arrow

सलहको भाउ बढ्यो, २०–२५ हैन अब किलोको ५० 

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
salaha2.jpg

काठमाडौं । नेपालमा अप्रत्याशित भित्रिएको सलह किरोको भाउ दिनानुदिन बढ्दो छ । सलह संकलन गरेर दिनेलाई गत शनिबार नै प्रदेश नम्बर ५ ले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको थियो । 

त्यसको अर्को दिन सुदूरपश्चिम प्रदेशले २५ रुपैयाँ दिने निर्णय गर्यो । अब यसको भाउ बढेको छ । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने जनाएको छ । 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो ।
 
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए । 

टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
 
यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । 

टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ ।

टोखामा ११ वडा रहेका छन् ।

सलहमा प्रोटिन हुने भन्ने भएपछि अहिले त्यसको प्रयोग मानिसले नै गर्न थालेका छन् । उनीहरुले खाजामा यसलाई फ्राइ गरेर खान थालेका समाचार आइरहेका छन् । 

यद्यपि चिकित्सकहरुले यसको प्रयोग उचित अनुचित भनी केही बताएका छैनन् । 

कुनै विषादी नहाल्न आग्रह, किलोको सय दिन तयार 
कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन् । 

“कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखेका छन्, “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।”

कृषिविज्ञ राईले आइतबार लेखेका छन्, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।” उनले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन् । 

विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ । 

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ ।

 “बालीनालीमा देखिएको छैन”, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले भने, “लगातार परिरहेको पानीले रोकेर घरको भित्तामा ओत लागेको हुन सक्छ ।”

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । 

जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि जिल्लास्थित स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ