arrow

जिम्बावेका राष्ट्रिय निकुञ्ज तहसनहस गर्दै चीन, कारण डेब्ट ट्र्याप

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १२ सोमबार
mine-cole.jpg

काठमाडौं। जिम्बावेको राष्ट्रिय निकुञ्जलाई कब्जामा ल्याएर चीनले त्यहाँ उत्खनन् गर्न थालेको छ। हालै मात्र सार्वजनिक भएको जिम्बावेमाथि चिनियाँ पञ्जाका समाचारहरु अहिले अन्तराष्ट्रिय सञ्चारमाध्यममा छाएका छन्। अफ्रिकाको बहुमुल्य राष्ट्रिय निकुञ्जमध्येको एक मानिने जिम्बावेको ह्यान्जे राष्ट्रिय निकुञ्ज चिनियाँ कम्पनीहरुले कोइला उत्खननका लागि भन्दै तहसनहस पार्न लागेका हुन्।

करिब एक सय स्तनधारी र ४ सय चरा प्रजाति एवं विश्वकै दुर्लभ जिवजन्तुहरु रहेको यो राष्ट्रिय निकुञ्जलाई चीनले अब, कोइला निकासीका लागि उत्खनन् गर्ने भएको हो। सुरुमा चिनियाँ टोलीलाई राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैंडा अनुगमन गर्न गएको भेजाने ट्रस्टका टोलीले देखेको थियो। ती मानिसहरु जंगलमा हराएका हुन सक्छन् भन्ने ट्रस्टको समुहले आशंका गरेको थियो। तर, पछि ती मान्छे चीनको झोंगछिन कोइला उत्खनन् समुह र अर्काे चिनियाँ कम्पनी अफ्रोचिन स्मेल्टिंगका कर्मचारीहरु रहेको थाहा भएको थियो।

उनीहरुसँग जिम्बावेका राष्ट्रपति इमर्सन माङ्गावाबाट कोइला उत्खनन्का लागि अनुमति मिलेको कागजातहरु समेत थिए। भेजाने ट्रस्टका ट्रेभोर लानेले राष्ट्रिय निकुञ्जको बीचमा कोइला उत्खनन् गर्न नहुने बताएका छन्। सयौं प्रजातिका पशुपंक्षी एवं जीवजन्तुका लागि निकै महत्वपूर्ण स्थानका रुपमा रहेको निकै ठूलो र महत्वपूर्ण राष्ट्रिय निकुञ्जलाई कोइला उत्खनन्का लागि भनेर सखाप पार्नु अुनचित देखिन्छ । यस्तो कार्य वातावरणविरोधी भएको ट्रस्ट समुहका अधिकारीहरु बताउँछन्।

यसबाहेक चिनियाँ यो कदम अन्तराष्ट्रिय कानुन विपरीत भएको भन्दै विश्वभर आलोचना भएको छ। अहिले जिम्बावेले उत्खनन कार्यमा रोक लगाउने निर्णय गरेको छ। यद्यपी यो निर्णय कार्यान्वयन भने भएको छैन्। सामान्य रुपमै पनि, जिम्बावे सरकारले यसरी कुनै प्रतिप्रश्नबीना नै चीनलाई बहुमुल्य प्राकृतिक सम्पदा मास्न दिनु र चीनले पनि कुनै लाजबीना यस्तो गतिविधि अघि बढाउनुमा विश्व समुदायले नै घृणा व्यक्त गरेको छ।

यसको एउटै कारण चीनको डेब्ट ट्र्याप डिप्लोमेसी हो। चिनियाँ ऋणको चंगुलमा फसेको जिम्बावेलाई ब्याजसमेत चुकाउन मुस्किल परिरहेको छ। यो अवस्थामा चीनले जिम्बाबेको राष्ट्रिय निकुञ्जमा कब्जा गरेको हो।

र, यो सबै हुनुको जिम्मा रोबर्ट मुगावेको युगलाई जान्छ। अल्पसंख्यक गोरावर्गमाथिको उत्पिडन गर्न लागेको मुगावे सरकार अमेरिका र पश्चिमी प्रजातन्त्रबाट किनारामा पारिएका थिए। यो अवस्थामा उनले चीनलाई आफ्नो साथी पाएका थिए। त्यसयता चीनले अफ्रिकाका अन्य मुलुकझैं जिम्बावेमाथि पनि कृषि, उत्खनन्, वन एवं अन्य व्यापारिक क्षेत्रमा लगानी गरेको थियो । सन् २००० मा पश्चिमी प्रजातन्त्रले जिम्बावेमाथि प्रतिबन्ध लगाउँदा चीनले भने अर्बाैको लगानी गरेको थियो।

चीनले सैन्य, एकेडेमी, सांसद भवन्, रेलवे एवं अन्य पूर्वाधारका क्षेत्रमा लगानी गरेको थियो । यसलाई ब्रिटिस कम्पनीले भारतमा कच्चापदार्थ बन्दरगाह नजिक पुर्याउन रेल सञ्जालको निर्माण गरेकै रुपमा हेरिएको छ।

जिम्बावेलाई उर्जाका क्षेत्रमा आत्मनिर्भर बन्ने र अत्यधिक रोजगार खुला गर्ने किसिमले अघि सारिएको २ हजार ८ सय मेघावाट विद्युत उत्पादन थर्मल पावर प्लान्ट परियोजना निकै महँगो साबित भएको छ। यसबीच चीनले जिम्बावे लगायतका अफ्रिकी मुलुकहरुमाथि आफ्नो कब्जालाई निरन्तर बढाएको छ।

चीनले अफ्रिकाका प्राकृतिक स्रोत साधनहरुलाई उपाभोग गर्नका लागि त्यहाँको गरिब र भ्रष्ट सरकारको फाइदा उठाएको छ। चीनसँगको सम्बन्धले जिम्बावेलाई निकै संकटको खाडलमा खसाल्न सक्ने संकेत देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ