arrow

कालिकोटमा नेकपाको विकास विरोधी अभियान, धमाधम पुराना सामानको प्रयोग गरी विकासे खेती

logo
प्रकाशित २०७७ असार २ मंगलबार
Untitled-144.jpg

कालिकोट । कालिकोटको रास्कोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको स्थानीय सरकार भ्रष्टाचारमा लिप्त भएको खुल्न आएको छ । 

त्यहाँको रास्कोट नगरपालिका वडा नम्बर ५ मा आरसीपी बजारको वृहत खानेपानी आयोजनामा ठूलो घोटाला गरेर भ्रष्टाचारलाई बढावा दिइएको हो । 

यसबारेमा स्थानीय जनप्रतिनिधिहरुलाई पटक पटक भने पनि सुनुवाई नभएको स्थानीय भावना शाहीले बताइन् । 

उनी नेपाली कांग्रेस केन्द्रीय सांस्कृतिक विभागको पूर्व सदस्य हुन् । त्यस्तै शाही महिला निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशकी संयोजक पनि हुन् ।

उनी काम गुणस्तरीय हुनुपर्छ भनेर लागेको उनले बताइन् । उनीसंगै जीवन शाही, ललित शाही, प्रकाश शाही र हिम्मत शाही लगायत अग्रणि भूमिकामा रहेका छन् । 

१० दिनसम्म आन्दोलन गरेर गलत काम नगर्न भनी दवाव दिए पनि सुनुवाइ नभएको उनले बताइन् । 

उनले भनिन्, ‘असारसम्म जसरी पनि योजना सकेर पैसा हसुर्ने दाउमा देखिएका छन्, दुःख दिए । गलत नगर भनेर आन्दोलन गर्यौं । यत्तिको आन्दोलन गरेको भए त सरकारै पनि ढल्थ्यो होला ।’

उनको आन्दोलनमा कांग्रेस कार्यकर्तामात्र छैनन् । नेकपाकै कार्यकर्ताले पनि साथ दिएका छन् । 

उनी भन्छिन्, ‘कांग्रेस मात्रै छैनन् । नेकपाकै कार्यकर्ता पनि छन् । विकासको कामलाई लिएर पार्टी सार्टी भन्नु हुँदैन । हामी झण्डा लिएर उत्रिएका छैनौं । यो त सबैको विकासको काम हो ।’

उनले यो सम्बन्धमा मुद्दासमेत दर्ता भइसकेको बताइन् । त्यसो त उनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग पनि कुरा गरिसकेकी छिन् । उनले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्न सुझाएका छन् । 

त्यस्तै दिनानुदिन प्रहरीसंग झडप भइरहने गुनासो गर्दै भावनाले भनिन्, ‘दिनहुँ कांग्रेस कार्यकर्ता कुट्छ, गोली चलाउँछु भन्छ । हामीले राजनीति गरेको त हैन नि ।’

प्रसङ्ग के हो ? 
असार लागिसक्यो । बजेट सकाउनु छ । आयोजना छिट्टै सक्न पाए बजेट कुम्ल्याउन पाइन्थ्यो भन्ने सोच सबैको हुने नै भयो । 

तर राजनीतिक सिक्वेन्स जोडेर भ्रष्टाचार गर्न खोजिएको छ । वडाध्यक्ष नरजंग शाहीले आफ्नै भाइलाई वृहत खानेपानीको अध्यक्ष बनाए । वडा सदस्य रण शाहीले बुहारीलाई सदस्य बनाए । कार्यपालिका सदस्य मन तिरुवाले मामाको छोरालाई सदस्य बनाए । 

यसरी एकलौटी तरिकाले आफ्नैलाई बनाएर ११ जनाको खानेपानी समिति बनाइएको छ । त्यसको विरोध गर्दा निष्कर्ष नआएपछि वडा कार्यालयमा ताला लगाइयो । प्रहरीले हस्तक्षेप गर्न खोज्यो । 

भावनाको टिम मेयरलाई भेट्न गयो । केही निष्कर्ष आएन । मेयरले मिलेर नआए पैसा फिर्ता पठाउँछु भनेर धम्की दिए । 

पानी विस्तार भएन । बजेट नयाँ आयो । तर सामग्री पुरानै । पाइपहरु पनि पुराना । त्यसले कति दिन टिक्ला । 

भावनाको टिम अनुगमनमा पनि गयो । नतिजा के निस्क्यो ? उही पुराना पाइप देखिए । उनले भनिन्, ‘हामीले यसको पर्दाफास पनि गर्यौं तर काम अझै रोकिएन । मिलिभगत छ । खाने काममा कांग्रेसका केही नेता पनि मिसिएका छन् ।’

वडा कार्यालयमा तालासमेत लगाउँदा पनि केही उपाय निस्केन । मुद्दा दर्ता भयो । तर त्यो पनि अलपत्र छ । 

मुख्यमन्त्रीले अख्तियार जान भन्ने तर स्थानीय प्रशासनलाई केही भन्न नसक्ने गर्दा उनको भूमिका पनि शंकास्पद देखिएको स्थानीयको आरोप छ । यो विषय पेचिलो बनेको छ । 

भावना भन्छिन्, ‘हामीले हिम्मत हारेका छैनौं । लड्छौं । गलत हुन दिन्नौं ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ