arrow

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमण पुनः वृद्धि

logo
एपी
प्रकाशित २०७७ साउन ३१ शनिबार
south-korea.jpg

सियोल। दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुन: बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन्। गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन सङ्क्रमित व्यक्तिको सङ्ख्या सबैभन्दा धेरै हो।

पाँच करोड १० लाख जनसङ्ख्या रहेको राजधानी शहर सियोलमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि सरकारले सङ्क्रमण नियन्त्रणका उपायहरूलाई थप कडा पारिरहेको छ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १५ हजार ३९ रहेको र ३०५ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ।

केसीडीसीले नयाँ सङ्क्रमितमध्ये १५५ जना स्थानीय रहेको र अन्य कोरियामा विभिन्न कामको शिलशिलामा पुगेका विदेशी रहेको  बताएको छ। सङ्क्रमितमध्ये अधिकांश राजधानी शहर र वरपरका क्षेत्रका नागरिक हुन्।

अधिकारीहरूले पुनः सङ्क्रमण देखिन थालेपछि तत्काल हजारौं चर्चहरूलाई बन्द गर्न निर्देशन गरेका छन्। कोरियामा सङ्क्रमण फैलिनसक्ने एउटा प्रमुख क्षेत्रका रूपमा चर्चलाई लिएका छन्। यस पहिले पनि कोरियाको एक चर्चमा गएका केही व्यक्तिबाट सङ्क्रमण फैलिएको थियो। त्यसैगरी नर्सिङ होम, विद्यालय, रेस्टुरेण्ट र धेरै उपभोक्ताको भेला हुने बजारहरू रहेका छन्।

सरकारी अधिकारीहरूले शनिबार सियोलमा सरकारको विरोधमा प्रदर्शनकारी र मजदुर युनियनहरूले गरेको प्रदर्शनका कारण सङ्क्रमण अझ फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सङ्क्रमण वृद्धि भएका कारण ठूला शहरहरूमा सामाजिक दूरीको उपायहरूलाई अझ कडा बनाउन सक्ने अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म आर्थिक चिन्ताको कारण शहरी क्षेत्रमा खासै कडाई गरिएको छैन। सरकारले सार्वजनिक जमघटमा प्रतिबन्ध, मनोरन्जन स्थलहरूलाई बन्द गर्ने र बेसबल र अन्य व्यावसायिक खेलहरूबाट प्रशंसकहरू हटाउनेजस्ता प्रतिबन्ध समावेश गर्न सक्ने बताएको छ। दक्षिण कोरियाले जुलाईको अन्त्यदेखि आंशिक रूपमा दर्शकहरूलाई खेल हेर्न खुला गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ