arrow

भाजपामा प्रवेश गर्न काँग्रेस नेताहरुलाई सुझाव

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १७ बुधबार
bjp.jpeg

नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् ।  काँग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाव दिएका हुन् ।
  
काँग्रेसका बरिष्ठ नेताहरु गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाई छ ।  सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किने भएकाले धेरै उमेर पुगेका बरिष्ठ नेताहरु काँग्रेसमै रहिरहँदा कुनै अवसर नपाउने उनले तर्क गरे । 

यसअघि भएको संसदीय निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा जिम्मेवारी लिँदै तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेसमा विवाद बढेको छ । 

विशेष गरेर कतिपय नेताहरुले राहुललाई नै अध्यक्ष बनाउनु पर्ने अडान र कतिपय नेताहरुले गान्धीको विकल्प खोज्नु पर्ने अडान राखेकाले पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।

नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । तर केही समयका लागि त्यो जिम्मेवारी दिएपनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएको भन्दै पार्टीमा विवाद फेरि बढेको हो । 

पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न माग गर्दै आजाद सहितका २० जना नेताले केही हप्ता अगाडि अन्तरिम अध्यक्ष गान्धीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 

त्यसको लगत्तै अध्यक्ष चयन गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइए पनि कुनै निर्णय विना बैठक अन्त्य भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ