arrow

ट्रम्प समर्थक र विरोधीबीच झडप, एक जनाको मृत्यु

logo
एपी,
प्रकाशित २०७७ भदौ १४ आइतबार
trump17.jpg

पोर्टल्यान्ड । संयुक्तराज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो ।

आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी साधनमा ट्रम्प समर्थकले र्याली निकालेका थिए । तर त्यसको विरोधमा “ब्लाक लाइभ्स म्याटर” नामको अश्वेतहरुको अभियानले सडकमा अवरोध गरेको थियो । 

प्रहरीले साँझ ८.३० बजे ट्रम्पका समर्थकहरुले र्याली समाप्त गरेलगत्तै ८.४६ मा गोली चलेको आवाज आएको जनाएको छ । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको पनि प्रहरीले बताएको छ । 

एसोसिएटेड प्रेसका एक फोटोपत्रकारले आफूले तीन राउन्ड गोली चलेको सुनेको बताएका छन् । प्रहरीको चिकित्सा टोलीले घाइतेहरुको उपचार गरेको र तिनीहरु गोरा समुदायका सदस्य रहेको पनि ती पत्रकारले बताएका छन् । 

घाइते गोरा व्यक्तिले लगाएको ह्याटमा प्याट्रिअट प्रेयर लेखिएको पनि ती पत्रकारले जनाएका छन् । यो समूह अतिवादी गोरा समूदायका रुपमा चिनिन्छ । यो समूहका सदस्य र अन्य समुदायबीच बेलाबखत झडप हुने गरेको छ । 

प्रहरीले मारिएका व्यक्तिको छातीमा गोली लागेको पुष्टि गरेको छ । गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीय प्रहरी एवं संघीय निकायहरुले घटनाको सूक्ष्म अध्ययन थालेका छन् । 

मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीमा मृत्यु भएयता तीन महिनाभन्दा बढी समयदेखि पोर्टल्यान्डमा अश्वेत आन्दोलनकारीले साँझपख दिनहुँजसो प्रदर्शनहरु गरिरहेका छन् । यी प्रदर्शनहरु शुरुमा शान्तिपूर्ण रहेपनि रातिपख हिंसात्मक हुने गरेका छन् । प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कन्सिन राज्यको किनोशामा हिंसा जारी रहेपनि स्थानीय वस्तुस्थिति बुझ्न उक्त शहरको मंगलबार भ्रमण गर्नुहुने भएको छ । 

निर्दोश देखिएका एक अश्वेत व्यक्ति ज्याकोब ब्लेकमाथि स्थानीय प्रहरीले सात राउन्ड गोली प्रहार गरेपछि किनोशामा हिंसा भड्किएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ