arrow

भारतीय राष्ट्रपति, प्रधानमन्त्री सहित १० हजारको चीनले जासुसी गराएको आरोप

भारत चीन झडपमा ६० चिनियाँ सैनिक मारिएको अमेरिकी पत्रिका न्यूजवीकको दावी 

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २९ सोमबार
india-china-conflict.jpg

काठमाडौं। भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, चीफ अफ डीफेन्स स्टाफ विपिन रावत सहित सरकारका बरिष्ठ मन्त्रीहरु, सांसदहरु, विपक्षी दलका नेताहरु, मुख्यमन्त्रीहरु, सेनाका वरिष्ठ अधिकारी, बरिष्ठ उद्यमीहरु र विभिन्न संस्थाहरु सहित १० हजार व्यक्ति तथा संस्थाको चीनले जासुसी गराएको आरोप भारतले लगाएको छ ।

झेन्हुआ डाटा इन्फरमेशन टेक्नोलोजी नामक एक चीन सरकार निकट कम्पनीमार्फत डाटा संकलन गरेर चीनले जासुसी गराएको भारतीय दावी छ । सो कम्पनीले दैनिक १५ करोड डाटा संकलन गर्दै आएको भारतीय मिडिया इण्डियन एक्सप्रेसले जनाएको छ। सो कम्पनीले दश हजार त्यस्ता व्यक्ति तथा संस्थाहरुको अलग अलग प्रोफाइल बनाएर जासुसीको जालो बिच्छयाएको भारतीय दावी छ ।  

भारत र चीनबीच सीमामा विवाद बढ्दै जाँदा भारतीय उच्च नेतृत्व प्रभावशाली व्यक्तिहरु चीनको जासुसीको निशानामा रहेको र उनीहरुको सूचना लिने संस्थागत र सिलसिलेवार अभियान चिनियाँ जासुसहरुले गरिरहेको भारतले बताएको छ । कतिपय भारतीय मिडियाको पनि जासुसी गरिएको सुरक्षा स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले सो समाचार प्रसारण गरेका छन् । 

चीनले खासगरि भारतीय नीति निर्माण तहमा प्रभाव राख्ने व्यक्ति तथा संस्थालाई निशाना बनाएर जासुसी गराएको तथ्य फेला परेको भारतीय सुरक्षा स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको हो । हार्डवेयर मार्फत अन्य संयन्त्र प्रयोग गरेर तथा भारतमै रहेका आफ्ना जासुस मार्फत जासुसी गराएको भारतीय दावी छ ।

यसअघी लद्धाख क्षेत्रमा पनि स्याटेलाइट फोन मार्फत भारतीय पक्षको जासुसी गरि सूचना चीनलाई दिएको तथ्य पनि भारतले फेला पारेको बताइएको थियो । दुई देशबीच तनाव बढ्दै जाँदा जासुसीको जालो अझ बढ्ने अनुमान भारतीय पक्षले गरेको पनि बताइएको छ । भारतले यसअघी जासुसी समेत भएको आरोपमा २२४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।      

यसैबीच अमेरिकी पत्रिका न्यूजवीकले भारत र चीनका सेनाबीच लद्धाखको गलवानमा १५ जुनमा भएको हिंसात्मक झडपमा चीनका कम्तिमा ६० सैनिक मारिएको दावी गर्दै समाचार प्रकाशन गरेको छ । भारतका २० सैनिक मारिएको सो झडपमा चीनले अहिलेसम्म औपचारीक रुपमा आफ्ना कति सैनिकको हताहती भएको बताएको छैन । भारतले भने कम्तिमा ४३ चिनियाँ सैनिक मारिएको दावी गरेको थियो । तर घटना भएङ्को ३ महिनापछि आएर अमेरिकी पत्रिकाले कम्तिमा ६० जना चिनियाँ सेना मारिएको दावी गरेपछि चीन झनै रक्षात्मक देखिएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ