गोविन्द केसीविरुद्ध गरिएको अमानवीय हस्तक्षेपको चिकित्सक संघले गर्यो भत्सर्ना
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
737
Shares
काठमाडौं। नेपाल चिकित्सक संघले डा गोविन्द केसीलाई गरिएको अमानविय व्यवहारको भत्सर्ना गरेको छ। संघले विज्ञप्ति जारी गर्दै सत्याग्रहमा बसेका डा केसीलाई गैरमानवीय व्यवहार गरिएको भन्दै उक्त घटनाको निन्दा एवं भत्सर्ना गरेको हो।
'त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुरक्षाकर्मीहरुले डा.केसीलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरित कानूनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा बिपरित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघ गम्भिर दुःख व्यक्त गर्दछ,' संघका महासचिव डा बद्री रिजालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
६० बर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नुपरेको संघले स्मरण गराएको छ ।
नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको अवस्थामा अस्वाभाविक, गैरमानवीय र जबरजस्ती शैलीमा प्रतिष्ठित चिकित्सकलाई गरिएको व्यवहार अत्यन्तै निन्दनीय र भत्सर्ना योग्य भएको संघले जनाएको छ ।
एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनौट गर्न पाउने अधिकारको बञ्चित गर्दै सुरक्षाकर्मीहरुबाट नै गरिएको यस्तो ज्याजतीपूर्ण व्यवहारप्रति गम्भिर आपत्ति प्रकट गर्दै संघले डा केसीको मागलाई तत्कालै सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।