arrow

माफ गर छोरी

logo
केशवविक्रम सिंह,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
keshav-bikram-singh.jpg

प्रिय छोरी निर्भाना,
कोरोना महामारी र लकडाउनले निम्त्याएको हाम्रो दैनिकीबारे तिम्रो मौन अनुमति लिएर यहाँ प्रस्तुत गर्दैछु । तिमी नौं वर्षकी भएर यहाँसम्म आइपुग्दा तिम्रो बारेमा अनेक रोमाञ्चित बनाउने प्रसंगहरु संगालेको छु । यस्तै प्रसंग यो लकडाउनले पनि जुरायो । नोकझोक, वादविवाद, घुर्की, फुर्ती हाम्रो दैनिकी नै बन्यो । लकडाउनको महिनामा तिमि र म बिच, त्यति वादविवाद अहिलेसम्म कहिल्यै भएको थिएन। जसको साक्षी तिम्रो आमा छँदैछिन । तिमीलाई थाहा छ मैले लकडाउन पूर्व कहिल्यै तिमीलाई,' तँ' शब्दले सम्बोधन गरिन । तर आजकाल तिमीलाई दिनहुँ तँ भन्छु तिमीसँग अलि बढी झर्किन्छु । हामीबिच झगडा प्रमुख कारण इन्टरनेट भएको छ । तिमी गलत छैनौं । दोष तिम्रो होइन । मैले इन्टरनेट दुर्व्यसनकाे पूर्वानुमान लगाउन नसक्नु, तिमीलाई इन्टरनेटकाे अलावा सफ्ट स्कीलकाे कार्यमा नलगाउनु, तिमीलाई दैनिकीकाे कार्य विभाजन गर्न नसक्नु आदि मेरा दोष रहे । 

हरेक अभिभावकले आफ्ना छोराछोरीका लागि वास्तविक जीवनसँगै स्वप्न जीवनमा आफूलाई हिँडाइ रहेका हुन्छन् । त्यही स्वप्न जीवनमा आफ्ना छोराछोरीहरूलाई आफू अनुकूलकाे ठूलो मान्छे निकट भबिष्यमा भएको सपना देख्छन् । तर त्यो ठूलो मान्छे गराउने यात्रामा आफ्नो अभिभावकत्व कहाँ चुक्यो धेरै कमले मात्र हेक्का राख्दछन् । तिम्रो बाबा पनि यस्तै हेक्का नराख्ने मध्येकाे एक हो कुनै शंका छैन । मलाई राम्ररी थाहा छ तिम्रो उमेर खाने/खेल्ने हो । हाम्रा नजिक तिम्रो उमेर समुहका खेल्ने साथी नहुनु अनि भएका तिम्रा साथीहरुसंग घुलमिल हुन सामाजिक दूरी बाधक बन्नुकाे कारण नै मोबाइल/ल्यापटप तिम्रो प्रिय साथी बन्यो । मैले आफ्नो श्रम/ पसिनाले तिम्रो लागि मोबाइल साटीदिएँ । फगत त्यो निर्जीव मोबाइल । तर मोबाइलसँगकाे तिम्रो संगतमा तिमीलाई हुने फाइदा/बेफाईदाकाे लेखाजोखा गर्न अनि तिमीलाई बताउन सकिन । मलाई थाहा छ गल्ती तिम्रो होइन । मोबाइल दिए तिमी युट्युबकाे संसारमा हरायौ । आखिर त्यो युट्युबकाे लोकमा अन्धाधुन्द तिमीलाई धकेल्ने नै मै हुँ । तिमी त्यो लोकमा निस्सासिएकोमा अब धेरै हेर्न/ सहन सक्दिन ।

निर्भाना, तिमीलाई तिम्रो गल्ती बिना पनि तिमीसँग धेरै झर्किदा तिमीलाई कति झर्को लागेको होला त्यो म अनुमान लगाउन सक्छु । राम्रोसँग तिमीलाई सम्झाउन सक्ने कुरामा भोल्टेज बढाएर धेरै पटक झर्किए म रिसको आवेगमा । यसको लागि माफि चाहन्छु । अब तिमीलाई सही मार्गनिर्देश गरि असल बाबुकाे भूमिका निर्वाह गर्ने छु ।

तर तिमिसँग म किन रिसाएको छु त्यो तिमीले पनि बुझ्ने प्रयास गर । मैले कुनै कामकाे लागि तिमीलाई बोलाउँदा कम्तीमा पनि पाँच पटक बोलाउनु पर्ने भएको छ यस्तो अटेरी किन भयौ तिमीले थोरै भएपनि बुझ्ने प्रयास गर । आजकाल तिमीले गर्ने धेरै काम अधुरो/अपुरो हुन्छन्, आजकाल किन हो बारम्बार आफ्नो पुस्तक कपी लुकाउने बानी परेको छ, तिम्रो संसार नै तिम्रो कोठा बनेको छ र तिम्रो नित्य कर्म लथालिङ्ग भएको छ । तिमीले बुझ्नु पर्छ छोरी यो समय सिक्ने बुझ्ने समय हो । तिमीलाई कुनै पनि कुरामा प्रतिवन्ध लगाउने इच्छा छैन तर त्यसलाई बढावा दिनु हुन्न जुन कुरा लत बनोस । इन्टरनेट आज तिम्रो लागि लत भएको छ छोरी । संसारमा इन्टरनेट बाहेक पनि अन्य रचनात्मक कुराहरु छन् जुन हामीले बाहिर निस्केर हेर्न जरुरी छ । अहिले तिमी कोठामै रमाउने भयौ फलस्वरुप विद्युत आपूर्ति नहुँदा तिमीलाई अति पीडा हुन थालेको छ । यहि बीचमा तिमीले काम लाग्ने वस्तु पनि धेरै पटक विगार्‍यौ, थोरै चित्त दुख्यो पनि तर सहेका छौं । 

छोरी तिमीले इन्टरनेटमा अलम्लिरहँदा वराल्यौ मात्र ठानेका छैनौं तिमीले सिकेका कुराहरुप्रति पनि नतमस्तक छौं । तिमीले धेरै प्रकारका परिकारका रेसेपी जानेकी छौं । आफ्नो उमेर र तहभन्दा विश्व ब्रम्हाण्डका कुरा बुझ्ने भएकी छौ । जुन तिम्रो तहकाे पाठ्यक्रमले निर्धारण गरेको भन्दा पनि धेरै अघि छ। फेसन, कस्टम डिजाइन, मेकअप तिम्रो हबी बनेको छ । मैले तिम्रो रुचि र तिम्रो भबिष्यकाे बारेमा थोरै भए पनि बुझ्ने मौका पाएको छु । तिमीले गर्ने नृत्य दिनप्रतिदिन कलात्मक हुँदै छ । बाँकी पनि सबै राम्रो हुँदै छ ।

छोरी तिमीलाई मेरो एउटा सुझाव छ संसार इन्टरनेटमै पाइन्छ । तर त्यो बन्द कोठामा इन्टरनेटमा पाइने संसार भन्दा तिम्रो वरपरको संसार पनि तिमीले बुझ्न जरुरी छ । त्यसतर्फ तिमीले अहिलेदेखि नै ध्यान दिनु । बाबु छोरीको नोकझोक त चल्दै रहन्छ । आखिर बाबाको मन न हो छोरीलाई नराम्रो होस त भन्दैननी । तिमीलाई बुझाउन प्रयास गर्दा भाका मिलेन होला त्यो पनि मिलाउन प्रयास गर्ने नै छु । तिमी पनि मेरो कुरालाई ध्यान दिनु ।

उही तिम्रो बाबा केशवविक्रम सिंह । 

गल्कोट नगरपालिका हरिचौर ५,बाग्लुङ



नयाँ