arrow

सोमालियामा नेपाली जेहादी मारिएको समाचारको आधिकारीकता खोज्दै नेपाल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १५ सोमबार
somalia-nepali-killed.jpg

काठमाडौं। अफ्रिकी मुलुक सोमालियाको मुस्लिम अतिवादी समूह अल सबाबको एक नेपाली प्रशिक्षक मारिएको बिषयमा सोमालियाको सेनालाई उदृध गर्दै आएको समाचारमा नेपालले आधिकारीकता पुष्टीको प्रयास गरेको छ।

सोमालियाको सेनाको १६औं विग्रेडका कमाण्डर जनरल इस्माइल अब्दिमालिक मालिनले मध्य जुवा क्षेत्रमा भएको सैनिक कार्वाहीमा मारिएका नेपालीको बारेमा बताएका थिए। सोमालियाको स्थानिय सैन्य रेडियोमा बोल्दै सैन्य कमाण्डरले नेपालबाट आएका अल सबाबका प्रशिक्षक मारिएको पुष्टी गरेका थिए।

अल सबाब १२ बर्षअघी सन् २००८ देखि मुस्लिम सरिया कानुन लागू गराउन भन्दै सरकार बिरुद्ध लडिरहेको छ। मारिएका ति नेपालीको नाम असरफ आजमी अबु हमदन भएको र उनीसँगै उनका अन्य ३ अंगरक्षक पनि मारिएको सोमालियाली सेनाले बताएको छ।

सोमालियाली ति सैन्य कमाण्डरले विदेशी लडाकुहरुको बारेमा विस्तृतमा भने बताएनन्। सोमालियामा मारिएका लडाकु प्रशिक्षक जेहादी गतिविधीमा संलग्न रहि सोमालियाको सरकार बिरुद्ध लडिरहेको मुस्लिम कटरपन्थी जेहादीहरुलाई प्रशिक्षण दिन खटिएका थिए।

जेहादीको रुपमा एक नेपाली अफ्रिकी मुलुक सोमालिया पुगेको यो घटनाको आधिकारीक पुष्टी नेपाल सरकारले गर्नुपर्ने आवाज उठेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरज बहादुर शाहीले सोमालियामा एक नेपाली मारिएको समाचारको बारेमा जानकारी भएपनि यसको आधिकारीक पुष्टी नभएको बताए। हाम्राकुरासँग कुरा गर्दै शाहीले यसबारेमा परराष्ट्र मन्त्रालय मार्फत बुझ्ने काम हुनसक्ने बताए।

देशका मुस्लिम समुदायका अन्य यूवाहरुमा यो घटनाको कस्तो प्रभाव पर्न सक्छ भनेर अहिलेबाटै काम थाल्नुपर्ने सुरक्षा विश्लेषकहरुको मत छ। जेहादको नाममा अन्य मुस्लिम युवाहरुलाई पनि भर्ती गराउन सक्ने खतरालाई ध्यान दिनुपर्ने सुरक्षाविद्हरु बताउँछन्।

नेपालबाट अफ्रिकासम्म एक व्यक्ति मात्र पुगेर प्रशिक्षण दिएको कुराले नेपालमा पनि यस किसिमले जेहादी भर्ना प्रक्रिया शुरु भइसकेको संकेत मिल्ने बताउँछन सुरक्षाविदहरु। यसको विस्तार हुन नदिन नेपाल सरकार र सुरक्षा निकायहरु सतर्क हुनपर्ने बताउँछन जानकारहरु।

सोमालिया सरकारसँग समन्वय गरेर मारिएको व्यक्तिको बारेमा विस्तृत विवरण लिनुपर्ने उनीहरुको धारणा छ। नेपाली नागरिक कसरी जेहादी भनेर अर्को देशमा गइरहेका छन् भन्ने कुरालाई अध्ययन गरि यसको निरुपणमा लाग्नुपर्ने सुरक्षा विदहरुको मत छ।

परराष्ट्र मन्त्रालयले समाचारमा आएको विषयमा बुझ्ने प्रयास भइरहेको बताएको छ। परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले हाम्राकुरासँग कुरा गर्दै भने, ‘समाचारमा आएको बिषयलाई हामीले बुझ्न कोशिस गरिराखेका छौ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ