arrow

नेपालीलाई नेपाली भूमीमै जान चीनले लगायो रोक, बलमिच्याई गरि भवन निर्माण गर्दै 

सिमास्तम्भ हराएको ५ बर्ष भई सक्दा पनि अझै खोजी भएन

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज ४ आइतबार
chinese-build-house-nepal.jpg

हुम्ला। चीनसँग जोडिएको सिमाना लाप्चा क्षेत्रको नेपाली भुभागमा कब्जा गरि चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको छ ।  

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरि भवन निर्माण गरेको हो । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको हो।

शनिबार मात्र लाप्चा क्षेत्र पुगेर फर्किएका सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको बताए । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ जान नदिएको उनले बताए ।

उक्त भवन के प्रयोजनका लागि निर्माण गरिएको हो भन्ने जानकारी पनि नभएको रावतले बताए । यसअघि २०६६ सालमा सोही स्थानमा चिनियाँ पक्षले तीन वटा भवन निर्माण गरेको भएपनि नेपाली पक्षको बिरोध पछि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकिएको भए पनि हाल थप नयाँ भवन निर्माण गरेका छन् ।

भवन बनेको क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत नदिएको तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहेको एक हप्ता अगाडि लाप्चा पुगेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए ।

हाल भवन निर्माण भएको स्थान भन्दा ७-८ सय मिटर पर डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ भने त्यो सँगै नजिकै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ । जो हालसम्म पत्ता लगाउन नसकिएको नाम्खा वडा नम्बर ६ का वडा अध्यक्ष पाल्जोर तामाङले पनि बताए ।

नेपाली भुमीमा चिनियाँ पक्षले भवन बाएको जानकारी पाउने बितिकै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा यसबारे बुझ्न र सिमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षो टोली लाप्चा गएको छ । अहिले सुनेको भएपनि वास्तविकता के हो ? त्यही गएर जानकारी लिने र के भएको हो टुङ्गो लगाएर आउने प्रमुख जिल्ला अधिकारी गिरीले बताए । सो क्षेत्रको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र नाम्खा गाउँपालिकाका अध्यक्षको टोली उक्त क्षेत्रमा गएको हो।

सिमास्तम्भ हराएको ५ बर्ष भई सक्दा पनि अझै खोजी भएन

चीन र नेपालको सिमामा हराएको स्तम्भको खोजीकार्य कुरामा मात्र सिमित भएको छ । नेपाल र चीनसँग जोडिएका सिमास्तम्भ मध्ये हुम्ला जिल्लामा १२ वटा सिमा स्तम्भ रहेको छ । नाम्खा गाउँपालिका ६ लिमीसँग जोडीएको ११ नम्वरको सिमा स्तम्भ भत्केको वा हराएको हो कसैलाइ थाहा छैन ।

२०७२ सालमा जिल्ला प्रशासन कार्यालय हुम्ला र तिव्वतको स्वशासीत क्षेत्र ताक्लाकोटको पुराङ्ग प्रशासनसँग वर्षेनी गरिने सिमावार्तामा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले प्रमुख एजेन्डाका रुपमा राखेपछि दुवै पक्ष मिलेर उक्त स्तम्भ खोजी गर्न सहमत भएपनि ५ बर्ष बितिसक्दा पनि अहिलेसम्म दुबै पक्षबाट सो स्तम्भ खोजीका लागि कुनै पहल गर्नु त परै जाओस यसकाबारे कसैले वास्ता नै नगरेको नाम्खा गाउपालिका वडा नं. ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । हराएको स्तम्भबारे कुरा निस्केको भएपनि काम नगर्ने कुरा मात्र गर्ने प्रबृतिका कारण यसो हुन गएको हिल्सामा लामो समयदेखि होटेल ब्यबसाय गर्दै आएका कार्मातुन्डुप लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ