arrow

वामदेवलाई चुनावमा हराएका संजयले भने – ‘उहाँलाई मेरो शुभकामना छ, म भएको भए पाँच वर्ष कुर्ने थिएँ’

logo
आकाश शर्मा,
प्रकाशित २०७७ भदौ २० शनिबार
sanjaya_bamdev1.jpg

काठमाडौं। सञ्जय गौतम बर्दिया १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा बामदेव गौतम करिब साँढे सात सय मतान्तरले संजय गौतमसँग पराजित भएका थिए । अहिले वामदेव चर्चाको केन्द्रमा छन् । उनलाई राष्ट्रिय सभामा ल्याउने तयारी नेकपाको सचिवालय वैठकले गरेको छ ।

गौतम राष्ट्रिय सभामा जाने बिषयले नेकपाको समस्या त समाधान होला तर यसबाट एउटा कुपरम्परा बस्ने खतरा देखिएको छ। उसो त नेकपाले यसअघी नै गोरखाबाट पराजित भएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लगेर गलत अभ्यास स्थापित गरिसकेको छ । पहुँच भएमा प्रतिनिधि सभामा हारे पनि राष्ट्रिय सभामा आउन सकिन्छ भन्ने कुरा राष्ट्रिय सभाको गरिमा पनि स्खलित हुने खतरा बढेको छ । 

चुनाव जितेका सञ्जय नेपाली कांग्रेसका नेता हुन भने चुनाव हारेका बामदेव नेपाल कम्यनिस्ट पार्टीका शक्तिशाली नेता हुन् । उनी पहुँचवाला नेता भएको कारण राष्ट्रिय सभामा आउँदै छन् । यसै विषयमा बर्दिया १ का जनताको अभिमतको प्रतिनिधित्व गरेका सञ्जय के भन्छन त ? हाम्राकुराले उनै सांसद संजय गौतमसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंशः 

० बामदेवसँग तपाईको नाता पर्छ कि पर्दैन ?

नाता पर्दैन । गौतम भन्ने वित्तिकै नाता पर्छ भन्ने होइन । उहाँ मेरो अभिभावक हो । उहाँ नेकपाका नेताको रुपमा धेरै लामो समयसम्म काम गर्नुभयो । म नेपाली कांग्रेसमा रहेर लामो समयसम्म काम गरे । उहाँ पार्टीको कहिले उपाध्यक्ष, कहिले मन्त्री कहिले सांसद हुनुभयो । उहाँलाई मैले अभिभावककै रुपमा स्विकार गरेको छु । 

 ० तपाईले अभिभावक मानेको र चुनावमा तपाईसँगै हारेका बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याइदै छ, यसलाई कसरी लिनुभएको छ ?

यो उहाँको पार्टीले बुझ्ने कुरा हो । हामीले जनताको भावनालाई बुझ्यौ कि बुझेनौ, संविधानको मर्मलाई पालना गर्‍यौ कि गरेनौ, हामीले स्थापित गरेको  मूल्य र मान्यतलाई अघि बढाउन खोजेका छौ कि छैनौ या अहिले पनि पूरानै प्रवृतीलाई अगाँलेर अघि बढ्न खोजेका त छैनौ ? यो उहाँको पार्टीले बुझ्ने कुरा हो । हामीले बनाएको पद्धति र हामीले बनाएको संविधानलाई जनताले अपनत्व ग्रहण गरेका छन् । यतिबेला यस्ता कुराले त्यसमा बितृष्णा पैदा गर्छ कि गर्दैन, भन्ने कुरा हो । म यो बाहेक अरु के भन्न सक्छु र ? म अर्को पार्टीका हुँ । चुनावमा विजयी भए भन्दैमा अर्को पार्टीको कुरामा क्रियाप्रतिक्रिया दिनु राम्रो हुँदैन कि ? 

० यो संविधानको भावना विपरित हो भन्ने लाग्दैन ?

तपाईंले मलाई यस्तो परिस्थितिमा तपाई के गर्नुहुन्थ्यो भन्ने प्रश्न गर्नु भएको भए मैले आफनो धारणा राख्थे । म जनताबाट अनमोदित हुन सकिन, त्यसैले अर्को जनादेशसम्म पर्खन्छु भन्ने थिए । त्यसैले यो कुरा राष्ट्रिय सभामा जानले सोच्ने कुरा हो । त्यहाँ ल्याउने व्यक्ति र उनको पार्टीले सोच्ने कुरा हो । जसले मुलुक हाक्ने ठेक्का लिएको छ, मुलुक हाँक्ने जिम्मेवारी पाएको छ र जसलाई जनताले सरकार चलाउन जनादेश दिएका छन् । त्यस पार्टीले जनताको भावनासँग हामीले खेलवाड गर्नु हुन्छ कि हुँदैन त्यो उहाँको पार्टीले बुझ्ने कुरा हो । यो नितान्त नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सोच्ने विषय हो । 

० उहाँ राष्ट्रिय सभामा आए पनि संविधान अनुसार मन्त्री बन्न सक्नुहुन्न, होइन ? 

कुनै एउटा व्यक्तिकोलागि संविधान संशोधन गर्न समेत तयार हुने हाम्रा नेताहरुकोलागि यो कुरा सामान्य होला तर जनताले यसलाई कसरी ग्रहण गर्छन भन्ने कुरा हो । हामीले देशको मूल कानुनको मर्मलाई नै आत्मसात गर्न सकेनौ भने जनताले यो संविधान मानेका छन्, यो व्यवस्था मानेका छन्, हामीले ल्याएको परिवर्तनलाई साथ दिएका छन् भन्ने कुरा जरुरी छैन ।

० यो भनेको संविधानको भावना विपरित हो भन्न खोज्नु भएको हो ?

तपाईलाई के लाग्छ ? सामान्य नागरिकले कुनै पनि कुरालाई स्वाभाविक रुपमा ग्रहण गर्न सक्यो भने त्यसलाई स्वाभाविक मानिन्छ । सामान्य मानिसले त्यसलाई स्वभाविक रुपमा ग्रहण गर्न सकेन भने भावना भन्दा बाहिर गएको देखिन्न र ? 

० प्रतिनिधि सभामा हारेको व्यक्ति राष्ट्रिय सभामा आउनु सुहाउने कुरा हो र ?

उहाँ मेरो पनि अभिभावक हो । उहाँप्रति मेरो पनि शुभकामना छ । राष्ट्रिय सभाको सदस्यको रुपमा मुलुकले उहाँको अनुभवलाई लिन पाउला । व्यक्तिगत रुपमा उहाँप्रति मेरो कुनै आग्रह पूर्वाग्रह छैन । हामीले एउटै जिल्लामा लामेसमयसम्म राजनीति यात्रा गर्‍यौ । तपाईले सोधेको कुरामा कुरा उहाँले सोच्ने विषय हो । नेपाल कम्युनिस्ट पार्टीले सोच्ने विषय हो । यसमा उहाँप्रति मेरो खासै टिप्पणी छैन ।

० गत निर्वाचनमा उहाँमाथि पार्टीभित्र अन्तरघात भयो । उहाँ चुनाव जित्ने मान्छे हो भन्ने पनि गरिन्छ । के उहाँमाथि नेकपाभित्र अन्तरघात भएको जानकारी थियो तपाईलाई ?

यो एकदमै गलत कुरा हो । यस्तो कुरा गरेर जनताको अभिमतको अबमूल्यन गर्न खोजियो । यो अर्को नराम्रो कुरा हो । कतैबाट अन्तरघात भएको छैन । हरेक पार्टीभित्र अन्तरविरोध हुन्छन, गुट उपगट छन्  तर पार्टीले एउटा निर्णय गरी आफनो उम्मेदवार अघि बढाइसके पछि पार्टीका सबै साथीहरु त्यस निर्णयलाई साथ दिन्छन् । चुनावमा उहाँका पार्टीका सबै कार्यकर्ताहरु उहाँकै पक्षमा लागेका थिए । तर त्यो पक्षले जनतालाई आफूतीर आकर्षित गर्न सकेन । जनताको अभिमत नेपाली कांग्रेसको पक्षमा देखियो । यो निर्वाचन मेरोलागि उपलब्धीमूलक रह्यो । यो निर्वाचनमा मैले जनताको भोट ल्याएर जनताको सेवा गर्ने अवसर पाए । बर्दियाको जनताले मलाई त्यो अवसर दिनुभयो । तर घात अन्तर्घातको कारणले त्यो अवसर पाए भन्ने कुरामा म सहमत छैन । आफनो पराजयलाई सहर्ष स्विकार गर्न नसक्नु पनि लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको निष्ठा विपरित हो ।

० तर पनि यो गलत परिपाटी हो, होइन र ?

मलाई गलत लाग्छ तर लाग्नु पर्नेलाई लागेन । त्यो ठाउँमा म भएको भए जान्नथे । मलाई लागेर या तपाईलाई लागेर हुँदैन ।  त्यो पार्टीलाई लाग्नु पर्ने हो, व्यक्तिलाई लाग्नु पर्ने हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ