arrow

भारतमा फेरि कोरोना संक्रमणले तोड्यो रेकर्ड

२४ घण्टामा सबैभन्दा बढी संक्रमित, सबैभन्दा बढीलाई निको 

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
corona-india-security.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ । तीव्र गतिमा भइरहेको संक्रमणका कारण भारतमा संक्रमित दुई लाख ७ हजार १९१ जना पुगिसकेका छन् । 

बुधबार बिहानसम्म २४ घण्टामा सबैभन्दा बढी संक्रमण भएको छ । एकैदिन ८ हजार ८२० जना संक्रमित भएका छन् । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो ।  त्यो रेकर्ड फेरि तोडिएको छ । 

त्यस्तै मृतक २४ घण्टामा २२१ जना थपिएका छन् । यसअघि मंगलबार २०१ जना थपिएका थिए ।

शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए । त्यो संख्या पनि अहिलेसम्मकै बढी थियो । आइतबार मृतक भने २०५ जना पुगेका थिए । सोमबार २२३ जनाको मृत्यु भएको थियो । 

अहिलेसम्म मृतकको संख्या ५ हजार ८२९ जना पुगेका छन् । 

१ लाख २८५ जनालाई उपचारपछि निको भएको छ । २४ घण्टामा ४ हजार ५३१ जनालाई निको भएको छ । यो अहिलेसम्मकै उच्च हो । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार २८७ जना संक्रमित बढ्दा ७२ हजार ३०० पुगेका छन् । त्यस्तै मृतक १०३ बढेर २ हजार ४६५ पुगेका छन् । 

तमिलनाडुमा २४ हजार ५८६ जना संक्रमित हुँदा मृतक २००, दिल्लीमा २२ हजार १३२जना संक्रमित हुँदा मृतक ५५६, गुजरातमा १७ हजार ६३२ जना संक्रमित हुँदा १ हजार ९२ मृतक भएका छन् । 

संक्रमित बढ्दा लकडाउन खुकुलो 
यसैबीच भारतमा लकडाउनमा परिवर्तन गरि अनलक शुरु गरिएको छ ।  भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुनदेखि ३० जुनसम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । 

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ