arrow

झण्डा ओडाउने भूमिकामा सीमित नहोस् कांग्रेस नेतृत्व

logo
विन्दुकुमार थापा,
प्रकाशित २०७७ असोज ५ सोमबार
Bindu-K-Thapa.jpg

प्रमुख प्रतिपक्षी दलको भूमिका बलियो हुन नसक्दा सत्ताधारी दललाई आफुखुशी काम गर्ने मैदान खाली हुन गएको छ । कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ । दुई तिहाईको कम्युनिष्ट सरकारसँग वैचारिक प्रतिवाद गर्न कतिपय ठाउँमा आफ्नै हिजोको निर्णयले छेकेको छ । अमूक संवैधानिक पदको लागि गरिएको भागबण्डा ‘तगारो’ बनिदिएको छ । मुख्य मुद्दा मुखरित गर्ने सवालमा नेतृत्व पंक्तिबाट भएका एकपछि अर्को कमजोरीले पार्टीको तल्लो तह निराश बनेको छ । सत्ताको आडभरोसामा रमाउने र कमाउनेहरुले बिस्तारै कित्ता छाडेका छन् । जो सैद्धान्तिक रुपले कांग्रेसलाई विश्वास गर्छन्, कानून सम्मत उद्योग व्यवसाय गर्छन्, उनीहरुलाई पनि अनेकौं तिकडमबाजी गर्दै, सत्तानिकट हुन बाध्य पारिएको छ । सत्तानिकट नभए व्यवसाय सम्भव छैन भन्ने घोषित अघोषित धम्कीहरु दिइएको छ । धम्कीसँग टिक्न नसकेर कांगेसमै आस्थावान साथीहरुलाई आफ्नो ‘परियोजना’को फाइल बोकेर नेकपासम्वद्ध विचौलिया र नेताहरुको ढोकाढोका पुग्न बाध्य बनाइएको छ । संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त विपक्षी बनाउने सोच नेतृत्व तहमा आउन सकेको छैन । 

देश कोभिड–१९ को संक्रमणबाट गुज्रिरहँदा नेपाली कांग्रेस र सत्तारुढ नेकपा दुबै महाधिवेशनको तयारीमा छन् । कोभिड रोकथाम, उपचार र नियन्त्रणमा  भएका सरकारी प्रयत्नहरुको निष्प्रवाहिता एकातिर छ भने कोभिडलाई देखाएर पार्टीको आन्तरिक राजनीतिमा आफू मजबुत बन्ने प्रयत्न अर्कोतिर रहेको छ।संस्थापनको लागि कोभिड–१९ महाधिवेशनलाई आफू अनुकूल बनाउने अमोघ अस्त्र बनेको छ । सत्ताधारी नेकपाको संस्थापन पक्षले सफल उपयोग भएको ‘हतियार’ अन्य पार्टीमा प्रयोग नहोला भन्न सकिँदैन । अपितु, स्थापनादेखि नै समावेशीता, समाजवादी मूल्य र मान्यता अनि लोकमतलाई आफ्नो एजेण्डा बनाउँदै आएको नेपाली कांग्रेस नेतृत्वले भीमकाय नेकपासँग ‘शक्ति केन्द्रीकरण र सम्झौता’ को चालबाजी सिक्ने छैन । किनकि, पुष्पलालदेखि पुष्पकमल सम्मका बिभिन्न विचारहरूलाई लोकतन्त्रको वैचारिक मार्गमा समाहित गराउँदै लोकतन्त्रलाई नै निर्विकल्प मार्ग बनाएको कमजोर कांग्रेसले हिजोको विरासतको स्मरण गर्दै आफ्नो अस्तित्व पुष्टि गर्नुछ। भर्खर बीपी जन्मजयन्तीमा गरिएका घोषणाहरु कार्यान्वयन अनि कम्युनिष्ट सर्वसत्तावाद र सत्ताको आडमा भएका अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्नुछ । यी सबै कामको लागि पार्टी बलियो हुनु जरुरी छ र त्यसको लागि पार्टीभित्रका काखा–पाखा, गुट–उपगुट, मेरो र पराई भन्ने जस्ता सोचको अन्त्य हुनु जरुरी छ । सबैभन्दा जरुरी छ, एजेण्डाको छ । अमुक संवैधानिक निकायमा गरिने भागबण्डाको बिलो पाएर सन्तुष्ट हुने प्रवृत्ति त्याग्दै तल्लो तहका कार्यकर्ताको मनोभावनालाई समेटेर एजेण्डा बनाउनु जरुरी छ । महाधिवेशन त्यही दिशामा परिलक्षित हुनुपर्छ भन्ने आम कार्यकर्ताको भावना छ ।

व्यवसायिक पृष्ठभूमिमा रहँदाको सक्रिय शुभेच्छुक तथा मूलधारे राजनीतिको सक्रिय कार्यकर्ताको जिम्मेवारीवोध थिचिँदा अन्तरमनबाटै पार्टी मजबुत होस्, गुट–उपगुट नहोस् र एजेण्डाले पार्टी चलोस् भन्ने चाहना हुँदो रहेछ । नेपाली कांग्रेसको नेतृत्व र आम कार्यकर्ताले बुझ्नु र बुझाउनु पर्ने धेरै विषय छन् । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यको र आम कार्यकर्ताको रुपमा यी र यस्तै विषय बारम्बार मनमा आउनु अस्वभाविक हैन । 

म, प्रतिनिधिसभाको त्यो निर्वाचन सम्झन चाहन्छुँ, जहाँ नेपालका एकमात्र डलर अर्वपति आदरणीय विनोद चौधरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटै चिठीको भरमा नेपाली कांग्रेसमा समाहित हुनुभयो । पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसी त्यस्तै चिठीपछि सहर्ष कांग्रेस सदस्य बन्नुभयो । संयोग कस्तो भने, विनोद चौधरी र सूर्यबहादुर केसी दुबै संविधानसभा सदस्य हुनुहुन्थ्यो । तत्कालीन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । उहाँहरुजस्तो व्यक्तिले चाहेको भए, पुनः त्यही पार्टीबाट सभासद बन्ने ढोका सायदै बन्द हुन्थ्यो । तर, उहाँहरुले त्यो बाटो रोज्नु भएन । कारण स्पष्ट थियो, ती दुबै पार्टी नीजि क्षेत्र मैत्री थिएनन्, उनीहरु कागजमा समानता र समुन्नतिको कुरा गर्थे, श्रमिकको राज्यको सपना देखाउँथे र उनीहरुलाई भजाँएर सत्ता चलाउँथे । उदार अर्थतन्त्र र व्यवहारिक समाजवाद भनेको अग्लो रुखलाई मठार्ने वा मल–पानी रोक्ने हैन कि होचो भएकाहरुको समस्या पहिचान गर्दै उनीहरुलाई माथि लैजाने थियो । तर, सर्वहारा वर्गको दुहाई दिनेले धनीजति सबै दुष्मन हुन् भन्ने विषालु धारणा मात्रै फैलाइरहे । पूँजीवादको विरोध गर्दै आफू वास्तविक पूँजीवादी बन्ने प्रपञ्च रचिरहे । सत्ता उनीरुको साध्य थियो । त्यो प्राप्त भयो । देखाएका सपना पूरा गर्न असमर्थ उनीहरु अहिले पनि त्यही झुटको खेती गरिरहेका छन्, जो किमार्थ सम्भव र सत्य हैन । कांग्रेसले यतिबेला  विषालु सर्पको फणाबाट फालिएको विषले लठ्याएका जनतालाई ब्यूँझाउनु छ । कम्युनिष्ट अरु धनी भएको देख्न चाँदैनन् भन्ने सन्देश दिनुपर्ने भएको छ । दुई तिहाईको असफलता र भ्रष्टाचार प्रकरणहरु, अकर्मन्यता, भागबण्डा र राज्यस्रोतको दोहनबारे कुरा गर्नुछ । ५ वर्षलाई सत्ताको चाबी जनताले नेकपालाई नै बुझाएको सन्दर्भमा आउँदो चुनावको तयारी गर्नुछ । जनताका दैनन्दिन समस्याबारे आवाज उठाउँदै राष्ट्रिय  मुद्दाहरुलाई सशक्त रुपले स्थापित गर्नुपर्ने भएको छ । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला सरकारले ल्याएको नीति तथा कार्यक्रम (भलै, त्यसबेलाका कतिपय कार्यक्रम रोकिए र कतिपयलाई राजा महेन्द्रले कुटिलतापूर्वक पञ्चायतका कार्यक्रमको रुपमा अपनत्व लिए) देखि २०४८ सालमा ल्याइएको उदार अर्थतन्त्रको नीतिसम्मले देशलाई दिएको योगदानबारे कांग्रेसले यथोचित प्रचार गर्न सकेन । राज्य संचालनको क्रममा भएका कमजोरीलाई आत्मसात गर्ने मामिलामा पनि कांग्रेस असफल रह्यो । कांग्रेसको यही कमजोरीको फाइदा कम्युनिष्ट र अन्य पार्टीले उठाए । पटक–पटक सत्तामा गएर हालिमुहाली गर्दा पनि दोष कांग्रेसलाई लगाएर कम्युनिष्टहरु पानीमाथिको ओभानो बने । इतिहास पुरानो हैन, कांग्रेसले हिजोको त्यही कमजोरीबाट सिक्नु छ । आफूले गरेका राम्रा कामबारे प्रचार गर्नुपरेको छ । गलत भएको ठाउँमा कान समाएर मम भन्नुपर्ने पनि देखिएको छ । आउँदो महाधिवेशनमा यो विषयमा घनिभूत छलफल हुनु जरुरी छ । तर, अहिले पार्टीभित्र देखिएको शक्ति संघर्षले यी विषय ओझेल पर्ने हुन कि भन्ने देखिएको छ । कतै महाधिवेशन नेतृत्व छान्ने एउटा रंगमञ्च मात्रै बन्ने त हैन भन्ने आशंका बढेको छ । यो आशंकासँगै पार्टी नेता धेरै भएको तर कार्यकर्ता नै नभएको साँच्चिकै बूढो पीपल बन्ने त हैन भन्ने चिन्ता थपिएको छ । पीपल यो अर्थमा कि, पीपलको रुखमा फलेको फलमा भएको बीउले मात्रै पीपलको विरुवा उम्रँदैन । उम्रने भए, वरपर नर्सरी नै हुनुपर्ने । पीपल उम्रन त त्यसलाई चराले खानुपर्छ । चराको पेटमा हुने पाचन प्रक्रियापछि बिष्ट्याइएको पीपलको बीउ मात्रै उम्रन लायक हुन्छ । गलत चिन्तन र विचारले कार्यकर्ता जन्मदैनन् । अहिले कांग्रेसले युवा पुस्तालाई विचार खुवाउनै सकेको छैन ।  कांग्रेसमा युवा पुस्ताको आकर्षण हेर्दै थाहा हुन्छ । छोरा पुस्ताले छाडेको कांग्रेसका नेताको काम घाटमा पुगेर झण्डा ओडाउने मात्रै बन्ने कि, हराभरा पीपल उमार्ने ? महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका शीर्ष नेताहरुले सोच्नुपर्छ । 

नेपाली कांग्रेसका दूरदर्शी अग्रजहरूले सात दशक अघिदेखि कोरेको मार्गचित्रमा राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा त्यही अवधिमा थुप्रै स–साना राजनीतिक–सामाजिक–आर्थिक लडाईं भने हार्दै आयौं । फलस्वरुप एकातिर नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा झन्डै सर्वमान्य भएर स्थापित हुँदै गर्दा पार्टी स्वयंले भने यसअघिका स्थानिय, प्रदेश र संघका चुनाव भने जित्न सकेनौं । वैचारिक बहस र स्तरमा नेपाली कांग्रेसले प्राप्त गरेको विजयलाई चुनावी प्रक्रियामा रुपान्तरण नहुनुले एउटा गम्भीर प्रश्न तेर्स्याएको त छँदैछ, यससँगै चुनावी परिणामले आम लोकतन्त्रप्रेमी कांग्रेस, कांग्रेसी र शुभचिन्तकहरुमा पारेको प्रभावले पार्टीको दैनिकी नै नराम्रोसंग प्रभावित भएको छ । यसरी विचारको जीत हुँदाहुँदै चुनाव हार्नु आफैंमा गम्भीर र विरोधाभाषपूर्ण समस्या हो । यस्तो किन भयो त ? आजको यक्ष प्रश्न यहि नै हो र यसको उत्तर आगामी महाधिवेशनमा खोजिनु पर्दछ ।

अंकगणितीय रुपमा पार्टीको नेतृत्वमा पुग्नु मात्रै सफलता हैन सशक्त पार्टी बनाउनु दायित्व पनि अग्रज पुस्ताकै हो । उमेरका कारण पनि अब नेतृत्वको आंकाक्षी अघिल्लो पुस्ताले पार्टीलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ । फेरि, मेरो या तेरो पक्ष भन्न थालियो भने त्यसले न पार्टी न अहिलेसम्मको प्रतिष्ठा नै बाँकी रहन्छ । घर पोलेर खरानीको होली खेल्दा एकछिन मञ्जा आउने हो । त्यो दीर्घकालीन हुँदैन । पार्टी महाधिवेशन नजिकिँदै गर्दा केही अवाञ्छित गतिविधि र प्रवृत्तिहरु सल्बलाएका छन् । हामी तल्लो तहका कार्यकर्तासँग भएकाहरुले पार्टीभित्रको यो अवाञ्छित क्रियाकलाप के को लागि ? भन्ने प्रश्नको उत्तर दिनुपरेको छ । कम्तिमा नेतृत्वको लागि योग्य भएकाहरुको आकांक्षालाई सम्मान गरौं, सकेसम्म मिलौं हैन भने निष्पक्ष प्रतिष्पर्धा गरौं तर हिलो छ्याप्ने, निषेध गर्ने अनि उठ्नै नदिने कार्य कहिंकतैबाट नगरौं । यसोगर्दा अमुक नेताले पार्टीको आसन त पाउनुहोला तर जनताको मन जित्न सक्नुहुने छैन । त्यो बेला तल्लो तहका कार्यकर्ताले उठाउने माथि उल्लेखित प्रश्नको उत्तर दिन हामी समर्थ हुने छैनौं । जनमत नै नरहेपछिको अवस्थामा भाँडिएको पार्टीले सत्ताधारीसँग कसरी प्रतिष्पर्धा गर्ला ?त्यसैले आउँदो महाधिवेशन जुँगाको लडाइँ हैन कि कांग्रेसको अस्तित्वको लडाइँको लागि होस् । पार्टीको लागि दिएको योगदान एकातिर छ, पार्टीले यहाँहरुलाई दिएको पनि धेरै नै छ । मैले पार्टीबाट कति पाएँ भन्ने हिसाबकिताबतिर ध्यान दिनुहोस्, महाधिवेशनमा आफूले पाउने मतको अंकगणित छाड्नुहोस् । कांग्रेसको हित यसैमा छ ।

( थापा नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका सभासद हुन् )



नयाँ