arrow

हिलो छ्यापेर कृषकको सम्वृद्धिको कामना 

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
ropai.jpg

बागलुङ । १७ औं राष्ट्रिय धान दिवस गलकोटमा पनि सामूहिक धान रोपाई गरेर मनाइएको छ । गलकोट नगरपालिका वडा नं ८ काँडेबासको आयोजनामा धान दिवस तथा असार १५ मनाइएको हो । 

कृषि उत्पादनलाई प्रोत्साहन गर्दै पर निर्भरतालाई कम गर्न र बाँझो जमीनको सदुपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न यो कार्यक्रम आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए । 

उनले भने उत्पादनलाई जोड नदिने हो भने भाषण र गफले मात्रै देश समृद्ध हुँदैन । कृषि प्रधान देश नेपालमा कृषिको प्रचुर सम्भावना छ हामीले कृषि मार्फत आम्दानीको स्रोत बढाउनु पर्छ । काडेबास स्वास्थ्य चौकीको केही वर्षदेखि बाँझो रहेको जमीनमा धान रोपाई गरिएको वडा अध्यक्ष कँडेलले बताए । 

हामीले कृषकलाई कृषिमा आकर्षित गर्दै प्रोत्सान गर्न यो कार्यक्रम आयोजना गरेका हौं अध्यक्ष कँडेलको भनाई छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय कृषि विकास समिति, ग्रामिण महिला आत्मनिर्भर समाज र बसन्त ऋतु आमा समुहको समन्वयमा उक्त धान रोपाइँ गरिएको हो । 

कार्यक्रममा कृषकहरुलाई टिमुर र कागतीका विरुवा वितरण समेत गरिएको थियो । काँडेबासमा कृषि सेवा केन्द्रले एक घर परिवारले कम्तीमा ५ टिमुरको बोट लगाउनै पर्ने व्यवस्था गरेको छ । 

सो कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर, प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीको विशेष उपस्थिति रहेको थियो । 

त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कृषि क्षेत्रमा कृषकहरुको आकर्षण गर्न गलकोट नगरपालिका सदैव क्रियाशील रहेको बताए । कृषिले नै मानव जीवन जिउने हुँदा विश्वमा सबै भन्दा महान् व्यक्ति कृषक नै भएको उनको भनाइ छ । 

गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले हामीले वर्षको एक दिन मात्र कृषिका कुरा नगरेर किसानलाई यसतर्फ आकर्षित गर्न आवश्यक उपकरण, बीउ बिजन सहयोग सँगसँगै कृषिमा आधुनिकीकरण गर्नु पर्ने धारणा राखे। 

१७ औं राष्ट्रिय धान दिवसको अवसरमा गलकोट नगरपालिकाले सबैमा शुभकामना समेत व्यक्त गरेको छ । धान रोपाइँमा स्थानीय हल गोरु सहितका हली, बाउसे, खेतालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

गलकोट नगरपालिका विगत केही वर्ष यता राष्ट्रिय धान दिवस मनाईदै आइएको छ । धान रोपाइँमा खेतालीहरु, बाउसेहरुले निकै रोमाञ्चक पूर्वक एक अर्कामा हिलो छ्यापा छ्याप गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ