सवारी पास दुरुपयोग गर्ने दुई चालकसहित बस नियन्त्रणमा 

प्रकाशित मिति : २०७७ श्रावण १६ शुक्रबार
तस्वीर–डोटीबाट तराई गइरहेको जीपको सवारी पास जाँच गर्दै ट्राफिक प्रहरी ।

गोदावरी । कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।
     
प्रहरीले अछामको चौरपाटी गाउँपालिका–५ बस्ने गोकुल खड्कासहित ना४ख ९९७२ नंको बस  नियन्त्रणमा लिएको जनाएको छ ।

सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना७ख २७२३ नंको बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु राखेको पाइएकाले  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

 

नयाँ