arrow

किनोशामा गोली चलाउने युवक पक्राउ, नियन्त्रण गर्न सेना परिचालन

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
usa-police.jpg

किनोशा, संयुक्तराज्य अमेरिका । संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोनोइज राज्यको एन्टिओजका ती १७ वर्षीय युवक काइल रिटेनहाउजलाई प्रदर्शनकारीमाथि गोली चलाएको आरोप छ । प्रहरीको समर्थक बताउने ती युवकले भीडमा छिरेर प्रदर्शनकारीमाथि गोली चलाएका थिए । 

उनले चलाएको गोलीबाट दुई जनाको मृत्यु हुनुका साथै अरु एक व्यक्ति घाइते भएका छन् । 

अर्ध–स्वचालित राइफल लिएर प्रदर्शनस्थलमा पुगेका काइल रिटेनहाउजले आफूले चलाएको गोली लागेर कुनै व्यक्तिको मृत्यु भएको हुन सक्ने स्वीकार गरेका छन् । 

विस्कन्सनका गभर्नर टोनी एभर्सले तीनदिनदेखि जारी हिंसा नियन्त्रणमा ल्याउन किनोशामा ५०० जना राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिएका छन्। मिल्वाकी र सिकागोको बीचमा अवस्थित करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिंसा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न विचारविमर्श भइरहेको गभर्नर एभर्सले बताएका छन्। 

अधिकारीहरुले साँझ ७ बजेदेखि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेका छन्, तर प्रदर्शनकारीहरुले बुधबार पनि निषेधाज्ञा उल्लंघन गरेका थिए ।

स्थानीय रिपब्लीकन र डेमोक्र्याट पार्टीका नेता, समाजसेवी र राज्यका पदाधिकारीहरुले हिंसात्मक प्रदर्शनहरु रोक्न स्थानीयवासीसँग आग्रह गरेका छन् । गभर्नर एभर्सले यस्ता पीडादायी घटना पुनः नदोहोरिने स्थिति निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । 

वासिङ्टनमा न्याय विभागले संघीय जाँच ब्यूरोका २०० भन्दा बढी संघीय सदस्यहरुलाई किनोशा पठाउन लागिएको जनाएको छ । साथै दुई हजार नेसनल गार्डका सदस्यलाई किनोशामा तैनाथ गरिने ह्वाइट हाउसले बताएको छ । 

मंगलबार राति मारिएका एक व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार पहिलो व्यक्तिमा विस्कन्सिन राज्यका २६ वर्षीय सिल्भर लेकको मृत्यु भएको छ भने किनोशाका अर्का ३६ वर्षीय पुरुष मारिएका छन् । घाइते भएका व्यक्ति विस्किन्सनका ३६ वर्षीय वेस्ट एलिज रहेका छन् । 

गत आइतबार प्रहरीले एक निहत्था अश्वेत २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने सात राउन्ड गोली प्रहार गरेको थियो । 

उक्त घटना भएको तीन दिनपछि बुधबार गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । रस्टेन सेस्की नामका ती प्रहरी अधिकारीले चलाएको गोली लागेर सख्त घाइते भएका ब्लेकको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

गोली चलाउने क्रममा प्रहरीले ब्लेकलाई आफूसँग भएको हतियार फाल भन्दै जोडजोडले कराएको सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर राज्यका अधिकारीहरुले ब्लेकको साथमा चक्कु रहेपनि उनले कसैमाथि आक्रमणको प्रयास समेत नगरेको बताएका छन् । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले किनोशाको हिंसा अन्त्यका लागि आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ