arrow

आबेको अति निकटस्थ पात्र सुगा जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्यो !

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
Yoshihide_Suga.jpg

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित भएका छन् । यसै हप्ताको अन्त्यमा उनी संसदीय दलको नेता निर्वाचित भएमा उनी जापानको प्रधानमन्त्री बन्ने छन् । 

सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिश्पर्धा गरेका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए । 

निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका ७१ बर्षीय सुगालाई धेरैले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिसकेका छन् ।  सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । 

जापानको संसदमा अहिले सुगाले आजदेखि नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले उनकै पार्टीले बनाएको उम्मेदवार नै प्रधानमन्त्रीमा निर्वाचित हुनेछ । 

पार्टीको प्रमुख निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताएका छन्। “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उनले भने । 

उनले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । 

निवर्तमान प्रधानमन्त्री आवेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए । 

उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएका थिए । 

उनी जापानमा सवैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका छन्। उनको कार्यकाल अझै झण्डै एक बर्ष बाँकी नै थियो । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेका थिए । 

जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएकाले उनले अगाडि सारेको व्यक्ति नै प्रधानमन्त्री हुने देखिएको छ । उनले अप्रत्यक्ष रुपमा अगाडि सारेकै कारणले सुगालाई सोमबार पार्टी प्रमुखमा निर्वाचित गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ