arrow

कोरोनाको संक्रमण कम देखाएर जिम्मेवारीबाट पन्छिदै सरकार

logo
प्रकाशित २०७७ असार २४ बुधबार
bhanu-bhakta-dhakal-ministe.jpg

काठमाडौं । नेपाल सरकार कोरोना भाइरसका संक्रमित कम देखाएर पन्छिँदै गएको छ । पहिलेका तुलनामा निरन्तर पीसीआर परीक्षण घटाउँदै गएपछि सरकार यसबाट पन्छिदै गएको स्पष्ट हुन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने बताए पनि हाल दैनिक ४ हजार ५ सयको हाराहारीमा मात्र परीक्षण हुँदै आएको छ । 

गत जेठ २३ गते सुदूरपश्चिम स्वास्थ निर्देशनालयले सूचना जारी गर्दै स्वाब संकलन नगर्न उर्दि जारी गर्यो । सुदूरपश्चिम सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दैनिक २ सय ५० वटा नमुना मात्रै परिक्षण गर्ने क्षमता रहेको र २२ जेठसम्म १ हजार ८३ नमुना परिक्षण नसकेर थन्किएको २३ जेठको सूचनामार्फत जानकारी गराइयो ।

सुदूरपश्चिमका गाउँ गाउँबाट स्वाब संकलन भइरहने तर धेरै दिनसम्म परिक्षण नहुँदा स्वाब बिग्रने भन्दै ५ दिन स्वाब संकलन नगर्न सूचनामा उल्लेख थियो ।

अहिले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान दाङ र सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालाको अवस्था पनि उस्तै छ । ती दुई प्रयोगशालामा परिक्षणका लागि संकलन गरिएका स्वाब परिक्षण हुन नपाएर थन्किएका छन् । 

दुबै प्रयोगशालाले अहिले स्वाब संकलन नै रोकेका छन् । यी प्रतिनिधिमुलक उदाहरण हुन् । यी उदाहरणबाट कोरोना परिक्षणका लागि स्वाब संकलन नभएको र समग्रमा कोरोना परिक्षण नै न्युन भइरहेको प्रष्ट हुन्छ । 

तर सरकार भने परिक्षणको दायरा घटाएरै कोरोना परिक्षण कम भइसकेको दावी गरिरहेको छ । मंगलबार कोरोना भाइरस नेपालको पछिल्लो अपडेट जानकारी गराउँदा स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तथ्याङ्क नै प्रस्तुत गरेर कोरोना संक्रमण कम भइसकेको दावी गरे । उनले ४ जिल्ला कोरोना मुक्त भइसकेको दावी समेत गरे ।

गत शुक्रबार यताको तथ्याङ्क प्रस्तुत गर्दै संक्रमणको दर घट्दो रहेको दावी गौतमको थियो । यद्यपि उनले प्रस्तुत गरेको तथ्याङ्कबाट नै परिक्षण बढाउदा संक्रमण पनि बढ्दो देखिने र परिक्षण घटाउँदा संक्रमण पनि घट्दो हुने पुष्टि हुन्छ । 

तथ्याङ्क अनुसार शनिबार ४ हजार ५० नमुना परिक्षण गरिएका छन् । त्यसमध्ये ५ प्रतिशत अथार्त २ सय ३२ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै आइतबार ४ हजार ७ सय १० नमुना परिक्षण गर्दा ६ प्रतिशत अर्थात २ सय ९३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

परिक्षणको दायरा नै घटाएर कोरोना संक्रमण घटेको झुटो दावी सरकारले गरिरहेको स्वास्थ सेवा विभागका पूर्वमहानिर्देशक लक्ष्मीराज पाठक बताउँछन् । 

सरकारले परिक्षणका लागि स्वाब संकलन नै नगरी कोरोना संक्रमण घटेको झुटो जानकारी गराएर जिम्मेवारीबाट पन्छिन खोजेको पूर्वमहानिर्देशक पाठकको बुझाई छ ।

 ‘स्वाब संकलन नै कम गरेका छन् । संकलन गरिएका सबै स्वाब टेष्ट पनि भएका छैनन्’ उनी भन्छन्, ‘स्वाब परिक्षण नभएर थन्किएको छ । क्युमा राखेको छ । सुर्खेतमा पनि त्यस्तै छ । दाङपनि त्यस्तै छ । टेष्ट नै नभए कोरोना छैन भन्न नि पाइयो ।’

अहिले काठमाडौं बाहिरका प्रयोगशालाहरुमा परिक्षण नभएका स्वाब परिक्षणका लागि काठमाडौं ल्याउने गरिएको छ । तर, काठमाडौं ल्याएका स्वाब पनि सबै परिक्षण गरिएका छैनन् । ‘स्वाब संकलन नगरेपछि टेष्ट गर्नु परेन । टेष्ट नै भएन भने कोरोना छैन, केस बढी देखिएन भन्न पनि पाइयो’ पाठक थप्छन् ।

कोरोना टेष्ट नै नगरेपछि स्वभाविकरुपमा कोरोना कम देखिने पाठकले भनाई छ । त्यस्तै पाठकले सरकारले कोरोना संक्रम घटेको भनेर सरकारले आफ्नो जिम्मेवारीबाट पञ्छिन खोजेको समेत बताए । 

विज्ञहरुले काठमाडौंको ढलमा कोरोना परिक्षण गरेर ढलमा कोरोना रहेको पुष्टि गर्दा सरकारले ढलबाट कोरोना नसर्ने भन्दै पन्छिएको पाठकको आरोप छ ।

 ‘कोरोना संक्रमण पुष्टि भएकाहरु आइसोलेसनमा छन् । सरकारले जाँच नै नगरेका क्षेत्रबाट ढल संकलन गरी कोरोना परिक्षण गरिएको जाँचकर्ताको टोलीले सरकारलाई जानकारी गरायो’ पाठकले भने, ‘त्यो क्षेत्रमा गएर कन्ट्र्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्नुको सट्टा सरकारले सर्दैन भनिदियो । यो हेर्दा सरकारले पन्छिन खोजेकै देखिन्छ ।’

सामुदायमा कोरोना छ कि छैन भनेर पत्ता लगाउन निश्चित क्षेत्रको ढल परिक्षण गर्ने विधि उपयुक्त रहेको पाठकको भनाई छ । ‘ढलमा पुष्टि भइसकेपछि सम्बन्धित सामुदायको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने हो भने यो विधि उपयुक्त हो’ पाठकले भने, ‘जापानले ढलको परिक्षण गरेर सम्बन्धित सामुदायको कन्ट्र्याक्ट ट्रेसिङबाट राम्रो परिक्षण गर्यो । अहिले भारतको दिल्लीमा यसरी नै भइरहेको छ ।’

यसअघि विज्ञहरुको एउटा समुहले काठमाडौंको ढलमा कोरोना परिक्षण गरी सरकारलाई जानकारी गराएको थियो ।
सरकारले कोरोना संक्रमण कम भनेर, ढलबाट सर्दैन भनेर पन्छिनु भन्दा कीटको व्यवस्था गरेर स्वाब संकलन गरी परिक्षणको दायरा बढाउनु मुलुकको हीतमा हुने पाठकको  सुझाव छ । 

यसअघि मंगलबार स्वास्थ मन्त्रालयले ६ हजार १ सय ३३ नमुना स्वाब परिक्षण गरिएको जानकारी दिएको हो । त्यसमध्ये २ सय ४ जनालाई कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रबार ४ हजार ४ सय ८३ नमुना, शनिबार ४ हजार ५० नमुना परिक्षण गरिएका थिए ।

त्यस्तै आइतबार ४ हजार ७ सय १० नमुना परिक्षण गरिएकोमा सोमबार ४ हजार ७ सय नमुना परिक्षण गरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ