arrow

विद्या भण्डारीले राष्ट्रपतिलाई विवादीत बनाएको फेहरिस्त याद राख्नुस महामहिमज्यू

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २१ बुधबार
Radha-gautam.gif

महामहिम राष्ट्रपति ज्यू 
अभिवादन,
पछिल्लो पटक यहाँको कार्यालय सिगार्न १ करोड रुपैंयाको गलैंचा हाल्ने तयारी भइरहेको समाचार पढ्ने मौका मिल्यो । यो समाचार सार्वजनिक भएसँगै मेरा मनमा उब्जिएका अनेक तर्क र तर्कनालाई समेटेर एउटा पत्र लेख्दैछु ।

गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिका रुपमा यहाँको नाम सिफारिस हुँदै गर्दा हर्षका आँशु झार्ने धेरै नारी मध्येकी म पनि एक थिए। एकजना महिला जस्ले जवानीमै पति वियोग र त्यसपश्चात अनेक हण्डर ठक्करको सामना गर्दै राजनीतिलाई निरन्तरता दिइ राष्ट्राध्यक्ष बनिन भन्ने खबर हामी आम नागरिकका लागि चानचुने पनि थिएन । मुलुकले सच्चा अविभावक पायो, अव मुलुकमा भ्रष्टाचार कम हुनेछ, सिंगो मुलुकको अर्थतन्त्रलाई मितव्ययी ढंगबाट सञ्चालन गर्न यहाँबाट मार्ग प्रसस्त हुनेछ आदी इत्यादी अपेक्षाका चाङ मन मस्तिष्कमा थुप्रिएका थिए ।

२०७४ सालको प्रदेश प्रतिनिधि सभाको निर्वाचन पश्चात पुनः यहाँको नाम प्रस्ताब हुँदासम्म पहिले राखेका अपेक्षाहरु केहि बाँकी नै थिए मसँग । यद्यपी यहाँले राष्ट्राध्यक्षको जिम्वेवारी प्राप्त गरे यता पटक पटक सार्वजनिक भएका बिबादका प्रकरणहरु दोहोरिने क्रम नरोकिए पछि यहाँका नाममा एक पटक पत्र लेख्ने अभिलाषा उत्पन्न भएको हो । 

संविधानले नै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुका रुपमा परिभाषित गरेपछि जनताका छोराछोरीले राष्ट्राध्यक्षको जिम्मेवारी पाउनु स्वभाविक भएपनि नेपाल जस्तो पितृसत्तात्मक मुलुकमा महिलाले २ कार्यकालसम्म निरन्तर राष्ट्रपतिको जिम्मेवारी पाउनु विश्वको लागि गतिलो सन्देश पनि थियो । तर यहाँको कार्यालय र यहाँ प्रत्यक्ष रुपमा जोडिनु भएका निम्न प्रकरणहरुले म मात्रै नभएर तपाईका हजारौं शुभेच्छुक शुभ चिन्तकसँगै तमाम नेपाली नारीलाई लज्जित तुल्याएको छ । 

पहिलो र दोस्रो कार्यकाल गरी यहाँले ५ वर्षको हाराहारी जिम्वेवारी बहन गरिसक्नुभयो । यो अवधिमा तपाँइसँगै राष्ट्रपति कार्यालय पटक पटक विवादमा तानिइरहनु राम्रो कुरा थिएन जुन अहिले भइरहेको छ ।
पछिल्लो प्रकरणमा यहाँको कार्यालयमा एक करोडको गलैँचा ओछ्याउने अनि १ करोड ८४ लाख खर्च गरेर बाथरुम सजावट गर्ने चर्चा जुन छ । त्यो कुराले धेरै भन्दा धेरै नागरिकको मुटु जलाउनु शिवाय केहि सन्देश दिन सक्दैन । किनभने मुलुक महामारीमा छ । कोरोना नियन्त्रणका नाममा सरकारले लगाएको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गर्जो टार्नेहरुको चुलो नबलेको महिनौं भइसक्यो । रोजगारी गुमाएर भारतबाट फर्कनेहरु सिमानामा अलपत्र छन । कत्तिले क्वारेन्टाइनमै ज्यान गुमाइसके, आत्महत्या गर्नेको संख्या लक डाउन शुरु भएयता मात्रै एक हजार पुग्न लाग्यो । हजारौं नागरिक सडकमा पत्रिका ओछ्याएर सुतिरहेका छन । बालबच्चा भोकभोकै, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका अनि सुत्केरीहरुको कन्तबिजोग छ। बढ्दो बेरोजगारीले भोलि हुनसक्ने हत्या हिंसा बलात्कार जस्ता विकृतीजन्य घट्नाको आँकलन कसैले गरेको छैन । यस्तो बेला किन चाहियो तपाइको कार्यालयमा एक करोडको गलैंचा ? अनि किन गर्नुपर्‍र्यो तीनवर्ष अघि निर्माण भएको भवनमा १ करोड ८४ लाख रुपैंया खर्च गरेर बाथरुम सजावट ?

भनिन्छ महिलाहरु पुरुषको तुलनामा मितव्ययी हुन्छन । उनीहरु कोमल र दयालु पनि हुन्छन । तर तपाँइमा यी कुनै भाव झल्किएको महशुष गर्न सकिएन । मल्लकालिन राजा दरवारको टुप्पोमा बसेर जनताका घरमा धुँवा उडेपछि मात्र खाना खान्थे रे, कुनैदिन कसैका घरमा बलेन भने त्यसकहाँ खानपिनको वन्दोवस्त नगरी उनी खाँदैनथे भन्ने इतिहास हामीले पढेका छौं । सायद तपाइले पनि पढ्न भ्याउनु भयो होला । तपाँइ त एउटी नारी । नारीलाई आधा आकाश, धर्तीमाता, आमा, देवी, सृष्टिकर्ता, ममताकी खानी जस्ता उपमा दिइएको छ । तपाँइले यो बेला कार्यालयमा एक करोडको गलैंचा फेर्नुको साटो नाकामा भोकभोकै बसेका नागरिकलाई खानपानको व्यवस्थापन, अलपत्र परेकालाई गन्तव्यमा पुर्‍याउन र ज्यान गुमाएकाका परिवारलाई राहत र कोरोना कहरले आहत नागरिकलाई सान्तवना दिनकै लागि मात्र भएपनि गलैंचा बिछ्याउने रकम फिर्ता पठाउन सक्नु पर्‍थ्यो। त्यो नभएर गलैंचा बिछ्याउने कार्यक्रम तत्काललाई स्थगन मात्रै गरेर उक्त रकम कोरोना नियन्त्रणका लागि खर्च गर्न राज्यकोषमा पठाइदिन सक्नु भएको भए तपाँईको हाइ हाइ हुनेथियो । नेपालले सच्चा, नागरिक प्रेमी र मितव्ययी राष्ट्रपति पाएको छ भनेर । तर त्यो हुन सकेन यसअघि यहाँले राष्ट्रपति भवनदेखि सांसद भवन जाँदा हेलिकोप्टर चढेको  महंगा गाडी र हेलिकोप्टर किनेको अनि सार्वजनिक कार्यक्रममै कांग्रेस सभापति शेरबहादुर देउवालाई होच्याएर खिसि टिउरी गरेका घट्ना पनि ओझेल पर्थे होला । विपदको घडीमा यहाँको ध्यान किन त्यतातिर गएन ? सायद राज्यकोषबाट तलब खुवाएर तपाँइले सल्लाहकारहरु पनि नियुक्त गर्नुभएको होला उनीहरुको शुद्धी कहाँ हराएको थियो त्यो बेला ? 

हुन त यसअघि निम्न प्रकरणमा राष्ट्रपति र सो कार्यालय बिबादमा मुछिएकै हो । १ सय ४० रोपनी र प्रहरी प्रतिष्ठान १ सय ९३ रोपनी क्षेत्रफलमा फैलिएको यहाँको कार्यालय छ । जस्मा प्रहरी तालिम केन्द्र विस्थापन गरी राष्ट्रपति कार्यालय विस्तारको प्रयास भएको भन्दै यो कार्यालय बिबादमा मुछिएकै हो । सरकारले राष्ट्रपतिलाई सुरक्षित बुलेटप्रुफ गाडी खरिदका लागि १८ करोड रुपैयाँ निकासा गर्‍र्यो  यस विषयले तपाँईको कार्यालय दोस्रो पटक बिबादमा तानियो । गरिब देशकी राष्ट्रपति विलासी भएकाले महङ्गो गाडी माग गरेको भनेर टिप्पणी भयो । १८ करोडमा राष्ट्रपतिलाई एउटा गाडी किन्नका लागि रकम निकासा भएको होइन । सुरक्षाका लागि आवश्यक अन्य गाडीहरु, एम्बुलेन्सलगायत सिङ्गो कार्गेटकै लागि उक्त रकम निकासा गरिएको हो भनेर मुद्धा थामथुम पारियो ।

राष्ट्रपति भवनमा दशैंको टीका लगाउँदा अपनाइएको शैलीका कारण पनि तपाँइ बिबादित हुनुभयो । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले घुँडा टेकेर टीका लगाएको र सेना तथा प्रहरी प्रमुखसँगै अन्य नेताले टीका लगाउँदा कुर्सीको व्यवस्था नभएका कारण राष्ट्रपति टीका कार्यक्रम बिबादित बनेको सायद यहाँले थाहा पाउनु नै भयो होला  टिप्पणीकर्ताहरुले यसलाई ‘राष्ट्रपतिको महारानी शैली’ पनि भनेका थिए ।
दोस्रो कार्याकालका लागि चुनिएपछि तत्कालीन समयका बिबादित प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट सपथ ग्रहण गर्नुभयो । जतिबेला पराजुली प्रधानन्यायाधीशबाट पदमुक्त भइसकेको भन्दै आलोचना खेपेको स्मरण छ नै होला । 

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणीकरणका लागि पेश गरेको राष्ट्रियसभा निर्वाचन सम्वन्धि अध्यादेश दुई महिनासम्म प्रमाणिकरण नगरेर पछि जस्ताको तस्तै प्रमाणीकरण गर्नुले तपाँइको नियतमाथि प्रश्न त उठेकै हो । गत महिना मात्रै राजनैतिक दल सम्वन्धि अध्यादेश प्रधानमन्त्री कार्यालयबाट पठाएको एकघण्टा नबित्दै प्रमाणिकरण गरेर राजनैतिक आस्थाको गन्ध छताछुल्ल पार्न पछि हट्नु भएन ।

एकताका सप्तरीको छिन्नमस्ता मन्दिरमा दर्शनका लागि जाँदा जुत्ता बोकाउन सेनाका जवान प्रयोग भएको विषयका कारण पनि बिबादमा मुछिनु भयो । तपाँइको सवारीका कारण नागरिकलाई सास्ती भएको भन्दै पटक पटक बिबाद हुने गरेको छ । सवारीका समयमा राजधानीको सडकमा घण्टौसम्म सडक जाम हुँदा कति नागरिकले सास्ती व्यहोर्नुपर्छ त्यसतर्फ सायद नजर लगाउन भ्याउनुभएको छैन होला ।

कुनै पनि विषयमा विज्ञता हासिल नगरेका आफूनिकट मान्छेलाई सल्लाहकार नियुक्त गरेको भन्दै तपाइको विरोध भएको थियो । सायद त्यहि कमजोरीका कारण पो पटक पटक चुकिरहनु भएको छ कि ? 
यी बाहेक पनि अरु थुप्रै सबालमा राष्ट्रपति कार्यालय बिबादित बनिरहेको छ । साँच्चै राष्ट्रपति कार्यालयले त्रुटि गरिरहेको छ कि जबरजस्त बिबादित बनाइँदैछ ? भन्ने छुट्टै बहसको विषय हुनसक्छ तर एउटा सम्मानीत उच्च संस्था बारम्बार बिबादित हुनु राम्रो होइन ।

कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेको सरकारले भेन्टिलेटर पनि निक साइमन्स् नामक एनजिओबाट अनुदानमा ल्याएको छ । तर, यही वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने खवर पाँउदा कैयौं नेपालीको मन रुनु स्वभाविकै हो । विदेशी  आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने गरी महँगो गलैँचा बिछ्याउन लागिएको अनि १ करोड ८४ लाखको खर्चमा बाथरुम सजावट गर्ने समाचार स्रोतहरुले उल्लेख गरेका छन । यद्धपी यो बेला मुलुकको इज्जत राष्ट्रपति कार्यालयमा ओछ्याइएको गलैंचामा भन्दा सडकमा सास्ती व्यहोरीरहेका नागरिकको गाँस र बासको व्यवस्थापनले गर्छ ।

एकपटक समकक्षीहरुलाई पनि हेर्नुहोस नेपालको विकासमा आर्थिक सहयोग गर्ने नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटी साइकल चढेर कार्यालय जान्छन क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर आफ्नो निवास आफैँ ‘पेन्ट’ गर्छिन । यसो गर्दा प्रतिष्ठा उनीहरूको झन् बढेको छ । विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन, कोही स्कुलमा समेत पढाउँछन। उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । यस्ता नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सकिन्छ  । 

कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । राष्ट्रपति हुँदा पनि उनले घरको काम आफैँ गर्थिन । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । २०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा खेलाडीको हौसला बढाउन रसिया पुगेकी तत्कालीन राष्ट्रपति विश्व चर्चित भएकी थिइन । उनी इकोनोमिक क्लासको टिकटमा रसिया पुगेकी थिइन् । त्यति मात्र होइन, प्याराफिटमा पनि भिआइपी सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन । पानी पर्दा पनि छाता खोजिनन । मैदानमै पुगेर खेलाडीलाई हौसला दिन पनि पछि परिनन् । त्यस्तै न्युजिल्यान्डकी यातायातमन्त्री जुली एनी गेन्टर साइकल चलाउन वकालत गर्छिन । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यममा चर्चा भइनै रहन्छ ।

मालाबीकी पूर्वराष्ट्रपति जोयसी बान्डा, सन् २०१२ देखि २०१४ सम्म मालाबीमा राष्ट्रपति थिइन् । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन। यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सि्डिज कार बेच्ने निर्णय गरेकी थिइन ।

कोरोना संक्रमणका कारण मितव्ययी हुने भनेर सरकारले आह्वान गरिरहेको वेला देशको सर्वोच्च सम्मानित निकायमा फजुल खर्च हुनु राम्रो होइन । त्यसैले ठण्डा भएर एकपटक सोच्नुहोस । अखबारकै भाषामा ‘यो राष्ट्रपतिको व्यक्तिगत रूचि होइन, मौलिकता झल्काउने गलैँचाले देशको प्रतिष्ठा बढाउँछ भनेर राख्न थालिएको हो,’ तर एकपटक सोच्नुहोस तपाँइले चाहनुभयो भने यस्तो फजुल खर्च रोकिन सक्छ । हाम्रो देशकी राष्ट्रपति अनि राष्ट्रपति कार्यालय पटक पटक बिबादमा आँउदा रैतीलाई राम्रो लाग्दैन । अव यस्ता बिबादित खवर कहिल्यै सुन्नु र पढ्नु नपरोस । विद्या भण्डारीको रुपमा तपाईका गल्ति कमजोरीले राष्ट्रपति संस्थालाई लान्छित गर्ने काम कत्ति पनि प्रिय छैन। यसतर्फ ध्यान जाओस।  

राष्ट्रपति ज्यूकै शुभचिन्तक 
राधा गौतम फिदिम ४ गडी पाँचथर 
इमेलः gautam.radha2011@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ