arrow

उपचारका क्रममा कांग्रेस नेताको निधन, चारतारे झण्डा ओढाएर अन्त्येष्टि

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
nepali-congress-flag.jpg.jpeg

गण्डकी । आइतबार दिवङ्गत नेपाली कांग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’ को सोमबार अन्त्येष्टि गरिएको छ । पोखरा रामघाटस्थित बौद्व अर्घौ सदनमा बौद्व परम्परानुसार उनको अन्त्येष्टि गरिएको हो । 

अन्त्येष्टिअघि पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित गुरुङ निवासमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, जिल्ला सभापति कृष्ण केसी र पूर्वमन्त्री यज्ञबहादुर थापाले पार्टीको चारतारे झण्डा ओढाएर गुरुङप्रति श्रद्वाञ्जलि व्यक्त गरेका थिए।

केही समयअघिदेखि बिरामी गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा ५८ वर्षका उमेरमा आइतबार दिउँसो निधन भएको हो । उनका श्रीमती र दुई छोरा छन् ।

विसं २०१९ असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ भदौरे देउरालीमा जन्मिएका गुरुङ हाल पस्र्याङमा बस्दै आएका थिए। गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान्, सरल र त्यागी नेताका रुपमा परिचित थिए। लोकतन्त्र प्राप्तिका हरेक सङ्घर्षमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका गुरुङ निडर र स्पष्ट वक्ता थिए ।

विनास्वार्थ पार्टीको सशक्तीकरण र कार्यकर्ताको समस्याबारे खुलेर बोल्न सक्ने नेताको छवि बनाएका गुरुङ पछिल्लो पटक कास्की क्षेत्र नं ३ख बाट प्रदेशसभामा उम्मेदवार बनेका थिए। यसैबीच  कांग्रेस कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशन गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ । 

जिल्ला सभापति  केसीले जारी गरेको विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशील रहँदादेखि नै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान्, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ