arrow

भवन निर्माणमा सुनियोजित विवाद सिर्जना गरेको आरोप

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
shikhar-gaupalika.jpg

डोटी । केहीदिनअघि शिखर नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको जगको ‘आरसीसी’गर्दा गुणस्तर नपुर्‍याएर सामाग्री प्रयोग भएको भेटियो । ‘डिपिसी’माथि आरसीसी गर्दा करिब एकघनमिटर क्षेत्रफलमूनी बालुवा र गिट्टीमा सिमेन्ट नमिस्याई सामाग्री हालिएको छ । जसमाथि ‘मसला’ हालेर पुरिएको छ । 

यो प्रशंगलाई लिएर अहिले व्यापक चर्चा÷परिचर्चा भईरहेको छ । एकथरीले निर्माण कम्पनीले जानाजान यस्तो गरेर गुणस्तरहीन काम गरेको दाबी गरिरहेका छन् । यता निर्माण कम्पनी विभोर निर्माण सेवाले ‘सुनियोजित ढंगबाट आफुलाई फसाउन’ यस्तो काम गरिएको दाबी गरेको छ । 

यस्तो थियो घटना 
भवन निर्माण कार्यलाई थप तिब्रता दिन विभोर निर्माण सेवाले डेढसाताअघि  अतिरिक्त जनशक्ती परिचालन गर्नेदेखी लिएर रातीको समयमा कार्य सञ्चालन गर्ने प्रस्ताब अघि सार्‍यो ।

निर्माणकर्ता कम्पनी विभोर निर्माण सेवाका अनुसार स्थानीय बेरोजगार युवाहरु आफुलाई पनि निर्माण कार्यमा काम उपलब्ध गराउनुपर्ने दबाब दिदै आएका थिए । ‘हाम्रो नगरपालिकामा भईरहेको काममा हामीले पनि काम गर्न पाउनुपर्छ नत्र काम रोकिदिन्छौ भन्ने उहाँहरुको दबाब थियो,’विभोर निर्माण सेवाका प्रतिनिधी नृपबहादुर खड्काले भने, ‘हामीले उहाँहरुको ईच्छा पनि पुरा हुने, अनि कामपनि छिटो हुने मनशायले यस्तो निर्णय लियौँ ।’ 

त्यसैपनि कम्पनीले तिहारको समयसम्म सकाउनेगरी कार्य गरिरहेको उनले जनाए । ‘तिहारसम्म काम सकाउने र लक्ष्मीपुजाको दिन उद्घाटन गर्न सकिनेगरी काम सम्पन्नगर्ने हाम्रो मोटामोटी योजना नै छ,’ उनले थपे । 

निर्माण कम्पनीको सो प्रस्ताबलाई शिखर नगरपालिकाको प्राबिधिक शाखाले शाखाका ईन्जिनियर र प्राबिधिकहरुको ‘रहोवर’मा काम हुनेगरी सहमती जनायो ।  ‘ठुला निर्माण कार्यमा रातीका सिफ्टमा पनि काम गर्ने प्रचलन छ । त्यसलाई यतापनि शुरु गर्दा राम्रै हुन्छ भनेर हामीले पनि स्वीकृती जनायौ,’ शिखर नगरपालिकाका ईञ्जिनियर लोकेन्द्रबहादुर खड्काले भने, ‘हामीसंग अहिले जनशक्ती पनि थियो । पालैपालो सबै गरौँला भन्ने योजनाका साथ स्वीकृती जनाएका थियौ ।’ 

सोही सहमती अनुसार अघिल्लो शुक्रबार पहिलो दिन रातीको समयमा काम भयो । यसक्रममा जगको ‘आरसीसी’को काम चलिरहेको थियो । त्यसमा नगरपालिकाको प्राबिधिक शाखाका ईञ्जिनियर, ओभरसेयर र सब ओभरसियरहरुको रहोवरमा ७० जनाभन्दा बढी कामदारहरुले काम गरे । जसमा बहुसंख्यक स्थानीयहरु थिए ।

सो रातको काम गर्न आएका स्थानीय मजदुरहरुको व्यबहार अस्वभाविक देखिएको नगरपालिका ईञ्जिनियर खड्का बताउछन् । उनले भने, ‘त्यो रातको कामका क्रममा स्थानीय मजदुरहरु राम्रोसंग काम नगरिदिने, जसले गुणस्तर निर्धारण गर्न समस्या देखिने अवस्था सिर्जना भयो ।’ 

त्यसपछि नगरपालिकाको प्राबिधिक शाखाले रातको समयमा काम नगर्ने भन्ने निष्कर्श निकालेको ईञ्जिनियर खड्काले बताए । ‘तर एकदिन फेरी शनिबार हेरौँ न त ! भन्ने लागेर हामी ढिलोसम्म बस्यौँ,’ उनले भने,‘राती दशबजेसम्म बस्दा कामगर्न भनि आएका मजदुरहरुको अवस्था अस्वभाविक देखेपछि  ठेकेदारलाई काम सञ्चालन नगर्न निर्देशन दिएर निस्कियौँ ।’

ईञ्जिनियरहरु निस्किसकेपछि केही मजदुरहरुले धेरै कर गरेपछि थोरै काम शनिवार रातीगर्न लगाएको विभोर निर्माण सेवाका प्रतिनिधी खड्काले बताए । आईतबार रातीको कामभने पूर्ण रुपमा नगर्ने निर्माण कम्पनी र प्राबिधिक शाखा बीचको सहमती थियो । सोहीअनुसार प्राबिधिक शाखाका कर्मचारीहरु दिउँसोको समयमै निस्किए । 

तर, राती फेरी स्थानीय मजदुरहरुको समुह निर्माणस्थल आएर काममा जुट्यो । सोबारे आफुलाई कुनै जानकारी नरहेको निर्माणकर्ता कम्पनीका प्रतिनिधी खड्काले बताए । ‘म बाहिर खाना खान निस्किएको थिए । खै कसरी आफै आएर काममा जुटेछन्,’ उनले भने,‘म पुग्दा धमाधम काम भईरहेको थियो ।’ यसैक्रममा काम गरिरहेका मजदुरहरुले आफै गुणस्तरहिन काम गरिरहेको, आफै भिडियो बनाईरहेको आफुले देखेको उनले बताए । ‘धमाधम गुणस्तरहीन काम भईरहेको थियो । काम गरिरहेकाहरु नै भिडियो बनाईरहेका थिए । त्यसो देखेपछि मैले रोक्न खोज्दा उल्टै म माथि नै हातपात भयो,’ उनले भने । यसक्रममा आफुमाथि र आफ्नो भाईमाथि हातपात भएको उनले बताए । 

घटना सुनियोजित रुपमा भएको खड्काले बताए । उनले भने, ‘नाई भन्दाभन्दै बलजफ्ती काममा जुट्ने । आफै गुणस्तरहीन काम गर्ने र आफै भिडियो बनाउने गतिबिधिले सुनियोजित रुपमा हामीलाई फसाउन रचिएको प्रपञ्च हो भन्ने पुष्टि हुन्छ ।’  

यसविरुद्ध कानुनी उपचारमा जुटेको उनले बताए । यसका लागि प्रहरी चौकी तलकोटमा निर्माणका क्रममा गुणस्तरहीन सामाग्री हाल्ने, कुटपिटमा सहभागि हुने र भिडियो निर्माण गर्ने शिखर नगरपालिका–६ तलकोटका चारजनाविरुद्ध  उजुरी दिएको  उनले बताए । प्रहरीले चारैजनालाई नियन्त्रणमा राखेर छलफल गरिरहेको छ । यता घटनाको जानकारीसहित सुरक्षा तथा नियमित निर्माण कार्यको वाताबरण मिलाईदिन माग गर्दै निर्माण कम्पनीले शिखर नगरपालिकाको कार्यालयमा निवेदन दिएको छ । 

नगरपालिकाको ध्यानाकर्षण
सो घटना र त्यसपछि बाहिरिएका खबरहरुका बिषयमा शिखर नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । यसविषयमा शुक्रबार कार्यपालिका बैठक बसेर एक विज्ञप्ति सार्वजनिक गर्दै घटनाको सत्यतथ्य छानविन गरिने जनाएको छ । जसका लागि छानविन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा नगरपालिकाको सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाउन सम्बन्धित पक्षसंग माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ