arrow

अमेरिकामा एकैदिन ५० हजार भन्दा बढी कोरोना संक्रमित, ट्रम्पलाई मास्क लगाउन आग्रह

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
trump17.jpg

काठमाडौं । अमेरिकामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् । बुधबार ५० हजार ६४७ जना संक्रमित बढेका छन् । 

यो २४ घण्टामा अहिलेसम्मकै बढी हो । योसंगै कोरोना संक्रमित २७ लाख ७८ हजार ५०० जना पुगेका छन् । मृतक ६६७ जना थपिएका छन् । 

अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ७८९ पुगेको छ । ११ लाख ५९ हजार ७४३ जनालाई निको भएको छ । 

१५ हजार ८८१ जना गम्भीर बिरामी रहेका छन् । 

कुन राज्यमा कति ?
न्यूयोर्कमा सबैभन्दा बढी ४ लाख १८ हजार ६०५ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७६९ जना थपिएका छन् । १४ जना मृतक थपिएर ३२ हजार १४३ जना मृतक पुगेका छन् । 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी टेक्सासमा ७ हजार ९०८ जना संक्रमित थपिएका छन् । फ्लोरिडामा ६ हजार ५६३ जना संक्रमित थपिएका छन् । क्यालिफोर्नियामा ६ हजार ३१४, अरिजोनामा ४ हजार ८७७ जना र जर्जियामा २ हजार ९४६ जना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ज्यान अरिजोनामा ८८ जनाको गएको छ । क्यालिफोर्नियामा ८२ तथा फोरिडामा ४९ जनाको ज्यान गएको छ । 

ट्रम्पलाई मास्क लगाउन आग्रह
अमेरिकामा धेरै संक्रमित थपिएको र मृतक पनि नरोकिएको सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मास्क लगाएर उदाहरणीय बन्न आग्रह गरिएको छ । 

ट्रम्पले भने मास्क लगाउन मानिरहेका छैनन् । उनी विश्व स्वास्थ्य संगठन डब्लुएचओको गाइडलाइन तोडिरहेका छन् । उनले डब्लुएचओसंगको सम्बन्ध नै तोडेका छन् । 

ट्रम्पले कोभिड–१९ रोक्न मास्क लगाउनु जरुरी नभएको बताएको बीबीसीले लेखेको छ । फक्स न्यूजमा एक शीर्ष रिपब्लिकन नेताले उदाहरणको रुपमा मास्क लगाउन गरेको आग्रहपछि उनको यस्तो प्रतिक्रिया आएको हो । 

ट्रम्प मास्क लगाउनु र सामाजिक दूरीमा रहनुको सट्टा जनसमुदाय बढाएर चुनाव प्रचारमा लागेका छन् । उनी फेरि राष्ट्रपति बन्न चाहन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ