arrow

अम्रिसोले परिचित निस्दीको झिरुबासमा अलैंची खेती पनि फस्टाउदै

logo
सीता डोटेल,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
alichi.jpg.jpeg

पाल्पा । निस्दी ३ झिरुबासका ओमलाल खन्गाहालाई अलैची खेती लाएपछी भिरालो जमिनको सदुपयोग भएको महशुस भएको छ । पहिले मनमारा र खर फुल्ने पाखोलाई उपयोग गरि अलैची लगाएपछी जग्गा खनजोत मात्र होइन राम्रो आम्दानी समेत हुने भएको छ । 

झिरुवासका खिम बहादुर खाम्चाले समुहमा काम गरेर हासिखुशी आम्दानी लिन सकिने नयाँ खेती गर्न पाउँदा आफुहरु हौसिएको बताए । अम्रिसो खेतीले प्रख्यात झिरुबास बिस्तारै अलैची खेतीको पनि पकेट बन्दैछ । अम्रिसोको खेती भित्रै केही अलैचीको बोट सारेका किसान अहिले २ सय रोपनी पाखोमा अलैंची खेती गरेका छन् ।  किसानले शुरु गरेको अलैंची खेतीको बिस्तारका लागि स्थानिय तह निस्दी गाउपालिकाले पनि साथ दिएपछी अलैंची खेतीमा हौसिएको किसान  मन बहादुर वयम्वुले बताए । 

निस्दी गाउँपालिकाले निस्दीको वडा नम्बर ३ झिरुबासको खादरलाई पकेट क्षेत्रको रुपमा बिस्तार गर्ने योजना बनाएको छ । खादर गाउँ घुमाउरो घर (कुडुले) ले पनि परिचित छ । यहाँ झण्डै ७५ घरधुरी अहिले अलैंची खेतीमा लागेका छन् । समुहमा आवद्ध भएर अम्रिसो  खेतीबाटै सामुहिक कार्यलाई आत्मसाथ गरेका उनीहरु सामुहिक अलैंची खेती गर्न पाउँदा निकै उत्साहित छन् । यस वर्ष  करिब १५ लाख बढी आम्दानी लिने अनुमान किसानको छ । 
   
निस्दी गाउँपालिकाले एक वडा-एक पकेट कार्यक्रम अन्तर्गत खादरमा अलैंची खेती अगाडि बढाएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए । ५/७ बर्षदेखि नै अलैंची उत्पादन भएपनी पछिल्लो केही बर्षयता मात्र व्यबसायिक खेती थालिएको हो । यहाँका किसानले अलैंचीको फल बिक्रिको लागि नवलपरासी पुर्व(नवलपुर)जिल्लाको अरुणखोला लैजाने गरेका छन् ।  अलैंचीको माग राम्रो छ, पहाडी जिल्ला र चिसो हावा चल्ने खादरमा उत्पादन पनि राम्रो छ, खादर अलैंची खेती पकेट उपभोत्ता समितिका अध्यक्ष मनुराज खाम्चाले भने- किसानलाई अझै विभिन्न कार्यक्रम र सहुलियतबाट अझ धेरै ठाउँमा अलैंची खेती गर्न सकिन्छ।

यस वर्ष निस्दी गाउँपालिका कृषि शाखाले १ लाख ८७ हजार ५ सय अनुदान अलैंची खेती विस्तार र मेसिन खरिद तथा व्यबस्थापनलाई रकम बिनियोजन गरेको थियो । उपभोत्ता समितिको ६२ हजार ५ सयको लागतमा अलैंची खेतीमा काम भइरहेको निस्दी गाउपालिका कृषि शाखा संयोजक खिमराज कोइरालाले बताए । चालु आर्थिक वर्षको अनुदानबाट फल काट्ने मेसिन, विषादी छर्ने स्पेयर , ढुसीनाशक विषादी र लमजुङ जिल्लाबाट थप १४ हजार बिरुवा खरिद गरेको संयोजक कोइरालाले बताए । यस वर्ष समयमै वर्षा भएकाले जेठमै फल फलेको कृषि प्राविधिक त्रिमला पाटाले बताए । बिगतमा असारमा फल लागेपनी यो बर्ष पानी परिरहेकाले फल छिटो लागेको पाटाको भनाई छ । अलैंचीको अहिलेको फलको बजार मुल्य प्रतिकिलो १५ सय देखि २ हजार रुपैया सम्म हुनसक्ने कृषि शाखाको अनुमान  छ । गाउँमा अलैंचीको खेती फस्टाउदै गएपछि स्थानीयलाई आर्थिक रुपमा राम्राे टेवा मिल्ने देखिन्छ ।

सबैभन्दा पहिले यहाँका शिक्षक तुलबहादुर वयम्बु २०६५ सालमा इलाम भ्रमण जाँदा बिरुवा ल्याइ लगाएका थिए । इलाममा देखेको अलैंची खेतीबाट प्रभावित भएका बयम्बुले ल्याएको बिरुवा राम्रो भएपछी किसानले झिरुवासमा अलैंचीको संभावना देखेको किसान ओमलाल  खनगाहाले बताए। अहिले समुहमा काम गरेर अलैंची खेतीलाई बिस्तार र बजारका लागि किसानहरु स्थानिय तहलाई झक्झकाउन थालेका छन् भने यसैको आम्दानीबाट गर्जो टार्न सकिनेमा बिश्वस्त छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ