arrow

सुरक्षाकर्मी सहितको टोली गाथ लिएर हिड्यो छायाँनाथ धाम

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
chhayanath-mugu.jpg

मुगु। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेको छायाँनाथको मन्दिरबाट भगवान शिव र सतीदेवीको (गाथ) मुर्ती लिएर पुजारी, सुरक्षाकर्मी तथा स्थानियहरुको टोली छायाँनाथ धाम यात्राको लागी हिडेको छ ।

जिल्लाको मुगुमकार्मारोङ्ग गाँउपालिकाको वडा नं १ डोल्फुमा रहेको छायाँनाथ धाम र जिल्लाकै छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ मा रहेको ऋणीमोक्ष धाममा वर्षेनी साउनको अष्ठमीदेखि पुर्णीमासम्म देश भित्रका र छिमेकी देश भारतबाट समेत हजारौ तिर्थयात्रुहरु आफना कुल देवताको शुद्धी, नयाँ धामी, झाक्री औतार गर्न, आफुले चाहेको बर माग्न र पितृहरुको सम्झना गर्न तिर्थालु तथा भक्तजनहरु पुग्ने गर्छन्। 

हिन्दुहरुको धार्मिक ग्रन्थ श्रीस्वस्थानी व्रत कथाको १० औं अध्यायका अनुसार दक्षप्रजापतीले आफनो घरमा लगाएको महायज्ञमा ३३ कोटी देवी देवताहरुलाई बोलाएपनि भगवान महादेवलाई नबोलाउदा छोरी सतीदेवीले आफना बुवा दक्षप्रजापतीलाई नबोलाउनुका कारण सोध्दा दक्ष प्रजापतीले महादेवलाई नानाथरीको आरोप र लाल्छना लगाउदै बेइज्जत गरेका थिए। आफ्नै पिताले गरेको पतिको बेइज्जत सहन नसकि यज्ञको होम कुन्डमा हामफाली प्राण त्याग गरेपछि महादेव विरक्त भई सतीदेवीको लास बोकी पृथ्वी लोकमा घुम्दै जादा सतीदेवीका अंग जहाँ जहाँ पतन भए ति स्थान शक्तिपिठका रुपमा स्थापना भएको विश्वास गरिन्छ। यसैगरि सतीदेवीका अन्तिममा बाँकी रहेका सबै अंग पतन भएको छायाँनाथ अदभुत शक्ति पिठका रुपमा रहदै आएको उल्लेख छ। अहिले पनि भगवान महादेव सतीदेवीका अन्तिममा बाकी रहेका सम्पुर्ण अंग पतन भएको छायाँनाथ धाममा सतीदेवीको मायाले साक्षात रहि यतै बसेको हिन्दुहरु विश्वास गर्ने गर्छन। 

उता ऋणीमोक्ष तीर्थस्थल बारे हिन्दु धर्मालम्बीहरु छाँयानाथमा महादेव बसेकाले उहाँको ध्यान सतीदेवीबाट मोक्ष गराउन अप्सरा तथा देवीहरुले ऋणीमोक्षमा नाचगान गरेको र महादेवलाई सतीदेवीबाट ऋणमोक्ष गर्न नसकेकाले अझै पनि स्वर्गका अप्सरा तथा देवी देवताहरु त्यहाँ रहेको भन्दै पुजाआजा र आफना पाप मोक्ष र बर प्राप्तीका लागी आउने गरेको पुजारी पुर्ण प्रसाद चौलागाँई बताउँछन् । 

हिन्दुधर्मालम्विहरुको प्रमुख आस्थाको केन्द मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण भन्दै आवगमनमा रोक लगाएपनि साउन महिनामा छायाँनाथ धाममा गाथ लिनै पर्ने बाध्यकारी अवस्थाका कारण गाथ सहित सुरक्षाकर्मी, पुजारी र भक्तालु सर्वसाधारण छायाँनाथ धामतर्फ हिडेको पुजारी चौलागाँईले जानकारी दिए।

छायाँनाथ र ऋणीमोक्ष धाम उच्च हिमाली क्षेत्रमा रहेका र यहाँ बाह्रै महिना हिउँ जम्ने भएकाले दैनिक पुजाआजा गर्न समस्या हुने भएकाले महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र ऋणीमोक्ष मन्दिरमा राखिदै आएका छन् भने प्रत्येक वर्ष साउन महिनामा मात्र सुरक्षाकर्मी सहित गाध (मुर्ती)छायाँनाथ र ऋणीमोक्ष धाममा पुजाआजा र भक्तजनहरुको दर्शनका लागी  लैजाने गरिन्छ ।

छायाँनाथ मन्दिर रहेको चैनगाँउबाट छायाँनाथ धाम ३ दिन टाढा हिमालमा रहेको र त्यहाँ बास, गाँसको व्यवस्था नहुने भएकाले तिर्थालुहरुले आफै बास गाँसको जोहो गरेर यात्रामा जाने गरेकाछन् । विश्वमा रहेका हिन्दु, बौद्ध तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार प्रसार र भौतिक विकास राज्यका निकायहरुबाट हुन नसक्दा देशले धार्मिक पर्यटन गुमाउदै आएको छ । देश तथा कर्णाली प्रदेशमा धार्मिक पर्यटनबाट जनतालाई आर्थिक सम्पन्न गराउने हो भने संघिय,प्रदेश तथा स्थानिय सरकारहरुले आ आफनो क्षमता अनुसार छायाँनाथको विकासमा लगानी गर्नु पर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ