यस्तै प्रश्नहरु उब्जीरहे होलान ।

यो भनिरहँदा मैले वा तिमीले बिर्सिनु हुदैन कि सरकारले केहि गर्दैन ? सरकारले सबैको भलोको लागि पाइला चलाइरहेछ् । आफ्नो भुमिका निर्वाह गरिरहेछ । कतै पाइलाका डोब देखिएको छ त कतै स्वार्थीहरुको दुस्साहसले गर्दा पाइलाको डोब मेटिएको छ । याद गर कि निरन्जन र निश्चल कहिल्यै मेटिदैन । मेटाउन चाहनेहरु पनि आशा गरौ कि भेटिदैनन । मेटिनु त सबैलाइ पर्छ यस दुनियाँबाट, तर नमेटिने इतिहास लेखेर जानु जरुर पर्छ वा यसो भनौ कि लेख्ने प्रयत्न सधै राख्नु पर्दछ ।

अन्तमा ,
समाजवादको व्याख्या विश्लेषण अहिले संसारमै असान्दर्भिकजस्तै बन्न पुगेको छ । परम्परागत कम्युनिस्ट राष्ट्रमा पनि खुला पुँजीबादलाई अभ्यास गर्न थालिएको छ । पुँजीवादी राष्ट्रले खुल्ला बजारलाई व्यवस्थित गर्दै समाजवादमा हुने लोककल्याणकारी नीति अवलम्बन गरिरहेका छन् । नेपाली कांग्रेस तथा कम्युनिष्ट दुवै राजनीतिक शक्तिले आफ्ना दस्तावेजमा समाजवाद तथा जनतावादलाई विशेष स्थान दिईरहेका छन् । समाजवादलाई संविधानमा समेत विशेष प्राथमिकताकासाथ उल्लेख गरिएको छ । समाजवादले यति बढी महत्व पाए पनि यसको अभ्यासका लागि कति काम भएका छन् त ? महामारीसंगै नेपालमा समाजवाद लागू गरिएला र ? यो आम जनचासोको विषय बन्न पुगेको छ । के अब नेपालमा प्रजातान्त्रिक समाजवाद वा जनवाद लागू गर्नै सकिन्न ? लागू गर्नै नसकिने प्रावधान पार्टीहरुले किन आफ्ना दस्तावेजमा उल्लेख गरिरहन्छन् ? नेपाल जस्तो कामचलाउ अर्थतन्त्र जसले विशेष आकार नलिएको र बाह्य प्रभाव अति दह्रो रहेको राष्ट्रमा झन् महामारी पछि अर्थतन्त्रका कुनै पनि प्रारुप लागू गर्न ज्यादै कठिन पर्छ । अर्थतन्त्रका परम्परागत प्रारुप हुबहु त लागू गर्न सकिन्न नै तर बदलिँदो परिवेशमा जनताको अवस्था, आन्तरिकरुपमा अभ्यास गरिएको अर्थव्यवस्था र बाह्य परिवेशलाई ख्याल गर्दै परिमार्जित प्रारुप लागू गर्न नसकिने कुरै छैन । मात्र पार्टी र तिनका नेताहरुले आफ्ना नीतिलाई अहिलेको विश्व परिवेशमा, आम नागरिकको अवस्था र राष्ट्रिय परिस्थितिलाई वस्तुगत विश्लेषण गरेर अघि बढ्न सक्नुपर्छ । दृढ इच्छाशक्ति, अठोट, दीर्घ सोच र इमानदारिता त हुनैपर्छ ।

नयाँ