arrow

साहस, समर्पण र त्यागको त्रिवेणी गणेशमान सिंह

logo
प्रमोदहरी गुरागाँई,
प्रकाशित २०७७ असोज २ शुक्रबार
pramodhari.jpg

प्रसिद्ध भनाइ छ ' सूर्यले जस्तै प्रकाश र ताप दिन खोज्नेले सूर्य जस्तै जल्न पनि सक्नुपर्छ ।' दीपको महत्त्व रात्रीकालिन समयमा जति हुन्छ दीवाकालिन समयमा प्रकाशको महत्त्व त्यति हुदैन । त्यसैले भनिन्छ नि , स्वतन्त्रताको महत्त्व अमेरिकी नागरिकलाई भन्दा उत्तर कोरियाली नागरिकलाई ज्यादा हुन्छ । जसरी बोटबिरुवाले उचित अवसर प्राप्त गरेपछि मात्र हुर्कने, फूल्ने र फल दिने योग्यता राख्छ । नेतृत्व र व्यक्तित्वको निर्माण मानिसमानिस बीचको असमानता बिरुद्ध जेहाद छेड्ने योग्यताले मात्रै संभव हुन्छ । तसर्थ अप्ठेरो परिस्थितिमा भेलको बिरुद्ध पौडिने र नदी पार गर्ने व्यक्ति नै सदा स्मरणीय हुन्छ । अध्यारोको बिरुद्ध चिराग बाल्ने कार्य भेलको बिरुद्ध पौडिनु बराबर हो। गणेशमान सिंह भन्नू हुन्थ्यो ' मानिस पेट भर्ने थौलो मात्र होइन, सक्रीय मस्तिष्क र संवेदनशील हृदय भएको प्राणी पनि हो, उसको देशको निम्ति केही गर्ने कर्तव्य हुन्छ ।'

बाल्यकाल र उमेरजन्य चकचकहरु
पिता ज्ञानमान सिंह र माता सुभद्राकुमारीको प्रथम पुत्रकोरुपमा गणेशमान सिंहको जन्म भएको थियोे । गणेशमान सिंह मात्र ६ वर्षको हुँदा पिताजी २८ वर्षको उमेरमा दिवंगत हुनुभयो । परिवारकै जेठो नाति भएकोले अनमोल नाम 'हिरा' राखियो । काजि खानदानको जन्म र बाजे रत्नमान सिंहको रेखदेख र पालनपोषणमा हुर्किएका भबिष्यमा काजी हुनेवाला भएकोले उहाँलाई 'हिराकाजी' नामबाट पनि सम्बोधन गरिन्थ्यो । 

क्रान्ति सिनेमाको मलाई मनपर्ने हरफ ' ओ जवानी, जवानी नहि जिसमे कोही कहानी नहि । ' दरवार स्कुलमा अध्ययनरत गणेशमान सिंहलाई राणा परिवारका सदस्यले आमा चकारी गाली गरेपछि राणापुत्रहरुलाई  पिटेर स्कुलबाट भाग्नु भएको थियो । गणेशमान सिंह सरदार, काजी बन्ने मार्गमा लाग्नुपर्छ भनेर सम्झाउनेलाई ' जनसेवक ' हुने उत्तर दिनुहुन्थ्यो । परिवारको जेठो नातिको हैसियतमा सम्पूर्ण स्नेहमा हुर्किएका गणेशमान सिंहको हिराकाजी नाम समाजको ऐनामा हुल्याहा, गुण्डागर्दी र बदनामी पर्याय बन्न पुगेको पाईन्छ । आमा सुभद्राकुमारीले आफ्नो हिरालाई सम्झाउनु हुन्छ ' यसरी बरालिएर नहिड । तेरो जिजुबुबाले तेरो पास्नी सूर्यविनायकमा बडो धुमधामले गर्नुभयो । नाता, कुटुम्ब र अफिसका कर्मचारीलाई निम्ता गरेर त्यस बेलाको सबैभन्दा ठूलो भोज दिनु भएको थियो । तैंले गणेशको जस्तो यश र किर्ति फैलाउने उहाँको विश्वास थियो । त्यसैले तेरो नाम  गणेशमान पनि उहाँले नै राख्नु भएको हो । पुर्खाको त्यो आशा भरोसा र विश्वास तैंले पूरा गर्नुपर्छ । '

परिवर्तित गणेशमान सिंह र आजीवन कारावास 
भनिन्छ ' जीवनको कुनै टुङ्गो छैन । कता हिडिन्छ, कता पुगिन्छ ।'  यस्तै संयोग जुर्यो गणेशमान सिंहको जीवनमा पनि । पढाइको सिलसिलामा कलकत्तामा रहदा गणेशमान सिंहको शुक्रराज शास्त्रीसंग भेट भयो । कसैलाई नटेर्ने  गणेशमान सिंहले शुक्रराज शास्त्रीसंग पनि अनेक विषयमा खुला छलफल गर्नुभयो । जब शुक्रराज शास्त्रीले महात्मा गान्धीसंग भेट गरि नेपालको अवस्थावारे प्रकाश पारेको गणेशमान सिंहलाई जानकारी भयो त्यसपछि शुक्रराज शास्त्रिकाप्रति उहाँको श्रद्धा बढेको पाईन्छ ।

त्यस समयमा काठमाडौंको विभिन्न देवल, चोकहरुमा विभिन्न धार्मिक ग्रन्थको बारेमा प्रवचन दिने चलन थियो । धर्म ग्रन्थका राक्षस पात्रसंग घुमाउरो तरिकाले शुक्रराज शास्त्रीहरुले राणा शासनको तुलना गर्थे । यसै सन्दर्भमा गंगालाल श्रेष्ठले इन्द्रचोकको देवलमा उभिएर नगरवासीलाई सम्बोधन गर्नुभयो ' तपाहरुलाई के भनेर सम्बोधन गरु ? मानिस भनुँ भने मालिकले एक लात दियो भने परपर भाग्नु हुन्छ । फेरि, एक टुक्रा रोटी फालिदियो भने लुरुलुरु आइहाल्नु हुन्छ । पशु भनुँ भने दुई खुट्टा छन् ।' 

यसबाट रेस त अरुलेनै जितिसक्यो भन्ने गणेशमान सिंहलाई पर्यो । क्रमशः गणेशमान सिंह र गंगालालको मित्रता बढ्यो । प्रजा परिषद्को खोजिमा लागेका दुबैको भेट हुन्छ धर्मभक्त माथेमासँग । धर्मभक्त माथेमा प्रजा परिषद्को संस्थापक मध्ये एक सदस्य थिए । प्रजा परिषद्को खोजिमा रहेका गणेशमान सिंह र गंगालाललाई ढुङ्गा खोज्दा देवता मिले जस्तो हुन्छ । भगवतीको कसम खाएर दुबै प्रजा परिषद्को सदस्य बन्नुहुन्छ । पछि, गणेशमान सिंहले धर्मभक्त माथेमालाई आफ्नै लिपिमा बुझाएको प्रतिज्ञापत्रको आधारमा आजीवन कारावासको सजाय हुन्छ । जेलमा प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्यले राणाहरुसँग निडरताका साथ आफ्नो कुरा राखेको देखेर अझै निडर बन्ने प्रेरणा प्राप्त हुन्छ ।

जेलबाट फरार, बीपी कोइरालासंग भेट र नेपाली कांग्रेसको निर्माण
नेल सहितको भद्रगोलको कालकोठरीको चार वर्षे जीवनमा पनि गणेशमान सिंह पर्खाल नाघेर भाग्ने योजना र मेहनत गर्नु हुन्थ्यो । तात्कालिन प्रशासनले ६ फिट अग्लो पर्खाल बढाएर १२ फिट अग्लो पारेको थियो । जेलभित्रकै साथिहरुको मद्दत र पटुकाका टुक्राहरु जोडेर निर्माण गरिएको डोरीको प्रयोगले उहाँ भाग्नुभयो । 

भाग्ने क्रममा यट्खा, इन्द्रचोक हुँदै अघि बढ्दा मंगलामालाई आफ्नो पतिले बोलाएको भान भएर दौडदै झ्यालमा हेर्न पुगेको देखेर सासुले सोध्नुभयो ' किन उठेको यस बेला ?' मंगलामाले उत्तर दिनुभयो ' मलाई उहाँले बोलाएको जस्तो लाग्यो । ' गणेशमान सिंहले यसलाई विचारको टेलिप्याथी बताउनु भएको छ ।

अनेकौं हन्डर, ठक्करसंग मुकावला गर्दै परिवर्तित नाम र पेशा बताउदै आफ्नो कबाब र शराबका साथी ज्यानकाजीसंग गणेशमान सिंहको बुटवलमा भेट हुन्छ । ज्यानकाजीले नै ब्यबस्था गरेको त्यतिबेलाको भा रु १ हजार लिएर गणेशमान सिंह भैरहवा हुँदै हिन्दुस्थानको सरहद पुग्नुभय‍ो । अब डर सकियो राणाको सेना र पुलिसको । सुरु भयो अभाव, भोक र छट्पटी । गणेशमान सिंह लाहुर लाग्नु भयो । एयरम्यान बन्ने कोशिश गर्नुभयो तर सफल बन्नु भएन । नेपालीहरुसंगको भेटघाट र संघर्षको आधार निर्माण गर्न कालिङपोङ पुग्नु भयो । भेट भयो दुई दिलदार नेपाली व्यापारी युवकहरु । उत्सुकतापुर्वक सुने जेलबाट भाग्दाको वर्णन । सहयोग गरे भा रु ८ हजार । कालिङपोङमा पढ्न बसेका नेपाली बिद्यार्थीलाई अनुभव र आन्दोलनमा लाग्न उर्जा दिने कार्यक्रममा चन्दा उठ्यो भा रु ८ सय ।

आन्दोलनको तयारी र जागरण अभियानमा वनारसमा सम्बोधन गर्ने क्रममा भेट भयो कृष्णप्रसाद भट्टराई । यसरी राजनीतिमा लाग्न गंगालालको प्रोत्साहन, जेलबाट भाग्न चन्द्रमान र पूर्णबहादुर एमएको सहयोग रह्यो । बुटवलमा  ज्यानकाजीको सहयोगबाट हिन्दुस्थान पुगेका गणेशमान सिंहको बीपी कोइरालासंग भेट भयो । बीपीले भन्नुभयो ' तपाईंले नेपाली इतिहासमै प्रथम जनबिद्रोहको ऐतिहासिक परम्पराको प्रतिनिधित्व गर्नुहुन्छ । ' गणेशमान सिंहले बीपी कोइरालालाई भा रु ८ हजार थमाउनु हुन्छ । सरसल्लाहमा ' राष्ट्रिय कांग्रेस ' को निर्माण हुन्छ ।

बिराटनगरको मजदुर आन्दोलन, देशव्यापी सत्याग्रह, भारतीय प्रधानमन्त्री नेहरुसंग खुलस्त नेपाली राजनीतिको वार्तालापमा गणेशमान सिंहको नेतृत्वदायी भूमिका रह्यो । बीपी कोइराला मजदुर आन्दोलनमा गिरफ्तार भएपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सकृयतामा महात्मा गान्धीसंगको भेट र बीपी कोइरालाको रिहाइ महत्त्वपूर्ण छ । नेपालमा प्रजातन्त्रको स्थापनामा ज्यादा ध्यान दिएका बीपी कोइरालालाई ' नेपाली राष्ट्रिय कांग्रेस ' र ' नेपाल प्रजातन्त्र कांग्रेस ' को मेलमा के नाम राख्नेमा त्यति सरोकार थिएन । तथापि , गणेशमान सिंहको अडानले ' नेपाली कांग्रेस ' नाम तय भएको हो । दुई पार्टी एकिकरणमा शुवर्ण शम्शेरको भूमिकापनि अतुलनीय थियो । 

प्रजातन्त्रको पुनर्वहालीको नेतृत्व र प्रधानमन्त्री पदको त्याग
प्रथम आम निर्वाचन २०१५ पछि नेपाली कांग्रेसले १०९ सिटमा ७४ स्थानमा जित्यो । गणेशमान सिंह र शुवर्ण शम्शेरको सहयोगमा बीपी कोइराला प्रथम जन निर्वाचित प्रधानमन्त्री बन्नुभयो । गणेशमान सिंह यातायात तथा सञ्चार मन्त्री बन्नुभयो । 

राजा महेन्द्रले एकदलीय पञ्चायती ब्यबस्था लादे । गणेशमान सिंहले प्रजातन्त्रको पुनःस्थापन गर्न अनवरत संघर्ष गर्नुभयो । कम्युनिस्ट नेता राधाकृष्ण मैनालीकै भाषामा २०४६ सालमा गणेशमान सिंहकै पहलकदमीमा संयुक्त बाम मोर्चा निर्माण भएको हो । नेपाली कांग्रेसको नेतृत्व र संयुक्त बाममोर्चको सहयात्रामा प्रजातन्त्र पुनर्स्थापना भएको हो । यसरी आन्दोलनको नेतृत्व गर्नुभएका सर्वमान्य नेता गणेशमान सिंहको प्रधानमन्त्री बन्ने चाहना हुँदा सर्वस्विकार्य हुन्थ्यो । राजा विरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावलाई हार्दिकतापुर्वक आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई उपयुक्त बताउने गणेशमान सिंह वास्तवमै शाहस , समर्पण र त्यागको त्रिवेणी हो । सगर्व, श्रद्धायुक्त स्मरण अर्पण गर्दछु ।

(लेखक नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य हुन् ।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ