arrow

कोरोनाको समय कंगोमा देखिए इबोलाका रोगी, चार जनाको मृत्यु

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
ebola-congo.jpg

एएनआई, कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ । संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको संक्रमण देखिएको हो । संगठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका संक्रामक एवं प्राणघातक रोगहरु कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको छ भन्नुभयो ।

उहाँले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताउनुभयो । 

 सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौं पटक देखिइसकेको छ । 

डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोविड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताउनुभयो । 

उहाँले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिनुभयो । डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको छ भने कन्ट्याक्ट ट्रेसिङ (रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान) को काम भइरहेको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार कंगोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कंगोका जंगली जनावरमा अद्यापी रहेको पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ