- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको महिला आन्दोलनमा सबैले सम्झिने नाम मंगलादेवी सिंह सदैव अग्रस्थानमा छिन् । महिला आन्दोलनको समिक्षा गर्दा उहाँको नाम स्वतः आउँछ । किन त ? नेतृत्वमा त्याग, धैर्यता, कठिन परिस्थितिमा आफ्नो उपस्थिति जनाउन सक्ने क्षमता हुनुपर्छ । नेतृत्वले आशा जगाउनु पर्छ । कठिन परिस्थितिमा समस्याबाट भागेर होइन नेतृत्व प्रदान गर्न सक्ने हुनुपर्छ । भावी मार्गचित्र देखाउनु पर्छ । त्यही क्षमताका कारण उनलाई सम्झिनेहरु धेरै छन्।
तत्कालीन अवस्थामा महिला अधिकार स्थापित गर्न छुट्टै संगठन आवश्यक छ भनेर दुरदृष्टी राखेर नेपाल महिला संघ स्थापना उहाले गर्नुभयो । वि.स. २००४ सालमा भूमिगतरुपमा महिला संघको स्थापना गरेर २००५ सालमा जहानीया राणा शासनको विरुद्धमा दरबारमा महिलाहरुको जुलुस लिएर जानु भएको इतिहास छ । यसले उहाँको राजनीतिक चेतलाई प्रष्ट पार्छ । उहाँले २००७ सालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नु भएको इतिहास साक्षी छ।
यी विरंगानाको बारेमा मैले पहिलो पकट नाम सुनेको उहाँको देहबसान भएको दिन हो । म कक्षा ८ मा पढ्थे जस्तो लाग्छ। त्यसबेला मलाई चिरन्जिवि तिम्सिना दाजुले गणित पढाउँदै हुनुहुन्थ्यो । विहान ७ बजेको समाचारमा मंगलादेवि सिंहको मृत्यू भएको खबर सुनेपछि दाजुले हतार हतार उहाँको डायरीमा मृत्यू भएको मिति टिप्नु भो र भन्नु भो ला ! मंगलादेवि सिंह पनि मरिन् । मलाइ लाग्छ दाजु त्यसबेला अधिकृतको लागि लोकसेवाको तयारी गरिरहेको हुनुपर्छ । को रहेछिन ? मंगलादेवि सिंह मेरो मनमा प्रश्न उठ्यो तर मैले दाजुलाई सोध्ने आँट गरिन । उहाँको बारेमा मैले पछि सुन्दा, पढ्दा पो थाहा पाए दाजुले किन महत्वका साथ मंगलादेवि सिंहको मृत्यु भएको मिति टिप्नु भएको रहेछ भनेर।
वि.स.१९८१ मा काठमाण्डौमा जन्मिएकी सिंहको विवाह लौहपुरुष गणेशमान सिंहसंग भएको थियो । विवाह गरेको ४ महिना पश्चात् अर्थात सोही सालकै कार्तिकमा प्रजापरिषद काण्डमा परी गणेशमान सिंह जन्मकैद भए पछि मंगलादेवि सिंह विरोधी आन्दोलनमा सक्रिय हुनुभयो।
नेपाली महिलाको लागि प्रेरणाको स्रोत हो । परिवारमा राजनीतिक पहुँच भए पनि महिला र समाजका लागि योगदान दिनुपर्छ भनेर तत्कालीन कठिन परिस्थितिमा स्व्तस्फूर्त रुपमा नेतृत्व लिने दृढइच्छा शक्तिले नै उहाँको सोचलाई प्रष्ट पार्छ ।
२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राणा शासन विरुद्धको ठूलो सशस्त्र कान्ति भयो । उक्त क्रान्तिमा मंगलादेवि सिंह लागायत दिब्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, विजया लक्ष्मी, नोना कोइराला आदिले गोप्यरुपमा क्रान्तिका लागि ल्याएका हात हतियार राख्ने र घाइतेको औषधोपचार गराउनुका साथै क्रान्ति सफल पार्नका लागि आवश्वयक भूमिका निर्वाह गर्नु भएको जानकारहरुले बताउने गरेका छन । कतिखेर राणाहरुले समातेर पक्रने हुन्, थुन्ने हुन भन्ने कुराको कुनै प्रवाह नगरी जसरी पनि राणाहरु हट्नु पर्छ, जनताको शासन आउनु पर्छ भनेर एकजुट भएर लाग्नुहुने तमाम् अग्रजहरुलाई आजको दिन म स्मरण गर्न चाहन्छु ।
उहाँको राजनीतिक लडाइँ जारी राख्नुभयो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले मुलुकको पहिलो निर्वाचित सरकार र संसद माथि ‘कु’ गरेर सैन्यबलमा शाही निरंकुशता सुरु गरे । त्यसको विरोध गर्दा उहाँलाई ५ वर्ष कैद गरिएको थियो । पारिवारिक सुख सयल अनि काखको दुधेबालकको प्रवाह नगरी उहाँले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि अपुग हुन्छ ।
नेपाल महिला संघको गठन प्रजातन्त्र प्राप्तिका साथै महिला हक, हितका लागि स्थापना भएको थियो । प्रजातन्त्र पश्चात् महिलाहरुले मताधिकारी प्रयोग गर्न पाउनु पर्छ, पढ्न पाउनु पर्छ भन्ने आवाज नेपालको इतिहासमा उठाउने पहिलो निर्भिक र साहसी विराङ्गाना स्व.मंगलादेवी सिंहको आज (भदौ १०) २४ औं स्मृति दिवस हो । उहाँ आज हामी माझ हुनुहुन्न । तर उहाँका अनुयायीहरुले आज पनि त्यही जगमा टेकेर जनताका अधिकार भित्र पनि महिला अधिकार कार्यान्वयनको लागि आन्दोलन् गर्न परिरहेको यथार्थता छ । उहाँले जहिले पनि अधिकारका संगसगै कर्तब्य बिर्सन नहुने कुरामा जोड दिएको हामीले बताउछौं । जुन आज पनि उत्तिकै सान्दिर्भिक र महत्वपूर्ण छ ।
महिला संघको गठन पश्चात त्यस समयमा उहाँले शिक्षाको विकासका लागि महिला विद्यालयको स्थापना गर्न पहल गर्नुभयो । त्यस बेलादेखि हालसम्मका महिला मुक्ति आन्दोलनको सफलताले राज्यको नीति निर्माण गर्ने तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिस्चित भएको छ । महिला आन्दोलनले केही उल्लेख्य उपलब्धीहरु भए पनि अझै पूर्ण छैन । जनसंख्याका आधारमा महिला सहभागिता ५० प्रतिशत पुर्याउन तथा अन्य अधिकारको सुनिश्चितताको लागि महिला मुक्तिको आन्दोलन जारी छ । राजनीतिमा महिलाको योगदानलाई स्वीकार्ने । तर, नेतृत्वमा आँउन हिच्किचाउने प्रवृत्ति छ । संविधानमा लेख्दैमा अधिकार प्राप्त हुँदैन । अहिले पनि नेपाली कांग्रेसलगायत प्रमुख राजनीतिक दलको निर्णायक तहमा महिला सहभागिता करिब शून्यको अवस्था छ । राजनीतिक दलको निर्णायक तहमा महिला पुग्नुपर्छ ।
वि.स.२००७ साल अगाडि राजनीतिमा महिला सहभागिता शुन्य थियो । आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक अधिकारबाट महिला बन्चित थिए । यस्तो बञ्चितिकरणको विरुद्धमा राणा शासनविरुद्ध आवाज उठाउन नेपालको पहिलो महिला योद्धा योगमाया न्यौपानेको योगदानलाई पनि विर्सनु हुँदैन । महिलाको मात्र त के कुरा त्यसबेला त सम्पूर्ण नेपाली जनताको अधिकार नै कुण्ठित भएका बेला पुरुषहरुलाई राजनीतिमा सफल बनाउनका लागि महिलाहरुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । त्यस्तै मंगलादेवि सिंहको पनि गणेशमान सिंहलाई सर्वमान्य नेता बनाउनका लागि ठूलो योगदान पुर्याउनु भएको पाइन्छ ।
महिलाहरुका लागि मताधिकार र विद्यालय स्थापना हुनुपर्ने मागबाट सुरु भएको आन्दोलन महिलाहरुलाई राजनैतिकदेखि प्रसाशनिक क्षेत्रको उच्च स्थान सम्म पुर्याउन केही हदसम्म सफल भएको छ । विगत र वर्तमानलाई तुलना गर्ने हो भने आर्थिक, सामाजिक, शैक्षिक तथा राजनैतिक रुपमा धेरै परिवर्तन भएको छ । संविधानमा महिलाका कानूनी अधिकार राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत अनिवार्य समावेश गर्नुपर्ने नीतिले महिलाहरुलाई देशको राजनीतिमा सशक्त भूमिका खेल्ने अवसर प्रदान गरेको छ ।
राज्य प्रणालीमा महिला सहभागिताको सुनिस्चित गर्ने प्रयास भएको छ । संसद्को सभामुख र उपसभामुख मध्ये एक जना अनिवार्य महिला राख्ने व्यवस्था भएको छ । पार्टीका संरचनामा पहिलो र दोस्रो मध्ये एक महिला राख्न किन नहुने ? अब महिला संघले अब आफ्नै मातृ पार्टी नेपाली काग्रेस भित्र यो बहस चलाउनु पर्छ । पार्टीको नेतृत्वमा लैंगिक सन्तुलन कायम गर्नुपर्छ । तत्कालीन समयमा जसरी मंगलादेवीले महिलाका एजेण्डालाई नेतृत्वदायी भूमिका निर्वाह गरेर स्थापित गर्नुभयो । अहिले महिला संघले पनि त्यसैगरी नेतृत्व गर्नुपर्छ ।
राणा शासनको कठिन परिस्थितिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको महिला नेताहरुको सपना साकार पार्नका लागि उनै मंगलादेवि सिहंको नेतृत्वमा स्थापना भएको नेपाल महिला संघले आफ्नो क्रियाशिलता बढाउनु आवश्यक छ । महिलाका जल्दाबल्दा समस्याहरुसंगै विविध क्षेत्रमा कार्यरत कामकाजी महिलाका समस्याहरु कस्ता छन् ? गृहिणी महिलाहरुका समस्या के छन् ? राजनैतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने महिलाको समस्याहरुलाई समेतलाई मध्यनजर गरी सम्बोधन गर्नका लागि अझै जुझारु भएर लाग्नु पर्ने देखिन्छ । संविधान र कानुनमा भएका व्यवस्थो व्यवहारमा पूर्णत लागु नभइसकेको अवस्था छ । त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनका लागि नेपाल महिला संघले तल्लो तहदेखि माथिल्लो तहसम्म आन्तरिक छलफल गरेर नेतृत्व लिनुपर्छ । महिलाको शसक्तिकरण गर्दै दबाब सृजना गरेर कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व महिला संघमा छ । तब मात्र मंगलादेवीले लिएको सपनाले सार्थकता पाउने छ ।
(लेखिका नेपाल महिला संघ, धनकुटासँग सम्बन्धित छन्।)